प्रमुखहरू भन्छन् : जिल्ला र प्रदेशसम्म जान महँगा गाडी किनेका हौँ

|

दाङ : झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि पाएका नागरिकले सेवा सुविधा राम्रो पाउने आशा गरेका थिए। तर, आशा निराशामा परिणत हुने होकि भन्ने आशंका गर्न थालिएको छ। नागरिकको सेवकभन्दा सुविधाभोगी शासकको रूपमा देखापर्न लागेका जनप्रतिनिधिहरू नागरिकहरूप्रति त्यति धेरै खुसी छैनन्। जनप्रतिनिधिहरू स्थानीय तहमा आएपछिको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा परेको छ।

२३ देखि ६० लाख सम्मका सवारी

करिब २३ लाखदेखि ६० लाख सम्मका गाडिहरू चढ्दै आएका छन। ऐन कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सवारीसाधनको प्रयोग गर्ने सुविधा छ। तर, दाङका स्थानीयतहरूले भने प्रमुखदेखि वडाध्यक्षहरूले समेत सवारीसाधन प्रयोग गरेका छन्, भने कतिपय वडा अध्यक्षहरूले भने प्रयोग गरेका छैनन्।

तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि २० वटा बाइक तथा नगर प्रमुख र प्रशासकीय प्रमुखका लागि  गाडी खरिद गरिएको उपमहानरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले मारुती कार १, टाटा जिप १, १५० सिसीको मोटरसाइकल १ वटा, १२५ सिसीको मोटरसाइकल २० वटा खरिद गरेको उपमहानगरपालिकाकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए।

प्रमुख पाण्डेको सवारी करिब ५२ लाखको

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले चढ्ने गाडीको मूल्य ५१ लाख ९० हजार २ सय ६५ रुपैयाको हो। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृतका लागि ३९ लाख १९ हजार ४ सय ६९ रुपैयाँ मारुती कार खरिद गरिएको बताए।

त्यस्तै, १९ वटा वडा कार्यालय र १ जनस्वास्थ्य महाशाखासहित २० वटा मोटरसाइकल खरिद गर्दा ४१ लाख १४ हजार ३ सय ७९ रुपैयाँमा खरिद गरिएको सूचना अधिकारी खरेलले बताए। तुलसीपुरका ६, ९ र १८ नम्बरले बाइक प्रयोग नगरेको उनले बताए। त्यस्तै, बबई गाउँपालिकामा पनि जनप्रतिनिधि र कर्मचारीहरूको लागि मोटरसाइकल र गाडी खरिद गरिएको छ।

गाउँपालिका प्रमुखका लागि ५० लाखको स्कार्पियो

गाउँपालिका प्रमुखका लागि करिब ५० लाखको स्कारपियो जिप, उपप्रमुखका लागि स्कुटर र वडाध्यक्ष र अन्य शाखाहरूका लागि १३ वटा विभिन्न कम्पनीका मोटरसाइकल २ लाख ३८ हजार प्रतिबाइक  खरिद गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर मल्लले बताए।

त्यस्तै, गाउँपालिका अध्यक्षले प्रयोग गर्ने स्कारपियो गाडी ४९ लाख ५६ हजारको भएको उनले बताए। त्यस्तै,  साबिकको गाविस हुने बेलाका २ वटा मोटरसाइकलबाहेक अन्य १५० सिसीका पल्सर भएको उनले बताए।

यता, काम गर्ने सिलसिलामा आवतजावत गर्न सजिलो होस् भन्ने उद्देश्यले सवारीका साधन खरिद गर्नुपरेको गाउँपालिका अध्यक्ष भुवनेश्वरी पौडेलले बताए। उनले आर्थिक वर्ष ०७४/७५ मा १० वटा मोटरसाइकल किनेको र  गत आर्थिक वर्षमा ३ वटा खरिद गरी  गाउँपालिका ७ वडामा ७ वटा र अन्य योजना, प्राविधिक,शिक्षा, स्वास्थ्य शाखामा दिएको बताए।

शान्तिनगरका प्रमुख पनि ५० लाखको गाडीमा

त्यस्तै, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी पनि करिब ५० लाखको गाडीमा चढ्दै आएका छन्। उनले प्रयोग गर्ने स्कारपियो जिप ४९ लाख ६० हजार मूल्यको रहेको गाउँपालिकाले जनाएको छ। उपाध्यक्ष मिथिला शाहले भने पल्सर बाइक चढ्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए।

उनका अनुसार गाउँपालिकाले वडाध्यक्षहरूका लागि प्रतिमोटरसाइकल करिब २ लाख ५० हजार मूल्यका ७ वटा बाइक खरिद गरेको हो। गाउँपालिकाका ७ वटा वडामध्ये वडा नम्बर ७ का अध्यक्षले मोटरसाइकल फिर्ता गरेका र अन्य ६ वटा वडाध्यक्षहरूले मोटरसाइकल प्रयोग गर्दै आएको उनले बताए।

६१ लाखको जिप

त्यसैगरी, घोराही उपमहानगरपालिका प्रमुख मेयर नरुलाल चौधरीले प्रयोग गर्ने जिप ६१ लाख, उप मेयर सीता सिग्देल न्यौपानेले प्रयोग गरेको जिप ३५ लाख मूल्य र प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले ४० लाखको गाडी प्रयोग गर्दै आएको उपमहानगरपालिकाले जानकारी दिएको छ।  घोराही उपमहानगरपालिकाका वडा नम्वर ४, १०, १३, १४, १५, १७ ले सरकारी सवारीसाधन प्रयोग गरेका छैनन्।

अन्य १३ वटा वंडाहरू अध्यक्षहरूले मोटरसाइकल प्रयोग गरेका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बताए। उनका अनुसार छन।  प्रति मोटरसाइकल १ लाख ६८ हजार मूल्यका १६ वटा खरिद गर्दा २६ लाख ८८ हजार मूल्य परेको हो।

त्यसैगरी, बंगालाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली बोलेरो डबल ग्यापवाला साढे २३ लाख मूल्यको प्रयोग गर्दै आएका छन्, भने गाउँपालिकाकी उपाध्यक्षका लागि सुपर स्पिलेन्डर मोटरसाइकल २ लाख २५ हजार बराबरको खरिद गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त गाउँपालिकाका ८ वटा वडाध्यक्षहरूलाई प्रतिमोटरसाइकल २ लाख ५० हजार मूल्यबराबरको १५० सिसीको पल्सर मोटरसाइकल खरिद गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले बताए। तर, वडा नम्बर १ का वडा अध्यक्षले भने साबिकका गाविसले खरिद गरेको बाइक प्रयोग गरेका छन्।

त्यसैगरी, दंगीशरण गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ६० लाख बराबरको स्कारपियो एउटै गाडी प्रयोग गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासाकीय अधिकृत चन्द्रकान्त पौडेलले बताए।

जिल्ला र प्रदेशसम्म जान महँगा गाडी

साथै ७ वडाका वडाध्यक्षहरूलाई १५० सिसीको मोटरसाइकल प्रति २ लाख ४० हजार बराबरको खरिद गरेको उनले बताए। तर, गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले गाडीहरू आफ्नो सेवा सुविधाका लागि नभई जनप्रतिनिधिहरूले गाउँपालिकाको धेरै काम गर्नुपर्ने र  जिल्ला र प्रदेशसम्म पनि काम गर्न जानुपर्ने भएकाले गाडी प्रयोग गर्नु परेको  उनले बताए।  हिजो गा.वि.स हुदाँ मोटरसाईकल प्रयोग हुन्थ्यो, तर आज गाउँपालिका हुदाँ गाउँपालिकाले धेरै काम गर्नु पर्ने भएकाले गाडिहरू प्रयोग गरेको  हो, उनले भने।

यता, तुलसीपुर उपहानगरपालिका-९ का वडा अध्यक्ष घनश्याम ढकालले आफूले नगरपालिकाले दिएको बाइक नल्याएको बताए। उनले भने, 'गाडी तथा अन्य सेवासुविधा राजनीति संस्कार भएको मान्छेलाई उपयुक्त हुँदैन। हामी जनताको सेवा गर्न आएको हौँ, आज हामीले सवारीसाधन प्रयोग गरेर पनि ५ बर्षपछि त्यो छाडेर जानु पर्दछ।' सवारी लिँदा जनताले पनि नराम्रो सोच्ने भएकाले  आफूले निजी मोटरसाइल किस्तामा निकालेर प्रयोग गर्दै आएको उनको भनाइ छ।

दाङमा तुलसीपुर र घोराही गरी २ उपमहानगरपालिका,लमही नगरपालिका र ७ वटा गाउँपालिका छन्। अन्य स्थानीय तहमा पनि ठूलो रकम सवारीसाधन खरिदमा खर्च गरिएको छ। जनप्रतिनिधिहरूका लागि सवारीसाधन आबश्यक हो तर आर्थिक स्रोतको आँकलन नगरी जनताबाट उठाएको करबाट बढी मूल्यको सवारीसाधन खरिद गर्दा नागरिकहरूबाट उनीहरू आलोचित भएका छन्।

यता, नागरिकहरूले भने जनताको सेवाभन्दा पनि फेसनका रूपमा गाडीहरू लिएको तुलसीपुर-९ का मुक्तिप्रसाद न्यौपानेले बताए। उनले जनतालाई अति आवश्यक एम्बुलेन्स, दमकल जस्ता सवारीसाधन किन्नुपर्ने हो। तर, जनप्रतिनिधिहरूले आफ्नो घरमा गाडी थन्काएर सरकारी गाडी चढ्नु आफ्नो सेवा सुविधाको लागि मात्र भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.