|

तनहुँ : बाढी–पहिरोबाट मुलुकभर धेरै जनधनको क्षति भए पनि तनहुँमा अहिलेसम्म ठूलो क्षति भएको छैन। यद्यपि, यहाँका ८५ वटा मध्ये ३६ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको विपद् प्रतिकार्य योजना अनुसार जिल्लाका दश स्थानीय तहका ३६ वटा वडा पहिरोको जोखिममा रहेका छन्। पहाडी तथा भिरालो भू–बनोट भएकाले अधिकांश क्षेत्रमा पहिरोको जोखिम रहेको छ। बाढी र पहिरो मात्रै होइन जिल्लामा आगलागी, खडेरी, सडक दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको समितिको तथ्याङ्कमा उल्लेख छ।

पहिरोको उच्च जोखिममा शुक्लागण्डकी नगरपालिका–१, १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२ र आँबुखैरेनी गाउँपालिका–४ र ६ रहेको जनाइएको छ। त्यसैगरी ऋसिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५  पहिरोको जोखिमा रहेका छन्।

बाढीको जोखिममा २९ वडा

बाढीबाट जिल्लाका २९ वटा वडा जोखिममा छन्। व्यास नगरपालिका–१, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४ र बाढीको जोखिममा रहेका वडा हुन्। 

यसका साथै रिस्ती, साँगे खोलासँग जोडिएका नगरपालिका र गाउँपालिकाहरु, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका पनि बाढीको जोखिममा रहेको जनाइएको छ।

विगतका घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरीलगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। पण्डितका अनुसार पहिरो, बाढी, आगलागी, चट्याङ जिल्लाको प्रमुख प्रकोपहरु रहेकाले विपद्को अवस्थामा तयार रहने स्थितिको सिर्जना गर्न आवश्यक छ। त्यसैको तयारी स्वरुप विपद् प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढेको उनले बताए।

‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्न र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन्,’ उनले भने, ‘यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाहरुको भूमिका तथा जिम्मेवारीहरु स्पष्ट रुपमा पहिचान गरेको छ।’

हरेक विषयगत क्षेत्रलाई एक निश्चित संस्थाले नेतृत्व गरेको गर्ने प्रजिअ पण्डितको भनाइ छ। जिल्लाभित्र विपद् सम्बन्धी कुनै घटना घटेको जानकारी पाउननासाथ कार्ययोजनामा उल्लिखित क्षेत्रगत अगुवा निकायहरु एवं सहयोगी संस्थाहरु सक्रिय भएर उद्धार गर्ने बताइएको छ।

तयारी अवस्था

समन्वय तथा सूचना व्यवस्थापन, खोजतलास तथा उद्धार, खाद्य व्यवस्थापन, आपतकालीन आवास तथा गैरखाद्य सामग्री, खानेपानी, सरसफाइ र स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य तथा पोषण, आपतकालीन शिक्षा र संरक्षण गरी आठ विषयगत क्षेत्र गठन गरिएको छ।

आपतकालीन अवस्थाका लागि पर्याप्त मात्रामा सामग्रीहरु तयारीका साथ राखिएको प्रजिअ पण्डितले बताए। नेपाली सेनाको कृष्णदल गणले सेनानीको कमाण्डमा एक गुल्म फौज, बञ्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाइफ ज्याकेटलगायतका सामग्री व्यवस्थापन गरेको प्रजिअ पण्डितले जानकारी दिए। 

त्यस्तै, जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि २५ जनाको प्रहरी टोली, ट्युब, नाइलन डोरी, स्टे«ेचर, लाइफ ज्याकेट, कोदालो, गैंची, बञ्चरो, भ¥याङ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गणले प्रहरी निरीक्षकको कमाण्डमा ५५ जनाको टोली तयार गरेका छ।

नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न राहत सामग्री, तालिम प्राप्त जनशक्ति, स्वास्थ्य कार्यालयले उपचार टोली, इमर्जेन्सी वफर स्टक औषधि, स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

त्यस्तै, शिक्षा, विकास तथा समन्वय इकाई, कृषि ज्ञान केन्द्र, सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, गैरसकारी संस्था महासंघ, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लगायतले पनि विपद्का बेला आवश्यक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको बताइएको छ। 

वर्षाको समयमा राजमार्गमा अवरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै शुक्लागण्डकीको दुलेगौंडा र आँबुखैरेनीमा ठूला उपकरणको व्यवस्थापन समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.