|
फाइल फोटो

इटहरी : सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रेफ्रीलाई मैदानमै मुक्का हान्ने खेलाडीलाई १ वर्ष प्रतिबन्ध लगाइएको छ। मंगलबार भएको पुरुष भलिबलको सेमिफाइनल खेलमा रेफ्री विनय राईलाई मैदानमै कुटपीट गर्ने पश्चिमाञ्चल विकास क्षेत्रका तीन खेलाडीलाई १ वर्षको प्रतिबन्ध लगाएको नेपाल भलिबल संघले जनाएको छ।

सुनसरीको इटहरी खेलमैदानमा भएको भलिबल खेलको दोश्रो सेमिफाइनलमा आर्मी विरुद्धको पहिलो सेट पश्चिमाञ्चलले जितेको थियो। तर त्यसपछिका तीनवटै सेट लगातार जितेर आर्मी फाइनल प्रवेश गर्‍यो। पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्री राईले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै खेल जारी रहँदैमा रेफ्रीमाथि आक्रोश पोखेका थिए। खेलाडीहरुले रेफ्रीतर्फ ताकेर सट प्रहार पनि गरेका थिए।  

खेल सकिएपछि हात मिलाउने क्रममा पश्चिमाञ्चलका खेलाडीले रेफ्री राईमाथि कुटपीट गरेका थिए। त्यसपछि भलिबल संघका सदस्य र रेफ्री पक्षधरले ती खेलाडीमाथि कुटपीट गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो। खेलमा विवाद उत्पन्न भएपछि इटहरीमा नै बसेको राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, पूर्वाञ्चल भलिबल संघ र रेफ्रीहरुको बैठकले खेलाडीहरु रमेश केसी, लोकेन्द्र भण्डारी र साजन थापालाई एक वर्षको प्रतिबन्ध गर्न राष्ट्रिय खेलकुद परिषद र भलिवल संघको अनुशासन समितिलाई सिफारिस गरेको छ।

'खेलाडीहरुले खेल भावना विपरीत काम गरेकाले उनीहरुलाई प्रतिबन्धको सिफारिस गरेका छौं' सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल ब्यवस्थापन समितिका सदस्य लेखनाथ सापकोटाले भने 'त्यसपछि भोलि हुने खेलमा कुनै अवान्छित गतिविधि नगर्ने भनेर टिमका ब्यवस्थापकहरुसँग प्रतिवद्धता लिएपछि रेफ्रीहरु पनि खेल खेलाउन राजी हुनुभएको छ।' 

मंगलबार नै इलाका प्रहरी कार्यालय इटहरीमा कुटपीटमा संलग्न खेलाडी र पीडित रेफ्री पक्षबीच मिलापत्र गरिएको छ। दुवै पक्षले आउँदा दिनमा रिसइबी नराख्ने भनी मिलापत्र गरिएको  पनि सापकोटाले जानकारी दिए। बैठकले पश्चिमाञ्चलका खेलाडी राजीवबिक्रम शाहलाई कारबाही स्वरुप माफी माग्न लगाउने निर्णय पनि गरेको छ। उनले बुधबार आफूले अनुशासन विपरीत काम गरेकोमा माफी माग्दै गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाउनुपर्ने भलिबल खेल ब्यवस्थापन समितिका सदस्य सापकोटाले बताए। 

मंगलबार नै सशस्त्र प्रहरी बलले नेपाल प्रहरीलाई हराएर पुरुष भलिबलको फाइनल प्रवेश गरेको छ। बुधबार हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल भिड्नेछन्। तेश्रो स्थानका लागि नेपाल पुलिस क्लब र पश्चिमाञ्च विकास क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.