|

पोखरा : उत्तरी गोरखा सडक सञ्जालले जोडिएको छैन। खाद्यन्‍न ढुवानीको एक मात्रै माध्यम हो खच्चड। स्थानीय ब्यापारीसमेत रहेका धार्चे गाउँपालिका केरौँजाका धनकमल उत्तरी क्षेत्रका खच्चड ब्यवसायी हुन्। उत्तरी क्षेत्रका ब्यापारीसँग सम्पर्क गर्ने खच्चडमार्फत् आरुघाट लगायतको क्षेत्रबाट खाद्यान्‍न ढुवानी गर्थे।  

सधैँजसो तिब्बतका सिमानामा रहेका गाउँमा सामान पुर्‍याएर फर्केर बेपत्ता भएको बिहीबार २७ दिन पुग्यो। गत असार ११ गते माथिबाट धार्चेकै माछाखोला बजार झर्दै गरेका उनीमाथि एउटा समूहले आक्रमण गरेको खबर एकाएक बाहिर आयो। 

स्थानीयमार्फत् नौजना युवाले धनकमललाई आक्रमण गरी अपहरण गरेको खबर पनि बाहिरियो। त्यही बेला धनकमलले नै गाउँमा फोन गरेर आफूसँग भएको पैसा लुटिएको नाटक गर्दै फोन काटेका थिए। धनकमल हराएपछि उनका परिवारले माछाखोला प्रहरी चौकीमा उनलाई खोजी दिन भन्दै निवेदन दर्ता गर्‍याे।  त्यही बेलादेखि गोरखा प्रहरी उनीसहितको टोलीलाई खोजी तीब्र पारियो।

धनकमलको काण्डको खोजी गर्ने बेलामा गोरखाका तत्कालीन एसपी भोला रावलले घटनाको बेवास्ता गर्दै उल्टै कार्यालयमै रक्सी खाएर डिआइजीलाई गाली गरी गीतसमेत सुनाएका थिए। पछि गोरखामा नयाँ एसपी ओम अधिकारी आएपछि घटनाको अनुसन्धान थप अघि बढेको थियो। गाउँलेले धनकमललाई हत्या गरेर बूढीगण्डकीमा फालिदिएको आशंका पनि गरेका थिए।

‘उसलाई त त्यही अपहरण गर्नेहरुले मारेर बूढी गण्डकीमा फाल्दियो होला भनेर गाउँले, परिवार चिन्तित थिए,’ धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने। गुरुङका अनुसार बूढी गण्डकीमा फालेको छ की भन्दै गाउँले गण्डकीको किनारमा खोजेका पनि थिए। यता परिवारको दबाबमा रहेको प्रहरीले धनकमल र उनलाई आक्रमण गरेको भनिएको टोली कोही पत्ता नलागेपछि घटना रहस्यमय बनेको थियो।

एसपी अधिकारीले प्रहरी निरीक्षकको कमाण्डमा उत्तरी गोरखामा सर्चका लागि टोली खटाएका थिए। त्यही टोलीले अपहरणमा परेका भनिएका धनकमललाई बुधबार पक्राउ गरेको थियो। उनलाई कहाँबाट कसरी पक्राउ गरिएको थियो खुलाइएको छैन। स्रोतका अनुसार उनलाई प्रहरीले बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो। उनै धनकमलले नै ओडारमा सुन राखेको ठाउँमा प्रहरीलाई पुर्‍याएका थिए।

प्रहरी स्रोतले भन्यो,‘जाँदा खच्चडमा खाद्यान्न लगेर गएको र फर्किँदा तिब्बतीले दिएको सुन लिएर त्यही खच्चडमा लिएर माछाखोला फर्कँदै थिए।’  प्रहरी स्रोतका अनुसार उनले त्यो सुन भारतीय ब्यापारीको हातमा पुर्‍याउने जिम्मा लिएका थिए। प्रारम्भिक अनुसन्धानले धनकमलले यस भन्दा पहिले पनि सुन ओसार-पसार गर्ने गरेको खुलेको छ। खच्चड छोडेर रुमालमा सुन बेरेर जंगल छिरेका धनकमलले नै ओढारमा सुन लुकाएका थिए।

उत्तरी गोरखालाई सुन तस्करले पछिल्लो रुट बनाएका छन्। गत वर्षको भदौमा पनि सिर्दीबासमा १० किलो सुन प्रहरीले बरामद गरेको थियो। उत्तरी गोरखामा तिब्बतसँग जोडिएका दुईवटा नाका छन्। एउटा रुइला र अर्को ङुइला नाका। रुइला सामागाउँमा पर्छ भने ङुइला छेकम्पारमा। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.