यो सरकार विघटन भएपछि एमाले अघि सर्छः योगेश भट्टराई

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव घोषणा गर्ने बताएका छन्। मंगलबार रिपोर्टस क्लबले गरेको कार्यक्रममा ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने भएकोले एमालेले नै निर्वाचन गराउने जिकिर गरे।

'चुनाव हामी गराउँछौँ। कसरी भन्ने कुरा अहिले नभनुँ', ओलीले भने।

चुनाव घोषणा गर्ने काम सरकारको हो तर प्रतिपक्षमा रहेको एमालेले चुनाव गर्ने बताउनुको संकेत के हो? के एमाले वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठनको पहलमा लागेको हो?

एमाले सचिव योगेश भट्टराई सरकार गठन वा विघटनामा नलागेको दावी गर्छन्। बरु उनी वर्तमान सरकार आफ्नै कारण विघटन हुँदै गएको तर्क गर्छन्।

वर्तमान सरकार विघटन भएपछि नयाँ सरकार गठनका क्रममा एमाले अगाडि आउने र निर्वाचन घोषणा गर्ने सचिव भट्टराईले बताए।

'वर्तमान सरकार आफ्नै कारण विघटन हुँदैछ। सरकार विघटन पछि नयाँ सरकार बन्‍ने क्रममा नेकपा एमाले अगाडि आउँछ अनि चुनावको घोषणा गर्छ', एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले थाहाखबरसँग भने, 'यो सरकारले चुनाव घोषणा गर्दैन। चुनाव घोषणा नगरेपछि यो सरकारको औचित्य समाप्त हुन्छ।'

सरकार आफ्नै अन्तरविरोधले ढल्ने र नेकपा एमालेले मुलुकलाई सम्हालेर अगाडि बढ्ने भट्टराइले बताए।

वर्तमान सरकार चुनाव गर्ने पक्षमा नरहेको उनको दावी छ। 'यो सरकारले चुनाव गर्दैन भन्ने स्पष्ट छ। चुनाव नभइकन मुलुक अगाडि बढ्दैन, त्यो पनि स्पष्ट छ', भट्टराईले भने, 'चुनावको विकल्छ छैन। यो सरकारले चुनाव नगरेपछि अर्को सरकारले चुनाव गर्छ। त्यो भनेको नेकपा एमालेले चुनाव गर्छ।'

चुनाव घोषणा गर्ने अवसर वर्तमान सरकारलाई रहेको भए पनि ऊ चुनावको पक्षमा नरहेको भट्टराई बताउँछन्। 'सरकार चुनाव गराउने पक्षमा छैन। चुनाव गर्दैन भने यो सरकार त अनिवार्य विघटन हुनैपर्‍यो नि', भट्टराईले भने, 'चुनाव नगरेपछि यसको औचित्य पनि छैन।'

रिपोर्टर्स क्लवको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार 'धेरै उफ्रिदा ४ महिनामात्र उफ्रिने' टिप्पणी गर्दै 'बिगार्ने र उपद्रो मच्चाउने ४ महिनामात्र रहेको' बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.