|

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाका कृषकलाई टनेलमा लगाइएका कृषि उत्पादन बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने विश्वास नै लागेको थिएन्। यसअगाडि जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा पुगेर टनेलमा गरिएको खेतीको बारेमा अवलोकन गरेर टनेलमा राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो हुने भनी थाहा पाएकाहरूले भने टनेलको महत्त्व बुझेका थिए। तर, जसले टनेलको बारेमा जानेका थिएनन् उनीहरूलाई टनेलबाट आम्दानी गर्न सकिन्छ भन्ने विश्वास नै लागेको थिएन्।

गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउनुका साथै हरेक परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेर टनेलमा खेती कार्यक्रम ल्याएको थियो। तर, गाउँपालिकाको यो योजनालाई कतिपय कृषकहरूले विश्वास मानेन तर परीक्षणका लागि मात्र भए पनि टनेलमा खेती गर्न भने तयार भए। तीनै कृषकहरूले अहिले टनेलमा लगाइएका कृषि उत्पादन बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। उनीहरू आत्मनिर्भर पनि बनेका छन्। अहिले घरघरमा टनेलको माग बढेको छ। हरेक घरमा टनेल देख्न पाइन्छ।

पहिले टनेलमा विश्वास नै नमानेका कृषकहरू अहिले थप उत्पादनको लागि नयाँ टनेलको माग गरिरहेका छन्। ‘सुरुमा कृषकहरूले टनेलमा गरिने खेतीको महत्त्वको बारेमा जानकारी पाउनुभएको थिएन्’ गाउँपालिकाका प्रवक्ता जिवनविक्रम उचैले भने, ‘गाउँपालिकाले पेलेरै भए पनि कृषकहरूलाई टनेल प्रयोग गर्न उत्प्रेरित गरेको थियो, अहिले कृषकहरूको माग बढेकाले टनेल पुर्‍याउन नै सकिएको छैन।’

महाशिलाका विभिन्न वडामा उत्पादन भइरहेको तरकारी तथा अन्य नगदे बालीले अहिले जिल्लाभित्र त भइहाल्यो बाहिर पोखरा र स्याङ्जा जिल्लाको बजार पनि पाएका छन्। गाउँपालिकाले परीक्षणका रूपमा पहिलो वर्षमा ४ सय थान टनेल वितरण गरेको थियो। अहिले तिनै टनेलहरू निर्माण गरिएका पाखापानी, फलामखानी, काउले, लुंखु लगायतका ठाउँमा कृषकहरू पूर्ण व्यावसायिक बनेका छन्।

कृषकहरूले व्यावसायिक रूपमा उत्पादन गरेपछि गत आर्थिक वर्षमा झन्डै ८ सय थान टनेल वितरण गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि सोही परिमाणमा टनेल वितरण गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए। उनका अनुसार अहिले पालिकाभित्रका झण्डै दुई सय परिवारले व्यावसायिक रूपमा तरकारी उत्पादन गरी निर्यात गर्दै आएका छन्।

‘हामीलाई त विश्वास थियो, यो योजना सफल हुन्छ। तर सुरुमा कृषकहरूले त्यति महत्व बुझ्नुभएको थिएन्’ उनले भने, ‘अहिले कृषकको माग धान्न सकिएको छैन, त्यसैले टनेल वितरण कार्यक्रमलाई चरणबद्ध रूपमा अगाडि बढाएका छौँ।’

गाउँको अर्को छिमेकीको घरमा रहेको टनेलले व्यावसायिक सफलता दिएपछि त्यसको सिको गर्दै टनेल खोज्ने किसानहरू धेरै छन्। ‘पहिले टनेल पाउँदा पनि वास्ता गरिएन, छिमेकी काकाको घरमा टनेलले राम्रै भएको देखियो। यस वर्ष वडामा भनेर एउटा भए पनि टनेल हाल्ने विचार गरेको छु’ कृषक रामहरि शर्माले भने, ‘पहिले यसको महत्व   नबुझेर रहेछ। अघिल्लै वर्ष टनेल हाल्न पाएको भए अहिलेसम्म राम्रो उत्पादन भइसक्ने रहेछ।’

तरकारी उत्पादन कार्यक्रमप्रति आकर्षित कृषकहरूले बेमौसमी बन्दा, रायो, काउली, गोलभेँडा, सिमी लगायतका तरकारी फलाउने गरेका छन्। गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका झण्डै ८ सय परिवारमा व्यावसायिक तरकारी खेती कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ। चालु आर्थिक वर्षका लागि टनेल निर्माणसहित तरकारी उत्पादनको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको तथा स्वयंसेवक कार्यक्रममार्फत तयार पारिएका २० जना प्राविधिकहरूले हरेक कृषकलाई सघाउने गाउँपालिकाका प्रवक्ता उचैको भनाई छ।

गाउँपालिकाले एकै प्रकारको तरकारी उत्पादन गर्दा बजार पाउन समस्या हुने भएकाले किसानको समूह गठन गरेर बालीमा चक्रीय प्रणाली अपनाउन सुझाएको छ। एक समूहमा दश जना कृषकहरूलाई सदस्य बनाएर फरक फरक समूहले फरक फरक तरकारी उत्पादन गर्ने गरी कृषकहरूलाई प्रेरित गरिएको छ। यसकै कारण पनि उत्पादित बस्तुले बजार पाएको कृषकहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.