|

धनकुटा : दुई दिनदेखि परेको अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध बनेको छ। कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका-६ लावरबोटेमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो।

सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको पहिरोका कारण समस्या भएकाले सडक खुल्न केही समय लाग्ने धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोइरालाले बताए। राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारीसाधन जाममा परेका छन्।

त्यस्तै, लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको छ।

यस्तै साँगुरीगढी गाउँपालिका-६ कै गर्जुवा खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्ड करिब ८ घण्टा अवरुद्ध बनेको थियो। माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि बिहीबार राति १२ बजेदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको थियो।

सडकमाथि थुप्रिएको माटोसहितको लेदो डिभिजन सडक कार्यालयको स्काइभेटरले पन्छाएपछि सो ठाउँमा एक तर्फीरूपमा सडक खुलाइएको सुपरभाइजर अम्विका राईले बताइन्।

विद्युतको निर्माणाधीन हाइटेन्सन लाइन बनाउन खनिएको नयाँ बाटोको माटो भत्किएर गर्जुवा खोलामा झर्दा सोही वाटो बगाएर सडक अवरुद्ध पारेको उनले बताइन्। यसभन्दा पहिल्यै बर्खाको बेला गर्जुवा खोलामा आउने बाढीले राजमार्ग अवरुद्ध हुनुपर्थ्यो।

तर सडक डिभिजन कार्यालयले वर्खा लाग्नुभन्दा अगाडि नै बाढी रोकथामको लागि विभिन्न संरचना निर्माण गरेर सतर्कता अपनाएको थियो। बाढीमा आएको माटो खोलाको भन्दा पनि नयाँ सडक बनाउँदाको माटो भएको कारण राजमार्ग अवरुद्ध भएको उनले दाबी गरिन्।

विद्युत् आपूर्ति पनि टुट्यो

पहिरोले विद्युत लाइनको पोल लडाएपछि धनकुटासहित कोशी पहाडी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुममा विद्युत आपूर्ति बन्द भएको छ। कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको साँगरीगढी गाउँपालिकाको लावरवोटे नजिकै पहिरो खसेर ३३ केभी लाईन प्रशारणको तीनवटा पोल ढलेपछि शुक्बार बिहानैदेखि विद्युत् आपूर्ति बन्द भएको हो।

पहिरोले पोलसँगै विद्युत् लाइनको तारसमेत चुँडाएको नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख पवनकुमार यादवले बताए। ‘धनकुटाबाट प्राविधिकहरुको टोलीले ढलेका पोल उठाउने काम भइरहेको छ’ उनले भने ‘पहिरो खसेको स्थान भिरालो भएको कारण काम गर्न केही असहज वनेको छ।’ विद्युत आपूर्ति चालु हुन करिब ४ घण्टा समय लाग्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.