मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले गरे अवलोकन

|

दमक :  करिब एक सय बिघा क्षेत्रफलमा सामूहिक खेती हुँदै आएको झापाको गौरादह–५ मा कृषि पर्यटनको समेत शुरुवात भएको छ। स्थानीय महिलाहरूद्वारा सञ्चालित महारानीझोडा कृषि सहकारी संस्थालेले सामूहिक खेतीको प्रवद्र्धन गरेको हो। तर यसलाई संघीय सरकारले नै देशका पर्यटकीय गन्तव्यहरूको सूचीमा कृषि पर्यटनको गन्तव्यको रुपमा सूचीकृत गरेपछि यहाँ पर्यटकीय गतिविधी पनि बढेको छ।

खेतमै ‘होमस्टे’

सहकारी संस्थाले सञ्चालन गरेको यहाँको सामुहिक खेती क्षेत्र भित्रनै पर्यटकहरूको सुविधा र आकर्षणका लागि होमस्टे समेत निर्माण गरिएको छ। कृषि पर्यटनलाई लक्षित गरी पहिलोपटक कृषि नमूना पाहुना घरको निर्माण समेत गौरादहमा थालिएको हो।

नमूना एकिकृत कृषि सहकारी खेतीले पाहुना घर निर्माण कार्यलाई तिब्रता दिएको संस्थाले जनाएको छ। यस ठाउँमा देशका बिभिन्न सहकारी, कृषक समुह, महिला समुह, क्याम्पस लगायतबाट दर्जनौं अवलोकन टोली आउने गरेका छन्।

उनीहरूसँगै अन्य पाहुनाहरूका लागि लक्षित गरि होमस्टे निर्माण गरिएको हो।संँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ५० लाख रुपियाँ सहयोगमा पाहुना घर निर्माण शुरु गरिएको नमूना एकीकृत सहकारी खेतीका अध्यक्ष वेदनिधि चापागाईंले जानकारी दिएका छन्।

नमूना कृषि ‘होम स्टे’को रुपमा पाँचवटा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ। गत चैतमा संघीय सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले यसको शिलान्यास गरेका थिए। सामूहिक खेतीलाई प्रवद्र्धन गर्दै आएको महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालका अनुसार वार्षिक १५ हजार कृषि पर्यटक यहाँ आउने गरेका छन्।

नगरपालिकाले समेत नमूना सहकारी खेती लाई औद्योगिक तरकारी खेति कृषि अनुसन्धान केन्द्रमा रुपान्तरण गर्ने जनाएको छ। सामूहिक सहकारी खेतीभन्दामाथि तरकारी खेतीको अनुसन्धान केन्द्र बनाउने गरी आवश्यक बजेट ब्यवस्थापन गर्ने नगरप्रमुख रोहितकुमार शाहले जानकारी दिएका छन्।

खेतीसँगै उद्यम

यस सहकारी संस्थामा आवद्ध महिलाहरूले सामुहिक तथा आधुनिक खेतीसँगै उद्यमशिलताको शिप समेत सिक्दै आएका छन्। सहकारी संस्थाले संस्थामा आवद्ध महिलाहरूलाई कुनै न कुनै शिपयुक्त बनाउने लक्ष्य लिएको अध्यक्ष ढकाल बताउँछिन्।

‘हाम्रा कुनै पनि सदस्यहरू शिप बिहिन रहनु हुनेछैन, त्यही योजनाअनुसार कम्तीमा एक सदस्य, एक उद्यमको लक्ष्य सहित हामीले बिभिन्न तालिम दिँदै आएका छौं’–उनले भनिन्।

संस्थाले महिलाहरूलाई दुधका परिकार बनाउने, सावुन बनाउने, व्यवसायीक पशुपालन, अचार बनाउने लगायतका बिभिन्न प्रकारका तालिम समेत दिँदै आएको छ। तालिम लिएका महिलाहरूले बिभिन्न उद्यम समेत सञ्चालन गर्दै आएका छन्।

संस्थाले उत्पादन गरेका अचार, दुधका परिकार, तरकारी जस्ता उत्पादनहरू सहकारीको अवलोकन गर्न आउने आगन्तुकहरूको रोजाईमा पर्ने गरेका छन्। यातायातको समेत सहज पहुँच रहेकाले यहाँ वर्षायाम बाहेक अरुबेला दैनिक ४÷५ ओटा सम्म अवलोकन टोली आउने गरेका छन्। तिनै अवलोकन टोलीका सहभागीले महिलाहरूद्वारा उत्पादित समान खरीद गर्ने भएकाले बिक्रिका लागि समेत सहज भएको छ।

मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले गरे अवलोकन

महिलाहरूद्वारा प्रवर्द्धन गरिएको सामूहिक खेती, कृषि पर्यटन, उद्यमशिलताको विकास तथा सहकारीमार्फत आय आर्जनमा सुधारको कार्यप्रति नीति निर्माताहरूको पनि ध्यान खिच्दै आएको छ।

यहाँको कृषि तथा उद्यमशिलताको अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न विभागीय मन्त्रीहरूसमेत पुगिसकेका छन्।

कृषि, उद्योग, सहकारी लगायतका विभागीय उच्च सरकारी अधिकारीहरू त बारम्बार पुगिरहन्छन्। सहकारीमा आवद्ध महिलाहरू सामुहिक तथा एकल तरकारी खेती, बेमौसमी फलफूल लगायतको उद्यमसमेत सञ्चालन गर्ने गरेकाले यो अभ्यास धेरैका लागि अनुशरण र सिकाइको स्रोतसमेत बनेको गौरादह नगरपालिकाका प्रमुख शाह बताउँछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.