बाह्रमासे वृक्षारोपणका लागि विरुवा

|

विराटनगर : मोरङमा २०७१ सालदेखि वैज्ञानिक वन व्यवस्थानको कार्यक्रम सञ्चालनमा छ। मोरङको लेटाङ-४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समितिकी सदस्य जानुका राई सुरुमा वैज्ञानिक वन व्यवस्थापनको पक्षमा थिइनन्। वैज्ञानिक वन व्यवस्थापनको नाममा सबै रूख काटेर वनै मासिने पो हो की भन्ने उनलाई शंका थियो।

‘सुरुमा त मैले पनि बुझिन पहिलो 'ब्लक'मा त मैले विरोध नै गरेको थिए,’ उनले भनिन्, ‘जिल्ला वनबाट आएको रूख काट्ने पत्र हेर्दा त धेरै वटा रूख काटिने जस्तो देखियो, भावी पुस्ताले त रूखै नदेख्लान् जस्तो पो लागेको थियो।’

वैज्ञानिक वन व्यवस्थापनमा उमेर पुगेका रूख काट्ने, 'थिनिङ' गर्ने, अग्नी रेखा निर्माण गर्ने, तारबार लगाउने जस्ता कार्य गरिन्छ। ‘सबै  काटेर सक्ने भए वन भन्ने लागेको थियो तर त्यस्तो हैन रहेछ,’ उनले भनिन्, ‘अहिले रहेका बूढा रूखहरू ८० वर्षमा बल्ल काटेर सकिने रहेछ, त्यतिन्जेलसम्म त नयाँ हुर्केका रूख काट्ने समय हुने बुझेपछि यो कार्यक्रम ठीक लाग्यो।’

जनसेवा सामुदायिक वनकै उपभोक्ता समूहका अध्यक्ष दिलराम राई लामो समयदेखि वन संरक्षणमा लागेका थिए। ‘झट्ट हेर्दा हरियो झ्याम्म परेको वन, काठ त कति हो कति भन्ने लाग्थ्यो’, उनले भने, ‘तर काट्दै गएपछि पो थाहा भो वनमा त औले, खिर्रा, टाँटरी ,हल्लुडे, असारे, दबदबे यस्तै मात्रैलाई पो संरक्षण गरिएको रहेछ।’

जनसेवा सामुदायिक वनले पहिलो वर्ष २ सय ४  वटा रूख कटान गर्दा २७ वटा मात्रै सालको रूख भेटिएको राईले बताए। यस पटक २ सय २४ वटा रूख कटान गर्दा ३३ वटा मात्रै साल भेटिएको उनले बताए। ३३ वटा सालको रूखबाट ४३ सय क्युविक फिट काठ उत्पादन भयो भने एक सय ९० वटा कु काठ काट्दा २ हजार ७० क्युफिट मात्रै काठ उत्पादन भएको राईले बताए।

नेपालमा वैज्ञानिक वन व्यवस्थापनको काम नै ढिला गरी सुरु भएको उनको भनाइ छ। जनसेवा जनसेवा सामुदायिक वनमा तीन वर्षदेखि वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको छ। पहिलो दुइटै ब्लकमा सालका विरुवा हर्किरहेका छन्। अब आउने भावी पुस्ताले जनसेवा सामुदायिक वनमा साल प्रसस्तै भेट्ने उनको दाबी छ।

जिल्ला वन मोरङका अधिकृत विशाल घिमिरेले वैज्ञानिक वन व्यवस्थानका विषयमा नबुझ्दा भ्रम बढी रहेको बताए। वैज्ञानिक वन व्यवस्थापनबाट आम्दानी र वनको संरक्षण पनि राम्रो हुने उनले बताए। ‘झट्ट हेर्दा वैज्ञानिक वन व्यवस्थापन भएको ठाउँमा रूख काटेर वन नांगै देखिन सक्छ,’ उनले भने, ‘तर रूख काटिएका ठाउँमा विरुवा हर्किरहेको हुन्छ।’

पाँच वर्षदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम हालसम्म २५ वटा सामुदायिक वनमा लागू भइसकेको जिल्ला वन कार्यालयले जनाएको छ। मोरङमा चार साझेदारी, एक सय ३४ सामुदायिक, १२ धार्मिक, दुई कबुलियती र छ सय ६५ वटा निजी वन छन्। मोरङमा राष्ट्रिय वनको क्षेत्रफल २७ हजार आठ सय ६५ हेक्टर छ।

७ लाख ४० हजार विरुवा उत्पादन

मोरङमा यो वर्ष ७ लाख ४० हजार काठ प्रजातिका विरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ। जिल्लाको १८ हेक्टर खाली पर्ती जमिनमा वृक्षारोपण गरिएको छ। किसानलाई प्रतिव्यक्ति २० थानका दरले विरुवा वितरण गरिएको छ।

प्रदेश १ मा ४३.४ प्रतिशत वन क्षेत्र रहेको छ भने मोरङमा ४४ हजार ५ सय हेक्टर वन छ। यसअघि मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेकोका अघिल्लो वर्ष भएको सर्वेक्षणले करिव ११ हजार हेक्टर वन क्षेत्र घटेको देखाएको छ।

बाह्रमासे वृक्षारोपणका लागि विरुवा

असार–साउन महिनामा मात्र वृक्षारोपणका लागि रूखका विरुवा उत्पादन र वितरण गर्ने परम्परागत प्रणालीमा सुधार गर्दै मोरङमा बाह्रै महिना विरुवा उत्पादन र वितरण हुने नर्सरी पनि स्थापना भएको छ। प्रदेश सरकारको सहयोगमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा आधुनिक बाह्रमासे नर्सरी निर्माण गरिएको हो।

वातावरण संरक्षणमा विशेष जोड दिँदै प्रदेश सरकारले जुनसुकै समयमा पनि विरुवा उपलब्ध गराउन सक्ने गरी नर्सरी निर्माणमा लगानी गरेको हो। सेक्टर वन कार्यालय सलकपुरमा एक बिघाभन्दा बढी क्षेत्रफलमा आधुनिक नर्सरी निर्माण गरिएको छ।

प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपैयाँ बजेटबाट नर्सरी, र त्यसमा हरितगृह प्रणालीको छानो लगाउने काम गरिएको छ। नर्सरीमा अहिले झण्डै ३ लाख विरुवा हुर्किएका छन्। सतिसाल, सिसौं, टिक, खयर, करम, बोटधएरो, रक्त चन्दन, रुद्राक्ष आदि काठ तथा गैरकाठ प्रजाति तथा सडक किनारमा हरियाली प्रवद्र्धन हुने खालका विरुवाहरू नर्सरीमा हुर्किएका छन्।

विभिन्न छिमलमा हुर्काइएका विरुवाहरू एक वर्षको भएपछि मात्र रोप्नका लागि वितरण गरिने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अब किसानले चाहेको बेला विरुवा लगेर सार्न सक्नेछन्। ‘कलिलो विरुवा वितरण गर्दा विरुवा सर्ने दर कम हुने भएकोले हामीले एक वर्ष नर्सरीमा हुर्किएको विरुवा मात्र वितरण गर्ने गरेका छौँ,’ उनले भने, ‘वर्ष दिन भएको विरुवा सजिलै सर्ने भएकोले हुर्किने निश्चित जस्तै हुन्छ।’

विरुवा रोप्नका लागि पानी परेको र गर्मी मौसम अनुकूल हुन्छ। वैशाख महिनादेखि कार्तिक महिनासम्म विरुवा रोपेर हुर्काउन सकिन्छ। त्यसबाहेक जाडो याममा भने विरुवा हुर्काउन कठिन हुनेगरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.