|

सुनसरी : बूढी खोलामा आएको बाढीले सुनसरीको दुहबी नगरपालिका-४ स्थित मालहट्टी बस्तीका एक दर्जन बढी घरपरिवार विस्थापित भएका छन्। विस्थापितहरूलाई राति नै उद्धार गरी स्थानीय बिपी आधारभूत प्राथमिक विद्यालय र स्लाहुल मुस्लेमिन मदर्शामा राखिएको छ।

दुई दिनयता परेको अविरल वर्षाका कारण खोलामा आएको बढीले स्थानीय मोहन घिमिरे, अनुरुज चौधरी, नाचुराम चौधरी, हृदयलाल शहनी, रुक्सान खातुन, राजु शहनी, जाहर खातुनको घर पूर्णरूपमा कटान गरेको छ। यस्तै, सुरेन शर्मा, केशीलाल मलाह, इसराइल मिया, बिजय शाह, रेखा बिक र रमेश पाठकको घरसमेत कटान गरेको छ।

बूढी खोलाले धार परिवर्तन गरी १५ मिटर बस्तीतिर हानिएको छ। गएराति १२ बजेदेखि सुरु भएको कटानले थप घरमा क्षति पुर्‍याउँदै लगेको दुहबी ४ का वडा सदस्य इस्लाम मियाले जानकारी दिए। कटान तीव्ररूपमा बढिरहेकाले मालहट्टी बस्तीका ५० घर परिवार पूर्णरूपमा जोखिममा परेका छन्। सो बस्तीदेखि सय मिटर दक्षिणमा टेंग्रा खोलासमेत मिसिने गरेको छ। टेंग्रा खोलामा समेत बाढी आएकाले बस्ती दुबै खोलाको चेपुवामा परेको छ।

सो बस्तीको दक्षिणबाट टेंग्रा खोला तथा पूर्व उत्तरबाट बूढी खोलाले कटान गर्दै लगेकाले थप जोखिम बढेको वडा सदस्य मियाले बताए। मानवीय क्षति हुन नदिन प्रहरीसहित स्थानीय जनप्रतिनिधिहरू गएरातिदेखी नै परिचालन भएकाले थप क्षति हुन नपाएको मियाको भनाइ छ।

कटान भइरहेकाले नदी नियन्त्रणका लागि कुनै पहल गर्न सकिने अवस्था नरहेको मियाले बताए। विस्थापितहरूलाई विभिन्न संघ संस्थाको सहयोगमा शुक्रबारबाट राहत वितरण गरिने उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.