विचार

मिलाउनेभन्दा झगडा गराउनमा तल्लीन छन् जनप्रतिनिधि
SHARES

साउन १५, २०७६

    बाध्यताले केही वर्ष विदेश बसेर घर फर्केको म। देशको राजनीतिमा सानैदेखि चासो राख्ने भएकाले होला म घर फर्केको दुई दिनपछि आमाले सुनाउनुभयो– ‘स्थानीय तहको निर्वाचनका बेला भएका गतिविधिको विषयमा।’ पत्रपत्रिका पढ्नका लागि साक्षर नभए पनि रेडियो र टेलिभिजन हेर्दा चुनावी परिवेश र परिणामको विषयमा आमालाई राम्रोसँग जानकारी थियो। आफ्नै नगरमा भएको चुनावको विषयमा त उहाँ राम्ररी जानकार हुनुहुन्थ्यो।

    ‘अहिले नगरपालिका भयो भनेका छन्, फलानो फलानोले जिते बाबु’ आमाको चुनावी फेहरिस्त सुनेपछि मेरो मानसपटलमा त्यतिबेलाको चित्र आयो कल्पना गरेँ। कसैले १० औँला जोडर आए, कसैले नाता सम्बन्ध पनि खोज्दै थिए। आमाले भनेको सुनेपछि मलाई लाग्यो चुनावका बेला कैयौँ सपना देखाउन घर दैलोमै आउनेहरूले जिते वा हारे भने पनि केही त गर्लान्। चुनाव भएको एक महिना १५ दिनपछि विदेशबाट फर्किएको म स्थानीय तहको चुनावका बेला केही योगदान वा मतदानै गर्न नपाए पनि कैयौँ आशा संगालेको थिएँ।

    देश संघीय संरचनामा

    एक नागरिकको हैसियतले आशा राख्‍ने अधिकार ममा थियो। चुनाव भएको दुई वर्ष बितेको छ। आशावादी हुनुपर्छ भन्ने मेरो मान्यता हो। कैयौँ आशाहरू पनि थिए। कतै स्थानीय तहमा राजनीतिका माहिर खेलाडीहरूले जितेको सुनेँ, कतै साधु सन्तहरू पनि। खेल खेल्दै आएकाहरूले त आफ्नै पारामा काम गर्लान्, साधुसन्त बनेका वा बनाइएकाहरूले केही न केही त गरेर देखाउलान् भन्ने झिनो आस पलायो। 

    केही अपवादबाहेक आशा गर्ने ठाउँ खोइ? हिजो मेरी आमाका कानले सुनेका कैयौँ प्रतिबद्धताहरू अब स्थानीय सरकारमा पुगेकाहरूले बिर्सिए तर मतदान महादान भनेर लठ्ठीको सहारामा मतदानस्थलमा पुगेका मेरी आमा जस्ता बाआमाले त्योबेला बोल्दा शब्‍दहरूको बीचमा मिसिएको 'चाइने' भन्ने शब्‍दसमेत भुलेका छैनन्।

    देश संघीय संरचनामा गएकाले पुराना संरचना केही थिएनन्। हिजोका गाविसहरू त्यतिबेला वडामा परिणत भएका थिए। नगरपालिकाले ठूलै आकार ग्रहण गरेका थिए। गाविस मिलेर कतै नगरपालिका त कतै गाउँपालिका भनेर न्वारन गरिएको थियो।

    ऊबेला छक्कै परेको म त। मैले सोचिरहेको थिएँ के होला अब। त्यही बेला नगरपालिका र गाउँपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक भएको सुनियो। हिजो गाउँ विकास समितिको सानो बजेट गाउँ परिषदले पारित गरेको सुनेको म नगरपालिका र गाउँपालिकाले वडास्तरमा पठाएको बजेट देख्दा पहिलेको भन्दै निकै धेरै लाग्यो। फेरी आशाको त्यान्द्रो न हो फैलियो उकालोमुख।

    परिवर्तन हिजोभन्दा ओरालो

    पहिलो, दोस्रो र तेस्रो वर्षका लागि पालिकाहरूले मेरो आशाको त्यान्द्रो उकालो लागेको जस्तो बजेट ल्याइसकेका छन्। कैयौँ नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरेका छौँ भनेका छन्। तर, हाम्रो विकास, समुदायको परिवर्तन हिजोको भन्दामाथि होइन तलतिर पो लागेको छ।

    केही अपवादबाहेक आशा गर्ने ठाउँ खोइ? हिजो मेरी आमाका कानले सुनेका कैयौँ प्रतिबद्धताहरू अब स्थानीय सरकारमा पुगेकाहरूले बिर्सिए तर मतदान महादान भनेर लठ्ठीको सहारामा मतदानस्थलमा पुगेका मेरी आमा जस्ता बाआमाले त्योबेला बोल्दा शब्‍दहरूको बीचमा मिसिएको 'चाइने' भन्ने शब्‍दसमेत भुलेका छैनन्। स्थानीय सरकारका गतिविधि देख्दा लाग्छ चुनावका बेला मत माग्न जोडिएका १० औँला चुनाव जितेपछि केही आशा राखेर फैलिएका छन्। त्यो आशा नागरिकका लागि घातक छ। 

    लामो समय नजिकमा सरकारको उपस्थिति नभएका कारण आजित बनेका सर्वसाधारणको आशा थियो। अब हाम्रो घरगाउँको सरकार बन्छ। कम्तीमा हाम्रा गुनासो बिसाउने ठाउँ त होला। अरू केही नभए पनि नजिकैको सरकार प्रमुखको कार्यकक्षसम्म हाम्रो पहुँच पुग्छ। भए देलान् नभए सम्झाएर पठाउलान्। कसैले धम्क्यायो भने सरकारले सुन्छ, सबैले झगडा गरे सरकारले मिलाउँछ।

    ढोकेहरूले सम्झाएर होइन थर्काएर पठाउँछन्

    हुन पनि स्थानीय सरकारले नागरिकका यस्ता सानातिना आशा पूरा गर्न सक्छ। स्थानीय सरकारको गद्धीमा विराजमान महाशयहरू नरिसाउनुहोला अहिले पनि जनताले तपाईंहरूसम्म पुग्ने बाटो पाएका छैनन्। हिजो गुनासो बिसाउँला भन्नेहरूले अहिले गुनासो तपाईंका आसेपासे र एजेन्टहरूमार्फत मात्रै बिसाउन पाउँछन्। हजुरबाले भन्दा सुनेको यस्तो व्यवस्था पञ्चायतमा पनि थियो।

    भए देलान् नभए सम्झाएर पठाउलान् भनेर आशा लिएकाहरूले दुवै कुरा पाएका छैनन्। किनभने हजुरको आलिसान महलको ढोकामा बस्ने ढोकेहरूले सम्झाएर होइन थर्काएर पठाउँछन्। 

    नरिसाउनुहोला, तपाईंको कार्यालयमा बस्ने कर्मचारीको त कुरा गरिनसक्नु छ। कतिपय ठाउँमा त यहाँहरू नै पनि अनुभवी हुनुहुन्छ। नजिकको सरकार चलाउन विराजमान हुनुभएका यहाँहरूको कार्यालयको यी र यस्ता परिदृष्यले दुःखीको मन देखाउनेबाहेक केही  गर्नेछैन।

    कसैले धम्क्याए सरकारले सुन्छ भन्नेहरू आज हजुरहरूकै बचनका कारण पीडित बनेका छन्। यसको एउटै उदाहरण भन्छु, जब किसानले धान रोप्छ तब मात्रै तपाईका आसेपासे खेतमा पस्छन् र धम्क्याउँदै डोजर चलाउँछन्। बोले विकासविरोधी, नबोले आफ्नै पेट खाली। जग्गाको मूल्य त उनीहरूले खोजेका छैनन्।

    तर धान रोप्दा लाग्ने खर्च त हजुरले पूर्वसूचना गर्दा बच्थ्यो नि। खै हजुरको जनप्रेम। झगडा मिलाउने होइन झगडा गराउने गतिविधिमा यहाँहरूका क्रियाकलाप बढेको पाइन्छ। आफ्नो कार्यकर्ता भयो भने सबै सत्य र साँचो देख्‍ने आफ्नो इतरको कोही सबैलाई बाँकी नराख्ने प्रवृत्ति त यहाँहरूले त्याग्नुभएन।

     

    नरिसाउनुहोला, तपाईंको कार्यालयमा बस्ने कर्मचारीको त कुरा गरिनसक्नु छ। कतिपय ठाउँमा त यहाँहरू नै पनि अनुभवी हुनुहुन्छ। नजिकको सरकार चलाउन विराजमान हुनुभएका यहाँहरूको कार्यालयको यी र यस्ता परिदृष्यले दुःखीको मन देखाउनेबाहेक केही  गर्नेछैन।

    बाध्य भएर बाँडेको बजेट, बाध्य भएर गरेको कार्यालयको कामबाहेक यहाँहरूबाट जनताको पक्षमा वा जनताको सेवामा गरिएको काम खै? कहाँ खरानी बनाउनुभो चुनावका बेलाका वचनबद्धताहरू? बोलेका मात्रै होइन तपाईंहरूले नै लेखेको नीति तथा कार्यक्रममा उल्लेख भएका बुँदाबुँदाको कार्यान्वयन के अर्को सरकार आएपछि गर्नेगरी बनाइएको हो? स्थानीय सरकार स्थानीय जनताको हुनुपर्छ।

    तपाईंलाई राजा बनाउन मात्रै स्थानीय तह बनेका होइनन्। हजुरहरूलाई त राम्रै याद छ होला अर्को चुवान पनि आउँछ। हिसाबकिताब गर्नुभएको छ होला बाँकी तीन वर्ष समय छ। तर हजुरहरूको समय २०७४ वैशाख ३१ बाट सुरु भएको छ र जनताले पनि त्यसरी नै हिसाब गरे भने के होला?

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]