बाढीका कारण २ सय ७६ घर परिवार पुनः विस्थापित

|

विराटनगर : बाढीका कारण विस्थापित भएर घरफर्केका पीडितहरू पुनः आएको बाढीका कारण फेरि विस्थापित भएका छन्। विराटनगर महानगरपालिका १२ का ६० घर मुसहर परिवार पुनः विस्थापित भएका हुन्।

शुक्रबार बिहान परेको वर्षाका कारण केसलीया खोलामा पानीको बहाब बढेर बस्तीमा पसेपछि मुसहर बस्तीका मुसहर पुनः विस्थापित बनेका हुन्। यसअघि असार २४ गतेदेखि एक सातासम्म आएको अविरल वर्षाका कारण विराटनगर १२ बखरीस्थित मुसहर बस्तीका १ सय २५ घरपरिवार विस्थापित भएका थिए। त्यसबेला एक सातासम्म उनीहरू नजिकैको बखरी प्राथमिक स्कुलमा बस्न बाध्य भएका थिए।

पानी सुकेर घर फर्किएको केही दिनै शुक्रबार पुनः केसलीया खोलाको पानी बस्तीमा पसेपछि यहाँका ६० घरपरिवार विद्यालयको शरणमा पुगेको स्थानीय जितेन्द्र ऋषिदेवले बताए। ६ दिन विद्यालयमा बस्दा महानगरपालिकाका केहि जनप्रतिनिधिहरु र अन्य विभिन्न संघसंस्था आएर चिउरा, भुजा, चामल, दाल र केही अन्य राहत सामग्री दिए पनि आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको पीडित राजकुमार कामतले बताए।

केसलीयाको बाढी बस्तीमा पस्दा मुसहर बस्तीका ६० घर र वडा नम्बर ६ को ब्रम्हपुरा बस्तीका १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। त्यस्तै, बक्राहा खोलामा आएको बाढीका कारण सुनवर्सी नगरपालिका ५ मा ५५ घर डुबानमा परेको छ।

लोहन्द्रा खोलामा आएको बाढीका कारण कटहरी गाउँपालिका–४ का एक सय ५० घर र जहदा गाउँपालिका ४ का देवानन्द साहको घरसमेत लोहन्द्रा खोलाले बगाएको मोरङ प्रहरीका डिएसपी राजकुमार खिउजुले जानकारी दिए।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.