|

डडेल्धुरा : नेपाली कांग्रेस पार्टी डडेल्धुराभित्र आन्तरिक विवाद चुलिएको छ। गत असार महिनाको तेस्रो साता नेपाल महिला संघको केन्द्रीय समितिबाट एकाएक संघको जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एकपक्षीय रुपमा पत्राचार गरिएपछि पार्टीमा आन्तरिक विवाद चुलिएको हो।

नेपाल महिला संघ डडेल्धुरामा उत्पन्न विवाद कुटाकुटसम्म पुगेको छ। मंगलबार तत्कालीन उपाध्यक्ष बोहराको संयोजकत्व पार्टी कार्यालय डडेल्धुरामा मासिक बैठक बस्न महिला संघका महिला पार्टी कार्यालय पुगेका बेला कार्यालय सचिवले कार्यालयको चावी नदिएपछि ताला तोडेर बैठक सुरु भएपछि एक्कासी कार्यालय सचिव रामबहादुर बिष्टले आफूमाथि आक्रमण गरेको आरोप महिला नेतृहरूको छ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सांसद कर्णबहादुर मल्लका स्वकीय सचिव समेत रहेका बिष्टको कुटपिटबाट महिला संघ डडेल्धुराकी नेतृ बसन्ती भण्डारी घाइते भएको महिला नेतृ सरस्वती खड्काले जानकारी दिइन्। महिला संघ डडेल्धुराको संयोजक अहिले कमला विष्ट नै रहेको सभापति मल्ल पक्षको दाबी छ। 

आफूहरुलाई अरु व्यक्ति महिला संघ डडेल्धुराको संयोजक तोकेको अधिकारी पत्र नभएको कांग्रेस डडेल्धुराका सभापति मल्लद्वारा हताक्षरित एक प्रेस विज्ञप्तिमा यस अघि नै प्रष्ट उल्लेख गरिएको छ। यसैबीच नेपाली कांग्रेस डडेल्धुराले साउन ७ गते पार्टी कार्यालयमा तोडफोड गरी महत्पूर्ण कामजात समेत नष्ट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस डडेल्धुराका कार्यवाहक पार्टी सभापति करुणाकर भट्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। ‘पार्टी र संगठनको गरिमा घट्ने गरी नेपाल महिला संघ डडेल्धुराका नामले गरीका यस्ता अनुशासनहीन गतिविधिको नेपाली कांग्रेस डडेल्धुरा घोर भत्सर्ना गर्दछ। नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले अनवरत रुपमा विगत पाँच वर्षदेखि काम गर्दै आइरहेको जिल्ला कार्यसमितिलाई जबरजस्त विवादस्पत बनाइ पार्टीसँगको समन्वय र सहकार्य परामर्सलाई समेत लत्याएको छ।’

कार्यवाहक पार्टी सभापति भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको विवादको वास्तविकता नबुझी एकलौटीरुपमा ग्रामिण महिला एकता केन्द्र (रुडुक) गैरसरकारी संस्थासँग आवद्ध केही अराजक महिलाका मात्र कुरा सुनेर विज्ञप्ति जारी हुनु दुःखद विषय हो।’ 

पार्टी सभापति बाहिर भएको बेला कार्यालयमा भएको विवाद मिलाउन घटना घटेर प्रहरी प्रशासनको समेत उपस्थिति भइसकेपछि मात्र कार्यालय पुगेका पार्टीका नेताहरुको समेत नाम छोडेर जुन एक पक्षीय दोषारोपण हुने गरी विज्ञाप्ति जारी भएको कांग्रेस डडेल्धुराको भनाइ छ। 

पार्टीभित्रको आपसी एकता मजबुद बनाएर पार्टीको आन्तरिक लोकतन्त्र र देशको लोकतान्त्रिक प्रणाली नै सफल पार्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएका बेला पार्टीको भातृ संगठन नेपाल महिला संघ डडेल्धुराका केही महिलाले अराजक गतिविधि र संगठनमा अनुशासनहीन गर्नुका साथै पार्टी पद्धति विधि प्रक्रियामाथि धावा बोलेर समग्र संगठन नै कमजोर बनाइरहेको कांग्रेसको ठम्याइ छ।  

पार्टीभित्र चरम गुटबन्दी गर्ने भातृ संगठनको नाममा आफ्नो मातृपार्टीको गरिमा ओज गिराउने किसिमका अनुशासनहीन काम नगर्न÷नगराउन यस्ता क्रियाकपालमा संलग्न महिला दिदीबहिनीलाई सचेत गराउँदै पार्टीको अनुशासन र मर्यादाभित्र नबस्ने जोसुकैलाई पनि अनुशासनको कारबाही अगाडि बढाउने विज्ञाप्तिमार्फत चेतावनी  दिइएको छ। 

कांग्रेस कार्यालयमा भएको भौतिक संरचना तोडफोडप्रति तरुण दलले घोर आपत्ति जनाएको छ। बिहीबार नै नेपाल तरुण दल डडेल्धुराका अध्यक्ष शेरबहादुर साउँदले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडको घटनाप्रति आपत्ति जनाएका हुन्।

‘नेपाल महिला संघ डडेल्धुराको नाम विभिन्न किसिमका पार्टी अराजग गतिविधि हुँदैछन्। जसले गर्दा नेपाली कांग्रेस डडेल्धुराको संगठन अत्यन्त दयनीय हुन पुगेको छ। पार्टी कार्यालयमा भएको भौतिक संरचना तोडफोडप्रति नेपाल तरुण दल घोर आपत्ति जनाउँछ। साथै यस्तो अराजक गतिविधि रोकी संगठन निर्माणमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई नेपाल तरुण दल डडेल्धुरा ध्यानाकर्षण गराउँदछ’ अध्यक्ष साउँदद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

ताला तोडी कार्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात समेत नष्ट गरेको घटनाप्रति नेपाल किसान संघ डडेल्धुराले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार नेपाल किसान संघका अध्यक्ष धनबहादुर साउँदले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका हुन्।

‘पार्टीको अनुशासन र गरिमा घटाउने गरी संगठनलाई कमजोर पार्ने मनसायबाट गरिएका यस्ता क्रियाकलाप आफैंमा निन्दनीय छन् भन्ने हाम्रो ठहर छ। पार्टीले दिएको जिम्मेवारी पूरा नगर्ने पार्टीभित्रको पद्धतिलाई अपहराण गर्ने र सबैको साझा संस्था नेपाली कांग्रेस डडेल्धुराभित्र ताला तोडेर तोडफोड गर्ने अराजक समूहमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनी कांग्रेस डडेल्धुरालाई अनुरोध गर्दछौँ’ अध्यक्ष साउँदद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

कार्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात समेत नष्ट गरेको घटनाप्रति नेपाल महिला संघ डडेल्धुराले पनि ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार नै नेपाल महिला संघ डडेल्धुराका अध्यक्ष कमला विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडको घटनाप्रति आपत्ति जनाएकी हुन्।

यता दलित संघ डडेल्धुराले भने कार्यालय सचिव विष्टले महिला नेतृहरुमाथि कुटपिट गरेको भन्दै आपत्ती जनाएको छ । संघका अध्यक्ष सन्तोष जैरीले विज्ञप्ति जारी गर्दै घटनामा संग्लनलाई कारवाहीको माग गरिएको छ। नेपाली कांग्रेस अमरगढी नगर कार्यसमितिले पनि विज्ञप्ति जारी गर्दै महिला नेतृमाथि भएको आक्रमणको निन्दा गरेको छ । नगर सभापति दानबहादुर पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महिलाहरुमाथि भएको हातपातप्रति ध्यानाकर्षण गर्दै दोषीमाथि कारवाहीको माग गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.