|

  • दिपेन्द्र शर्मा

जाजरकोट  : यसै त नियमित पढाई हुदैन ग्रामीण भेगका सरकारी विद्यालयको, त्यही माथि कुनै कार्यक्रम वा मेला चलेमा त्यसले झन विद्यार्थीहरुको पढाई अलपत्र पर्ने गरेको छ। जाजरकोटको मालिका नगरपालिकामा रहेको त्रिभुवन उच्च मावि, खलंगाका विद्यार्थीहरु रमाइलो मेलाका कारण पढाई अवरुद्ध भएपछि निराश हुन पुगेका छन्। 

परीक्षाको पर्खाइमा रहेका कक्षा ६ देखि १२ मा पढ्ने दुई हजार विद्यार्थीको पढाई विद्यालय परिसरमा नै रमाइलो मेलाको कारण बन्द भएको छ। एक हप्तासम्म लाग्ने मेलाको कारण भेरीमालिका नगरपालिका र आसपासका गाविसका विद्यार्थीहरुसमेत प्रभावित भएका छन्।

'सबैभन्दा बढी पढाई हुने महिना मंसिर र पुस हो, तर यही बेला पार्टीको कार्यक्रम र मेलाले पढाई अवरोध भइरहेको छ', कक्षा १० का विद्यार्थी गोपाल वलीले भने– 'कति बेला पढ्ने, परीक्षा आइसक्यो।'

जिल्लामा सभा समारोह र मेला गर्ने स्थान नभएको कारण पनि विद्यालयमा त्यस्ता कार्यक्रम हुने गरेकोले पढाईमा अवरोध आइरहेको उनले बताए।
विद्यार्थीको पढाई अवरोध हुने भएपछि विद्यालय व्यवस्थापन समितीले मेला र सभा गर्न विद्यालयको परिसर नदिने निर्णय गरेको भएपनि कार्यान्वनमा आउन नसकेको विद्यालयका प्रधानाध्यापक हेरम्बबहादुर शाहले जानकारी दिए। 

'जिल्लामा गतिलो सार्वजनिक मन्च नहुँदा समस्या परिरहेको छ', उनले भने- 'स्थानिय राजनैतिक दल, सामाजिक संस्थाको चर्को दबाबले विद्यालयको फिल्ड नदिने निर्णय कार्यान्वयन गराउन सकिएको छैन।'

जिल्लास्तरका सबै जसो कार्यक्रम नै विद्यालयमा हुने भएकोले विद्यार्थीको पढाई प्रभावित भएको तर्फ कसैको ध्यान नगएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शाकेन्द्र विक्रम शाहले चिन्ता व्यक्त गरे। 'विद्यार्थीले पढाई पुरा गर्न पाए, पाएनन् कसैलाई चासो छैन', उनले भने- 'चर्को दबाबको कारण यो पटक अन्तिम भनेर विद्यालय परिसर दिएका हौं।'

ऐतिहासिक रुपमा लाग्दै आएको मेलालाई बन्द गर्नुभन्दा जिल्लाको आर्थिक विकास र संस्कृति जगेर्ना गर्न मेला आयोजना भएकोले विद्यालयले स्थान उपलब्ध गराउनुपर्ने कांग्रेस जाजरकोट सभापति दीपक जंग शाह बताउछन्। 'जिल्लाकै आर्थिक समृद्धि, कला संस्कृतिको जगेर्नाका लागि मेला बन्द गराउन हुन्न भनेर मेला गरिएको हो', उनले भने।

हरेक वर्ष स्वर्गीय राजा वीरेन्द्रको जन्मदिनको अवसरमा जाजरकोटमा मेला गरिदै आएको छ। प्रत्येक वर्ष पुसको १३, १४, १५ र १६ गते हुने मेला यसपटक पुस १२ देखि १६ सम्म लागेको छ। परिसर उपलब्ध गराए वापत विद्यालयले एक लाख रुपैयाँ आम्दानी गर्नेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.