|

गुल्मी : गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

मंगलबार राति परेको अबिरल बर्षाका कारण पहिरोमा परेर सत्यवति गाउँपालिका ४ को लिम्घामा बेपत्ता भएका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीय तारा बिक वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया बिक र बवि विकको शव फेला परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। योसँगै २ स्थानमा ३ वटा घरमा पहिरोले क्षति पुर्‍याएर १३ जनाको मृत्यु भएको हो।

बेपत्ता मध्ये ३ जनाको बुधवार साँझ र १ जनाको बिहीबार बिहान सव फेला परेको प्रहरीले जनाएको छ। लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक,अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिंजालीको शव फेला परेको थियो। उनीहरूको शवलाई जिल्लाबाट डाक्टरको टोली पठाई पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्रबहादुर खडकाले जानकारी दिए।

पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्ररामुलाई दुई दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको छ। उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकोप्टरमार्फत केही राहत पहिरो प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

हेलिकोप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताए। बिपद व्यवस्थापन महाशाखामार्फत हेलिकोप्टरले पोखराबाट राहत लिएर आएको हो। पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि दुई स्थानका करिव ६०० घरपरिवार सुरक्षित स्थानमा सारिएको छ।सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ।

लुम्पेककै अन्य वस्ती पनि पहिरोको खतरामा रहेकाले करिव ४०० जनालाई घरडाँडा,अस्लेवा रामबारी, धर्मपुर मावि, ढुंगा चाल्ने, भानु प्रावि र धर्मपुर प्राविमा व्यवस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझीले बताए। त्यस्तै वडा ४ लिम्घामा पनि २०० घर परिवारलाई सरस्वती माविमा व्यवस्थापन गरिएको छ।

प्रभावित क्षेत्रमा जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पाल्पाबाट थप नेपाली सेनाका सुरक्षा निकाय खटाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.