|

डडेल्धुरा : डडेल्धुरा सदरमुकामा रहेको ऐतिहासिक अमरगढी किल्लामा लगाइएको ताला खोलिएको छ। अमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल अमरगढी किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले एक साता अघिदेखि लगाएको ताला नगरपालिकाको पहलमा खोलिएको हो।

आइतबार अमरगढी नगरपालिका र किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिबीच सहमति भएपछि ताला खुलेको हो।

अमरगढी नगरपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, क्षेत्र विकास समितिका पदाधिकारी तथा सरोकारबालाहरुको बैठकले अमरगढी किल्लामा भइरहेको कामको मूल्याकंन गरी रकम निकासा दिने, अमरगढी किल्लामा पर्यटकबाट आउने प्रवेश शुल्क क्षेत्र विकास समितिको कोषमा जम्मा गर्ने र अमरगढी किल्लाको विकासका लागि विशेष पहलकदम गर्ने सहमति भएको किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समिति प्रवीण जैरुले जानकारी दिए।

अमरगढी सरकारले गरेको ढिलासुस्तीका कारण किल्लाका लागि आएको बजेट फ्रिज गएपछि ताला लगाइएको थियो। पुनर्निमाणका लागि पुरातत्व विभागबाट अमरगढी किल्लाका लागि २५ लाख रुपैयाँ आएको थियो। जसमा तीन लाख जति खर्च भएको थियो भने बाँकी रकम फ्रिज गएको थियो।

पुरातत्व विभागले काम चाँडै गर्न अनुमति नदिनुलगायतका कारणले समस्या भएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताएका थिए। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको थियो। किल्लाको संरक्षणका लागि आफूले केन्द्र सरकारसँग समन्वय समेत गरिहरको नगरप्रमुख ओझाको भनाइ छ।

समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा रहेको अमरगढी किल्ला नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाद्वारा किल्लाको निर्माण गरिएको थियो। अमरगढी किल्लाभित्र सैनिकका लागि २२ वटा गुफा बनाइएको छ।

त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्रनिरोध मार्ग निर्माण गरिएको छ। अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। नगरपालिकाले सर्वसाधारणका लागि यो किल्ला खुला गरेको छ। अमरगढी किल्लाको ऐतिहासिक र धार्मिक महत्व छ। डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाइमा किल्ला नै पर्छ।

ऐतिहासिक अमरगढी किल्लामा तालाबन्दी भएपछि किल्ला घुम्न आउने पर्यटक समस्यामा परेका थिए। पछिल्लो समय यहाँ छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.