१ सय ३० मेगावाट बिजुली निकालिँदै
१ सय ३० मेगावाट बिजुली निकालिँदै
पर्वत : नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूका कारण चर्चामा रहेको पर्वत जिल्ला विद्युत् उत्पादनका हिसाबले ऊर्जा क्षेत्रमा पनि चर्चामा रहेको जिल्ला हो। जिल्लामा रहेको मोदी खोलामा बनिसकेको र बन्नेवाला जलविद्युत् आयोजनाहरूका कारण मोदी खोलालाई स्थानीयले बिजुलीखोलाको उपनाम पनि दिने गरेका छन्।
नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्र भए पनि देशमा रहेको पानीको सदुपयोग हुन सकिरहेको छैन। तर पर्वतको मोदीखोलामा छोटो दूरीमा धेरै जलविद्युत् आयोजना रहनुले मोदी खोलालाई ‘बिजुली नदी’ को रूपमा चिन्न थालिएको हो।
साबिकको धौलागिरी क्षेत्रमा पहिलो पटक वि.सं. २०४६ सालमा सडक मोटर बाटो आएपछि मोदीखोलामा विद्युत् उत्पादनको सम्भाव्यताबारे अध्ययन गर्दै तत्काल नै काम सुरु भएको थियो। पोखरा बागलुङ सडक खण्ड मोदीखोलाको तीरै तीर बगेको छ।
सडक बनेको सात वर्षमा ०५३ सालदेखि मोदीखोलमा पहिलो पटक जलविद्युत आयोजना निर्माणको काम सुरु भयो। मोदीको पहिलो जलविद्युत आयोजना निर्माणको काम नेपाल विद्युत् प्राधिकरणले सुरु गर्यो र निर्माण प्रारम्भ गरेको ६ वर्षपछि आयोजनाले विद्युत् उत्पादन सुरु गरेको थियो।
त्यसपछि दोस्रोमा निजी क्षेत्रबाट आयोजना निर्माणको काम सुरु भयो। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् २०६९ देखि उत्पादन दिइरहेको छ।
जिल्लाको मोदी गाउँपालिका, कुस्मा र फलेवास नगरपालिकाबाट बगिरहेको मोदीखोलाको १७ किलोमिटरको दूरीमा सातवटा जलविद्युत् आयोजनाहरू निर्माणको क्रममा रहेका छन् भने दुईवटा आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ।
चलिरहेका जलविद्युत आयोजनामा १४ मेगावाट क्षमताको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला जलविद्युत् आयोजना र १० मेगावाटको युनाईटेड मोदी जलविद्युत आयोजना रहेका छन्। यी दुई आयोजनाबाट २४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने अब बन्ने क्रममा रहेका सातवटा आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुनेछ।
१ सय ३० मेगावाट बिजुली
मनाङ ट्रेड लिङकले निर्माण गरिरहेको २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजनाले आउँदो असोज महिनाभित्रमा नै नियमित विद्युत् उत्पादन गर्ने गरी काम अगाडि बढाइरहेको छ।
यस्तै, नेपालको औधोगिक समूह चौधरी ग्रुपले लगानी गरेको १५.१ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत आयोजनाले आउँदो वर्षमा उत्पादन दिने लक्ष्य राखेको छ। अबको केही समयमा नै मोदीखोलामा नेपाल विद्युत् प्राधिकरणले दुई ओटा र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले एउटा जलविद्युत आयोजना थप गर्न लागेका छन्।
नेपाल विद्युत् प्राधिकरणले १८.२ मेगावाट क्षमताको अपर मोदी र ४२ मेगावाट क्षमताको अपर मोदी ‘ए’ आयोजना निर्माण गर्न लागेको छ। यस्तै, निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले १०.५ मेगावाट क्षमताको युनाइटेड मोदी–२ निर्माण गर्न थालेको छ। स्थानीय र अन्य आम नागरिकबाट २२ करोड रुपैयाँको शेयर सङ्कलन गरिसकेको आयोजना निर्माणको लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका अन्य कामहरू भइरहेका छन्।
निर्माण सम्पन्न भएर उत्पादन दिएका, दिन थालेका र अब बन्न लागेका आयोजनामार्फत मोदी खोलाले कुल १ सय ३० मेगावाट विद्युत् उत्पादन गर्दै छ। यी आयोजनाको काम पूरा गर्न उत्तिकै ठूलो लगानी पनि खर्च हुँदै छ।
मध्य मोदी आयोजनाको लागत ३ अर्व पुग्ने अनुमान गरिएको छ भने तल्लो मोदीको साढे ३ अर्व भन्दा बढी हुने छ। निर्माण सम्पन्न भैसकेका र अब निर्माण हुन लागेका कुल ९ ओटै आयोजनाको लगानी जोड्ने हो भने कम्तीमा पनि झन्डै २६ अर्व भन्दा बढीको लगानी मोदी खोलामा हुँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।