मौसम खराबीले लिम्चुङबुङमा लान समस्या

|

अर्जुन आचार्य/विदुर कटुवाल

उदयपुरः उदयपुरको खाद्यान्‍न संकटग्रस्त क्षेत्र ताप्लीमा हेलिकोप्टरमार्फत खाद्यान्‍न पुर्‍याइएको छ। विराटनगर एयरपोर्टबाट खाद्यन्न लिएर उडेको हेलिकोप्टर खराब मौसमका कारण उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा खराब मौसमका बस्न नसकेपछि ताप्ली गाँउपालिकाको रुपाटार अवतरण गरेको हो।

लिम्चुङबुङका लागि बोकेको खाद्यन्न रुपाटारमा पुर्‍याइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। ताप्लीमा पहिलोपटक २ हजार १० केजी चामल, १ सय ८० केजी रहरको दाल, १ सय २० लिटर तेल र १ सय ५० केजी चामल लगिएको छ। 

दोस्रो पटक एक हजार ८ सय ९० केजी चामल, ३ सय ९० केजी दाल, सय केजी नुन र एकसय ३० लिटर तेल पुर्‍याइएको हो। दुई पटक ताप्लीमा खद्यन्न पुर्‍याइएको हो। 

दुईसाता अघि बाढीपहिरोकाकारण क्षतिग्रस्त बनेको उदयपुरको विकट क्षेत्र लिम्चुङबुङ र ताप्लीमा खाद्यन्न संकट उत्पन्न भएको थियो। प्रदेश नम्बर १ सरकारले बिराटनगरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्‍न ढुवानी गरेको हो।

प्रदेश विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार दुवै गाउँपालिकामा खाद्यान्‍न ढुवानी भएको थियो। दुवै गापामा ७ सय क्विन्टल चामल, ७० क्विन्टल दाल, ७० क्विन्टल नुन, ७ हजार लिटर खाने तेल लान संघीय सरकरले हेलिकोप्टर उपलब्ध गराएको हो। 

एक वर्ष अघिको चरम खडेरीका कारण खाद्यान्‍न अभाव भइरहेका बेला बाढीले सदरमुकाम गाइघाट जोड्ने तीन सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा भोकमरी सिर्जना भएको थियो। विराटनगरस्थित खाद्य गोदामा रहेको चामलसहित चामल ८ हजार १० केजी, नुन ५ सय केजी, रहरको दाल १ हजार ९ सय ९५ केजी र खाने तेल ५ सय लिटर उपलब्ध गराइने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए। 

गाउँपालिकाका झण्डै ६ हजार घरधुरीका  १४ हजार बढी मानिस चरम खाद्यान्‍न अभावमा छन्। लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पैसा हुनेहरुले किनेर खान सक्ने अवस्था पनि नरहेको बताए । 

गत असार २६ गतेको बाढीले ताप्ली र लिम्चुङबुङ जोड्ने गाइघाट–मुर्कुची लिम्चुङबुङ हलेसी सडक, कटारी बेतेनी लिम्चुङबुङ सडक र गाइघाट फोक्सिनटार–बलम्ता लिम्चुङबुङ सडक अवरुद्ध भयो। खाद्यान्‍न संकटसँगै स्वास्थ्योपचरमा पनि समस्या छ। आकस्मिक उपचार गर्नुपरे सर्वसाधरणले हेलिकोप्टर या डोलीमा बोकेर लैजानु पर्ने अवस्था छ ।

डोलीमा बोकेर सदरमुकाम लैजान झण्डै २ दिनसम्म लाग्ने उदयपुरका प्रदेशसभा सांसद नारायणबहादुर मगरले बताए। सदरमुकामबाट ताप्ली र लिम्चुङबुङ ५० किलोमिटर भन्दा टाढा रहेको मगरले बताए। 

सामान कतैबाट ल्याउन नसकेको स्थानीयले बताए। ढाकरमा बोकेर खाद्यान्‍न ल्याउने गरेको रुपाटारका स्थानीय पृथ्वीबहादुर भुजेलले बताए।  प्रदेश सरकारले भत्किएका सडक तत्काल मर्मतका लागि पहल गरिरहेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरको अनुरोधमा सरकारले खाद्यान्‍न र संघीय सरकारले ढुवानी निशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन्। दुई गाँउपालिका लागि १५ हजार ६२ किलो ग्राम चालम, १ हजार ५ सय ५ किलो ग्राम दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत व्यावस्थापन समितिले सिफारिस गरेको थियो।

खाद्यान्‍न लिनको भिड 

दुई सातादेखि खाद्यान्‍न अभाव झेल्दै आएका  ताप्लीप्का सर्वसाधरण पहिलो पटक खाद्यान्‍न लिन जम्मा भएका थिए। रुपाटारमा झण्डै १ हजारको संख्यामा लिन आउनेको भिड लागेको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.