|

काठमाडौं : लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ र एमआरआई, सिटिस्क्यान गर्दा पनि टाउकोमा केही समस्या देखिँदैन भने माइग्रेन भएको हुन्छ। आजभोलि यस्तो समस्या लिएर आउने बिरामीको संख्या बढेको शिक्षण अस्पतालमा कार्यरत न्युरोलोजिस्ट डा. मोहन शर्मा बताउँछन्।

विशेषत:  २० देखि ५० वर्ष उमेर समूहमा यस्तो समस्या धेरै देखिने उनको भनाइ छ। यस उमेरमा  पढाइ, क्यारियर, र भविष्यको चिन्ता हुनुका साथै शरीरमा हुने हर्मोनहरुको उचाढचढावले गर्दा पनि यो समस्या धेरै देखिने डा. शर्मा बताउँछन्। 

के हो माइग्रेन?

माइग्रेन भन्नाले लामो समयसम्म देखिने टाउको दुख्ने रोग हो।  सामान्य खालको माइग्रेनमा टाउको दुखाइ मात्र हुन्छ  भने जटिल खालको माइग्रेनमा हात खुट्टाहरु नचल्ने,आँखा दुख्ने हुन्छ, हाम्रो देशका मानिसहरुमा  देखिएको माइग्रेन आजसम्म सामान्य खालकै  माइग्रेन हो, जुन  पुरुषको तुलनामा महिलाहरुमा बढी हुन्छ।

यो रोग भएका बिरामीको टाउको भित्रका मष्तिष्कका रक्तनलीहरु समयसमयमा फुक्ने गर्नाले ती रक्तनलीहरुका वरिपरिका नसाहरु तन्किन्छन् र  विभिन्न प्रकारका रसायन निकाल्न थाल्छन् जसले गर्दा टाउकोभित्र इन्फ्लामेसन गराउँछ र टाउको दुख्न थाल्दछ त्यसपछि  माइग्रेनका लक्षणहरु देखिन थाल्दछ। तर, आजसम्म टाउको र मष्तिष्कका रक्तनलीहरु किन यसरी फुक्ने गर्छन् माइग्रेन हुन जान्छ भन्ने कारण पत्ता लागेको छैन्।

माइग्रेन भइसकेपछि एक साता वा एक महिनासम्म औषधी खाएर सन्चो हुँदैन जसका लागि बिरामीले ‌औषधीका साथै आफूमा तनाव कम लिने, चक्लेट,आइसक्रिम खानेकुराहरु कम खाने ,रातमा निदाउने आदिजस्ता कार्य गर्नुपर्छ।

के  हुन् माइग्रेनका लक्षणहरु?

माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म लागिरहने रोग हो) जसले गर्दा  यसका लक्षणहरु बेलाबेलामा बल्झिरहने हुन्छ। माइग्रेन भएपछि यो रोग पूर्णरुपमा सन्चो हुन निकै समय लाग्छ। यो रोग लागिसकेपछि बिरामीलाई टाउकोको एक भाग मात्र दुख्ने  वाकवाक हुने र कहिलेकाहीँ बान्तासमेत हुने, हात खुट्टा चिसो हुने, कहिलेकाहीँ एकैपटक बेजोडसँग २४ घण्टासम्म टाउको दुख्ने गर्दछ, साथै बिरामीले धेरै हल्ला, चर्को आवाज सुन्न, सहन नसक्ने र एकान्तमा बस्न रुचाउने हुन्छन्।

कारणहरु

माइग्रेन यही कारणले हुन्छ भनेर वैज्ञानिकले ठोस कारण पत्ता लगाइसकेका छैनन्, तर पनि माइग्रेन हुने केही कारणहरुमा, महिलाहरुमा महिनावारीले गर्दा हुने हर्मोनको उतारचढावले गर्दा पनि यो रोग धेरै लाग्ने गर्छ भने धेरै तनाव, चिन्ता लिने गर्नाले पनि यो रोग लाग्ने गर्छ। यस्तै, घरमा आमा बाबुमध्ये कसैमा माइग्रेन छ भने छोरा छोरीमा हुने सम्भावना धेरै हुन्छ त्यसैले केही माइग्रेन वंशाणुगत कारणले पनि हुन्छ। अर्को कुरा मानिसको खानपिनले गर्दा पनि माइग्रेन हुने गर्छ। धेरै चक्लेट, आइसक्रिम खाने र घाममा धेरै हिँड्नेहरुलाई माइग्रेन हुने सम्भावना ज्यादा हुन्छ।

उपचार

यदि कुनै मानिसलाई समयसम्म लगातार टाउको दुखिरहन्छ भने उसले एमआराई, टाउकोको सिटिस्क्यान गर्नुपर्छ। यदि एमआराई, सिटिस्क्यान गर्दा पनि टाउकोमा अरु केही समस्या देखिएन र लामो समयसम्म टाउको लगातार दुखिरहन्छ भने त्यस्तो बिरामीलाई माइग्रेन भएको मानिन्छ। यसरी माइग्रेन देखिइसकेपछि यसको उपचार दुई तरिकाले गरिन्छ एक औषधी सेवन र अर्को माइग्रेन एट्याकबाट बच्न बिरामीले आफ्नो जीवनशैलीलाई सुधार गरेर।

माइग्रेन देखिइसकेपछि बिरामीले चकलेटहरु कम खाने, धुलो धुवाँबाट बच्ने र आफूलाई तनावरहित राख्नुपर्छ। यदि माइग्रेन एट्याक भएमा टाउको सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाहमा दुखाइ कम गर्ने औषधी  सेवन गर्न सकिन्छ। तर, लामो समयसम्म माइग्रेनका कारणले टाउको दुखिरहेमा चिकित्सकको सल्लाहमा यसको एट्याकबाट  बचाउने औषधी खानुपर्छ।

यसका अलवा बिरामीले दैनिक शारीरिक अभ्यास गर्ने जसमा दैनिक आधा घण्टा हिँड्ने, जाड रक्सी चुरोट सेवन नगर्ने गर्नुपर्छ जसले गर्दा माइग्रेनबाट बच्न सकिन्छ।

वरिष्ठ न्युरोलोजिस्ट डा. मोहन शर्मासँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.