प्रहरीको अनुसन्धान अझै

|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको शुक्रबार एक वर्ष पूरा भएको छ। तर यो एक वर्ष हत्यारा पत्ता नलागी बितेको छ। 

सरकारले घटनाका दोषी पत्ता लगाउने नाममा यो बीचमा सातवटा अनुसन्धान टोली गठन गर्‍यो। तर, ती सबै अनुसन्धान टोली हत्यारासम्म पुग्न सकेनन्। 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मानसिक सन्तुलन ठीक नभएका दिलीप सिंह विष्टलाई सार्वजनिक गरेपछि निर्मलाको न्यायका लागि थालिएको आन्दोलनले उग्ररूप लियो। 

आन्दोलनमा प्रहरीको गोली लागेर सनी खुनाले ज्यानै गुमाए। यो घटनामा अन्य ६ जनाभन्दा बढी आन्दोलनकारी घाइते भए। घाइतेहरू अझै उपचारमै छन्। 
आन्दोलन चर्किँदै गएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं कञ्चनपुर पुगेर अनुसन्धानबारे जानकारी लिए।

अनुसन्धानको लापरबाही गर्ने प्रहरीलाई उनले कारबाही गर्ने अश्वासन दिए। काठमाडौं फर्केपछि प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यात नेतृत्वको आन्तरिक छानविनका लागि समिति गठन गरियो। 

समितिको सिफारिसका आधारमा अनुसन्धानमा लापरबाही गरेको आरोपमा प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठजना प्रहरी निलम्बनमा परे। प्रहरी उपरीक्षक विष्टवसहितका प्रहरी गृह मन्त्रालयको आदेशमा बरखास्तसमेत गरिए। निर्मलाकी आमा दुर्गा देवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरमा हालेको मुद्दामा प्रहरी उपरीक्षक बिष्टसहित धरौटी बुझाएर रिहा भएका छन्। 

प्रहरीले अनुसन्धानकै लागि सयौँ व्यक्तिसँग सोधपुछ गरे। ७० जनाको त डिएनए परीक्षण नै गरियो। तर, कसैको पनि रगतको नमुनाले डिएनए परीक्षणमा मेल खाएन। त्यही क्रममा दीलिपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी प्रहरीले डिएनए परीक्षण गरायो। तर उनीहरूको डिएनएसमेत मिलेन। यो घटना सेलाउँदै जाँदा ती सबैजना प्रहरी हिरासतबाट मुक्त भए।  

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्वारनजिकै निर्मलाको न्यायको लागि बुबा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र अधिकारकर्मीहरूले निरन्तर धर्ना दिए पनि अपराधी पत्ता लाग्न सकेन।

धर्ना कार्यक्रममा राजनीतिक दलका नेताहरू र अधिकारर्मीहरूले ऐक्यबद्धता जनाउँदै हत्यारा पत्ता लगाई न्याय दिलाउन पहल गर्ने अश्वासन दिए पनि ती पूरा भएनन्।

हत्यारा पत्ता लगाई न्याय दिनुपर्ने भन्दै निर्मलाका बुवा आमाले प्रधानमन्त्रीदेखि गृहमन्त्री र विपक्षी पार्टीका नेताहरूलाई भेटे पनि अश्वासन बोकेर उनीहरू घर फर्के। तर आजसम्म हत्याराको सुइँको पत्ता लागेन।

गृह मन्त्रालयका सह–सचिव हरिप्रसा मैनालीको संयोजकत्वमा घटनाको छानविनका लागि उच्चस्तरीय समिति गठन गरियो । समितिले छानविन गरेको प्रतिवेदन सरकारलाई बुझाइए पनि हालसम्म कार्यान्वयन गरिएको छैन।

मानव अधिकार आयोगको टोलीलेसमेत चासो राख्दै कञ्चनपुर पुगेर सरोकारवालासँग जानकारी लियो। तर घटनाका दोषीहरु अझै फेला परेनन्। धर्नामा बस्दै गर्दा निर्मलाका बुवा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उपचारका लागि काठमाडौं लैजानुपर्‍यो। 

उपचार गरेर सन्चो भएपछि परिवारको खर्च चलाउन समस्या हुन थालेपछि पन्त परिवारले धर्ना कार्यक्रम छाडे। घटनाको अनुसन्धानका लागि प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी उपरीक्षक सुदिप गिरी लगायतको टोलीले अनुसन्धान गरे पनि दोषी पत्ता लागेन।

हाल प्रहरी उपरीक्षक गणेश चन्दको टोलीले अनुसन्धान गरिरहेको छ। साउन १० गते घरबाट गृहकार्य गर्न साथी रोशनी बमको घर गएपछि हराएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। 

शव फेला परेपछि रोशनी र उनकी दिदी बवितालाई नियन्त्रणमा लिई प्रहरीले लामो सयमसम्म अनुसन्धान गरे पनि कुनै पनि तथ्य फेला पार्न सकेन । बरु गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाका जस्ता घटना हिजो पनि भएका, आज पनि हुने र भोलि पनि भइरहने भन्दै पन्छिने काम गरे। 

निदोर्ष देखिएपछि दुवै रिहा भए। निर्मलाको न्यायका लागि भएका प्रयासले सार्थकता हालसम्म पाउन सकेको छैन। निर्मलाको हत्या भएको एक वर्ष बित्दा हत्यारा पत्ता लाग्न नकेपछि परिवार पीरमा परेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.