|
फोटो बस्नेत यसअघि प्रकाउ पर्दाको हो।

काठमाडौं: सर्वसाधारणको करोडौं रकम र बैंक तथा वित्तीय संस्थाको डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम तिर्न नसकेर फरार सुधीर बस्नेत बुधबार जेल चलान भएका छन्। मंगलबार राती धापासीस्थित उनकाे अाफ्नै निवासबाट पक्राउ परेका उनलाई बुधबार डिल्लीबजार जेल चलान गरिएको हो।

पटक पटक पक्राउ परेर छुट्दै आएका बस्नेतले दुई वर्ष छ महिना कैद भुक्तान हुन बाँकी छ। 'हामीले पक्राउ गरेर काठमाडौं जिल्ला अदालत बुझाएका छाै‌, अदालतबाट अहिले डिल्लीबजार सदर खाेरमा चलान गरेकाे ५, ' काठमाडौंका प्रहरी उपरीक्षक प्रद्युम्न  कार्कीले थाहाखबरलाई बताए। 

बस्नेत जेल चलान भएपनि ओरियन्टल सहकारीका पीडितहरु भने अझै पनि अन्यौलमा  छन्।  'दुई वर्ष अघि पनि  उनी पक्राउ परेका थिए। उनी थुनामै रहन्छन् भन्ने ग्यारेन्टी के छ,' एक पीडितले प्रश्न गरे।

को हुन् सुधीर बस्नेत

२०५१/०५२ सालबाट  सहकारी क्षेत्रमा हात हालेका सामान्य परिवारका सुधीर बस्नेतले २०५७/०५८ सालमा सफल व्यवसायीको छवी बनाए। सहकारीमा बचत रकम बढ्दै थियो।

ओ‌रियन्टल सहकारीमा  प्रमुख सञ्चालक रहेका बस्नेतले सर्वसाधरणबाट उठाएको र सबैजसो निक्षेप र सेयर पुँजीबाट प्राप्त रकम आफ्नै निजी सम्पत्तिको रुपमा प्रयोग गर्न थाले।

सहकारीमा रहेको पैसा घरजग्गा, हाउजिङ् र अग्नी विमान, अग्नी यातायात लगायतमा लगानी गर्न थाले। संस्थाको रकमबाट आफ्नो, श्रीमती र अन्य आफन्तका नाममा घरजग्गा खरीद र अन्य व्यवसाय सञ्चालन गरे।

त्यति मात्रै होइन बैंकहरुबाट समेत करोडौँ रकम ऋण उनले लिए। घर जग्गाको व्यवसाय निकै फस्टाइरहेको थियो, बैंक तथा वित्तीया संस्थाहरुले घर जग्गामा कारोबार गर्नको लागि आखाँ चिम्लिएर लगानी गरिरहेका थिए।। तर उनले ७/८ महिनामा सम्म बैंकको व्याज समेत दिन नसेकपछि उनको खोजी सुरु गरिएको थियो। 

बस्नेतबाट को–को भए पीडित?

सुधीर बस्नेतबाट  सर्वसाधारण देखि उच्च सरकारी अधिकारीहरु समेत ठगिएका छन्। उनले बैंकहरुबाट मात्रै विभिन्न नाममा झण्डै दुई अर्ब रुपैयाँ कर्जा लिएका थिए।

व्यक्तिगत रुपमा समेत २४ करोड रुपैयाँ कर्जा लिएका बस्नेतले ओरियन्टल बिल्डर्स, आयुसा बिल्डर्स, कोहिनुर बिल्डर्स, कोहिनुर हिल हाउजिङ लगायतका नाममा समेत करोडौं रुपैयाँ बैंकबाट कर्जा लिए। ओरियन्टल सहकारीको ११ हजार २ सय ८६ बचतकर्ताको झण्डै ३ अर्ब रुपैयाँ पनि फिर्ता गरेनन्। 

कुन बैंकबाट  कति कर्जा?

राष्ट्रिय वाणिज्य बैंकबाट २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकबाट  २० करोड ४६ लाख, कुमारी बैंकबाट ७ करोड ३६ लाख रुपैयाँ ऋण लिएका थिए। त्यस्तै एनआईसी एसिया बैंकबाट २० करोड एक लाख, नबिल बैंकबाट १४ करोड ६ लाख र सिद्धार्थ बैंकबाट ६ करोड १५ लाख रुपैयाँ कर्जा उठाएका थिए।

बस्नेतबाट ठगिने भीआइपीहरु

  • पूर्व उपराष्ट्रपति परमानन्द झा
  • पूर्व प्रधानसेनापति प्याराजंग थापा
  • पूर्व प्रधानन्यायाधीश त्रिलोकप्रताप राणा
  • पूर्व जर्नेल श्रीधर सम्शेर जबरा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.