कञ्चनपुर : जिल्लाको भीमदत्त नगरपालिका-३ भाँसीका १६ वर्षीय सुरज लेखकले आत्महत्या गर्नुको कारण विद्यालयकै संयोजक हरिलाल जोशी(एलविए) प्लस टु कोर्डिनेटर भनेर लेखेपछि शिक्षकमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
विद्यार्थी सुरजले शनिबार आफ्नै घरको कोठामा सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए। सुरज लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत रहेका थिए। सुसाइड नोटमा सुरजले बाहुनको चुरोट नखाने गरेको र बुबालाई धेरै टेन्सन नदिने जस्ता कुरा उल्लेख गरेका छन्। अन्त्यमा आई क्वाईट लेखेर हजुरआमा बुबा, आमा, दाजुहरूलाई लभ यू भनेर पनि लेखेका छन्।
आत्महत्या गरेका विद्यार्थीका बुवा गणेश लेखकले प्लस टु संयोजक जोशीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिएपछि शिक्षक जोशीमाथि अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले बताए।
उहाँका अनुसार किटानी जाहेरीमा छोरालाई विद्यालयमा मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएकाले कारबाहीका लागि माग गरिएको छ।
संयोजक जोशीले सुरजलाई साथीहरूसँग चुरोट खाँदै गरेका बेला फेला पारेपछि सम्झाएको मात्रै बताएका छन्। विद्यालयले संयोजक जोशीलाई सेवाबाट हटाएको जनाएको छ। सुसाइड नोटमा संयोजक जोशीको नाम उल्लेख भएकाले सेवाबाट हटाइएको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।