जनप्रतिनिधि भन्छन् : तस्बी मा देखिएजस्तो घुम्ती छैन

|

उदयपुर : आजभोलि सामाजिक सञ्जालमा सकारात्मक प्रचारप्रसारसँगै नकारात्मक टीका टिप्पणी धेरै हुन्छन्। कसैको व्यक्तिगत चरित्र हत्यादेखि विकास निर्माणमा हुने कामप्रति खबरदारीसम्मका सन्देश सामाजिक सञ्जालमा भेटिन्छन्।

स्थानीय सरकारको कामकारबाहीप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता धेरै चनाखो पनि बन्दै गएका छन्। अर्कोतिर त्यही कामको उल्टो व्याख्या गरेर चर्चा कमाउनेहरू पनि कम छैनन्। पछिल्लो समय त्यसैको एक उदाहरण बनेको छ, लिम्चुङबुङ गाउँपालिका-५ बुँइखा हिम्मा, रातमाटे कृषि सडक। गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा निर्माण गरेको सडक अहिले सामाजिक सञ्जालमा स्वर्ग जाने बाटो बनेको छ।


 

'स्थानीय सरकारको विकास, स्वर्ग जाने सडक, स्वर्ग जाने बाटो, कुन पागल इञ्जिनियरले बनाएको यो स्वर्ग जाने सडक’ भन्ने शब्दबाट उक्त सडकलाई टीका टिप्पणी गरिएको छ।

इञ्जिनियरलाई पागलको संज्ञा

क्यामेराले जुम गरेर खिचिएको फोटो छ। फोटोमा हेर्दा सानो डाँडाबाट घुम्ती नै घुम्ती बनाउँदै ठाडो सडक निर्माण गरिएको देखिन्छ। त्यही फोटो फेसबुकको वालमा पोस्‍ट गर्दै विभिन्न टीका टिप्पणी गरिएको छ। पोखराका पुराना पत्रकार बद्रीविनोद प्रतीकले लेखेका छन्, ‘कुन पागलको इञ्जिनियरिङ होला? मान्छे मार्न यो भन्दा गतिलो एम्बुस के होला र? स्वर्ग जाने बाटो ।

यसैगरी, सञ्चारिका समूहकी पत्रकार दुर्गा कार्कीले व्यंग्य गर्दै उक्त फोटो पोष्ट गरी लेखेकी छिन, ‘उदयपुरमा भेटिएको स्वर्ग जाने बाटो।’ यसैगरी कार्की र  बद्रीविनोदकै शब्दमा सोही सडकको फोटो पोष्ट गर्दै खगेन्द्र हमालले लेखेका छन्, ‘सिभिल इञ्जिनियरमध्ये कुन पटमूर्ख इञ्जिनियरको डिजाइन हो, यो, नक्कली सर्टिफिकेटधारी, सक्कली इञ्जिनियरको काम त पक्कै होइन यो, डोजर छ, भन्दैमा जहाँ पनि ठेलिदिने? यता, लोकेन्द्र केसी पोष्ट गर्छन्, यस्ता सडकहरू कुन मापदण्डअनुसार बनाइए, बाढी पहिरोको मञ्चन गरिँदै छ, यो मानवीय निर्मित विनाश हो, खबरदार राज्यको दोहन गर्न बन्द गरौँ, उत्तरदायित्व वहन गरी जवाफदेही बन्ने प्रयास गरौँ। गोहीले झनै आँसु बगाउँदैमा केही हुनेवाला छैन।’ उक्त सडकको चर्चा सयौँले फेसबुकमा पोष्ट गर्दै विभिन्न शब्दले टीका टिप्पणी गरेका छन्।

मन लागेको टिप्पणी गर्न पाइँदैन : स्थानीय सरकार

फोटो कसले, केका लागि कुन समय खिचेको कुनै जानकारी छैन र हुनेकुरा पनि भएन । तर, फोटोलाई स्वर्ग जाने सडक भनेर व्याख्या गरिएको छ। लिम्चुङबुङ गाउँपालिका-५ का वडाअध्यक्ष केशरबहादुर खड्काले सडक नहेरी गलत प्रचारप्रसार भएको बताए। ‘क्यामेराले जुम गरेर अग्लो डाँडाबाट खिचिएको फोटो छ, त्यो फोटोमा देखिएको जस्तो सडक छैन, सडक नै नहेरीकन जे मन लाग्यो त्यही टिप्पणी गर्न पाइँदैन। भ्रम त फैलाउनु भएन नि ।’

उनले गाउँपालिकाबाट गएको आर्थिक वर्ष ०७५/०७६ मा २० लाख लगानी गरेको र आउने आर्थिक वर्ष ०७६/०७७ मा थप १० लाख लगानी गर्ने बताए। उनले ५ किलिमिटर दूरी रहेको लिम्चुङबुङ गाउँपालिका-५ हिम्मा हुँदै रौतामाई गाउँपालिका-३ लाफागाउँ रातमाटे जोड्ने सडक भएको प्रस्‍ट्याएका छन्। 

वास्तविकता फोटोमा जस्तो छैन : गाउँपालिका अध्यक्ष

यता, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पनि वडा अध्यक्षकै शैलीमा क्यामेराले अग्लो डाँडाबाट जुम गरी खिचिएको फोटो भएको दाबी गरेका छन्। ‘फोटोमा देखिएको जस्तो गाँउ नै ध्वस्त बनाउने सडक छैन,’ उनले भने, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्ताविकताभन्दा बाहिर गएर प्रचारप्रसार गर्दा चर्चामा आएको छ, त्यहाँ गएर हेर्दा हुन्छ’, उनले भने, ‘फोटोमा देखिएको जस्तो घुम्ती पनि छैन, उकालो ओरोलो पनि छैन।’

वडा कार्यालय र स्थानीय जनताको मागबमोजिम निर्माण गरिएको सडक भएको लिम्चुङबुङ गाउँपालिकाको दाबी छ।

इञ्जिनियर भन्छन्- सडक मापदण्डअनुसार नै छ

लिम्चुङबुङ गाउँपालिकाका इञ्जिनियर शरद चौधरीले सडक मापदण्डअनुसार भएको बताएका छन्। ‘सडकको मापदण्डअनुसार कुनै पनि कमी छैन,’ उनले भने, ‘अग्लो डाँडाँबाट जुम गरेर खिचेको फोटोको गलत प्रचारप्रसार भयो, पहिला जहाँबाट सर्वे भएको थियो, त्यहीअनुसार सडक निर्माण गरेका हौँ।’ यति मात्र होइन आफ्नो योग्यता र कामको अवमूल्यन पनि गरिएको गुनासो गरे । चौधरीका बिचारमा सञ्चार प्रविधिको दुरुपयोग हो यो ।

६ दाजुभाइको ७ रोपनी जग्गा स्वाहा

स्वर्ग जाने सडक भनेर टिप्पणी गरिएको उक्त सडकमा जग्गा पर्ने जग्गाधनीले ६ दाजुभाइको ७ रोपनी जग्गा स्वाहा भएको गुनासो गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका शब्द जस्ताको तस्तै :

‘उदयपुर जिल्ला लिम्चुङबुङ गाउँपालिका-५ हिम्मा गाउँस्थित मानबहादुर राईको छोरा हामी ६ भाइ, हाल गाउँमा  कसैको पनि बसोबास छैन, अन्यत्र अस्थायी बसोबास गर्दै  आएका छौँ। अहिले सडक बाटो निर्माणका नाममा हामी ६ भाइको जग्गा सोही ठाउँमा रहेको जम्मा ७ रोपनी जग्गा सडक खन्ने नाममा सबै पूर्णरूपमा क्षतविक्षत भएको खबर मैले पाएको छु।

त्यो मात्र नभएर हाम्रो एकजना सदस्यको सोही ठाउँमा पुरानो चिहान पनि रहेको हुँदा, त्यो चिहान पनि सडकमा परिणत भएको छ। त्यो हाम्रो जग्गाबाट बाटो लानका निम्ति हामी ६ भाइबाट कसैसँग पनि कुनै कुरा नभएको र बाटो लाने समितिले पनि कुनै जानकारी नगराएको हुँदा, मलगायत मेरो सम्पूर्ण परिवारको घोर आपत्ति छ।

र कसैको चिहानलाई खनी बाटो लानलाई कुन नियम र कुन कानुनले दिन्छ? यहाँ म पश्न चिह्‍न खडा गर्न चाहन्छु र गाउँवासी र सडकको सम्पूर्ण समितिलाई, म के भन्न चाहन्छु भने जुन दिन मेरो सबै परिवार गाउँमा आउनेछ। म त्यो बेला त्यहाँबाट बाटो लानु र चिहानलाई पनि बाटो बनाउन कसले दियो यसको स्पष्टीकरण दिइनुपर्छ। र यो कुराप्रति समितिले मात्र नभएर सम्बन्धित निकाएको पनि ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद। (दिवस राई) हाल खाडीमुलुक।

सम्बन्धित समाचारहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.