|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश पुग्ने जोसुकैले घोडाघोडी तालको मनोरम दृश्य हेर्न र क्यामरामा कैद गर्न पछि पर्दैनन्। 

पूर्व-पश्चिम राजमार्ग छेउमै रहेको घोडाघोडी ताल आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्दै आएको छ। भौगोलिक, पर्यावरणीय एवं आर्थिक सामाजिक हिसाबले फरक विशेषता भएको ताल मध्ये घोडाघोडी पर्दछ। 

कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रको गौरवको रूपमा रहेको ताल क्षेत्र सिमसार महासन्धि रामसारमा सूचीकृत भइसकेको छ। यस ताललाई उष्ण पतझर वनले घेरेको छ। नेपालको तराई क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको प्राकृतिक जलभण्डारणको रूपमा रहेको यस तालको वरिपरि थप १९ वटा साना ठूला प्राकृतिक तालहरू रहेका छन्। 

घोडाघोडी ताल क्षेत्र जैविक विविधताको दृष्टिकोणले धनि हुनुका साथै अन्तर्राष्ट्रिय हिसाबले ठूलो महत्व रहेको धेरै जलचर प्राणी तथा वनस्पति प्रजातिको महत्वपूर्ण बास स्थानका रुपमा समेत रहेको छ। यस क्षेत्रका वन तथा सिमसार क्षेत्रले तराई र चुरे क्षेत्रसँग जोड्ने जैविक मार्गको रुपमा कार्य समेत गरेको छ। 

घोडाघोडी ताल नामकरण कसरी भयो?  

सत्ययुगको अन्तिम चरणतिर एक दिन लक्ष्मी भगवतीले उच्चै श्रवा घोडामाथि सवार आफ्नो भाइ रेवन्तकलाई एक तेजस्वी पुरुषको रुपमा बैकुण्ठधामतिर आउदै गरेरको देखेर अत्यन्त कौतुहल मनस्थीतिमा एकहोरो नजर गरी हेर्दा  भगवान बिष्णुलाई सही नसक्नु क्रोध उत्पन्नभै घोडासवार पुरुषमा आसक्ति दृष्टि प्रक्षपण गर्‍याे।
त्यसैप्रकारले मृत्युलोकमा गइ घोडीको रुपमा धारण गर्नु परोस्  भनी भगवती लक्ष्मीलाई श्राप दिनु भएको धार्मिक मान्यता रहेको छ। 

घोडीको रुप धारण गरी लक्ष्मी तालमा आउनु भएपछि केही समय पश्चात बिष्णु भगवान समेत घोडाको रुप धारण गरी आउनु भएकाले यस ताललाई घोडाघोडी भन्न थालिएको बताइन्छ। स्थानीय थारु भाषमा यस ताललाई त्यसै बेलादेखि घोरीघोरा ताल भन्न थालिएको हो। हाल आएर घोराघोरी ताललाई घोडाघोडी र धार्मिक क्षेत्रलाई लक्ष्मीनारायण धाम भन्न थालिएको भनाई रहेको छ। 

तालको भौगोलिक अवस्था 

पूर्व पश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिव ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाको घोडाघोडी नगरपालिको सीमानामा रहेको छ। ताल समुन्द्रि सतह देखि २०५ मिटरको उचाइमा रहेको छ। करिव ४ मिटर औषत गहिराई भएको तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। ताल १९ वटा औला भएको हत्केला आकारको रहेको छ।

 घोडाघोडी ताल आसपासमा रहेका अन्य १९ वटा स साना तालै तालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर रहेको छ। यसको कुल क्षेत्रफल २५६३ हेक्टर रहेको छ।
 हवाई दृश्य बाट अबलोकन गर्दा एउटा तालको सीन टुंगिन नपाउँदै अर्को ताल शुरु हुने हुनाले तालै तालको मालझै यो क्षेत्र देखिने गरेको छ। ताल क्षेत्रमा दुलर्भ प्रजातिका चराचुरुङीले विचरण गर्ने संरक्षित क्षेत्रका रुपमा रहेको छ। 

संकटपूर्ण अवस्थामा पुगेका दर्जनौं माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङीलाई यस तालले संरक्षण दिएको छ। यस क्षेत्रमा ४५० भन्दा बढी प्रजातीका वनस्पती,३१ प्रजातिका माछा, २२६ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातीका घोंघी र सुतही, ७ प्रजातिका घस्रने जिवजन्तु, सतिसाल, साज, खयर लगायतको वनस्पति यस क्षेत्रमा पाइने गरेको छ। 

तालको धार्मिक महत्व 

घोडाघोडी तालको दक्षिण पश्चिममा राजमार्ग किनारामा घोडाघोडी बाबाको प्रसिद्ध मन्दिर रहेको छ। यस मन्दिरमा विवाह पञ्चमीको दिन स्थानीय थारु समुदायले धुमधाम सँग पूजा गर्ने गर्दछन। यस बेला मन्दिरमा परेवा, हाँस, कुखुरा, बोका र बंगरको बलि चढाइने गरिन्छ। मन्दिरमा पुजारीका रुपमा थारु समुदायकै व्यक्ति रहने गर्दछन।

 ल्वाङ्गी पूजा, मोहन्याल पूजा, कृष्णाअष्टमी, माघे संक्रान्ति, शिवरात्री विवाह पञ्चमीका दिन यो क्षेत्रमा ठूला धार्मिक मेला लाग्दछन। यस क्षेत्रमा सिताकुण्ड अर्को ठुलो धार्मिक क्षेत्रका रुपमा रहेको छ। यस क्षेत्रमा कोटीहोम लगायतका धार्मिक अनुष्ठानहरू गर्ने चलन रहेको छ।

घोडाघोडी ताल छेउमा भगवान शिवको मन्दिरका कारण यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रुपमा रहेको छ। यस क्षेत्रमै संस्कृत विद्यालय समेत सञ्चालनमा रहेको छ। 

तालको प्राकृतिक स्राेतको उपयोग 

घोडाघोडी तालको पानी कौवा गाउँ र घोडाघोडी गाउँको करिब २०० हेक्टर कृषि भूमिमा सुख्खायाममा सिँचाइका लागि प्रयोग गरिन्छ। घोडाघोडी ताल र नकरोडी तालहरूवाहेक अन्य स साना तालमा माछापालनको सुरुवात समेत गरिएको छ। ताल क्षेत्र नजिकको वनले गाइवस्तुको चरन क्षेत्र काठदाउरा र घाँसपात प्रदान गर्दछ। 

तालमै गोही र आगन्तुक चरा प्रजनन् केन्द्र

नेपालमै संकटापन्न अवस्थमा पुगेको सुतही, मगरगोहीको संरक्षण गर्नका लागि तालको मध्य भागमा गोही प्रजनन् केन्द्र स्थापना गरिएको छ। हिउँदमा चिसो छल्न साइवेरिया लगायतका क्षेत्रबाट आउने आगन्तुक र स्थानीय चराको  प्रजनन् कार्यक लागि ताल छेउमा चरा प्रजनन् केन्द्र निर्माण गरिएको छ। तालसहित वन क्षेत्र र चरा, गोही माछा लगायतको संरक्षणका लागि घोडाघोडी संरक्षण तथा जनजागरण मञ्च नेपाल नामक संस्थाले लामो समयदेखि कार्य गर्दै आएको छ। 

पर्यटकलाई सुविधा 

आन्तरिक तथा बाह्य पर्यटकलाई ताल क्षेत्रमा घुम्नका लागि डुंगाको व्यवस्था गरिएको छ। पर्यटकलाई थारु समुदायका मौलिक परिकार खान पाउने व्यवस्था समेत गरिएको छ। ताल क्षेत्रदेखि करिव ५०० मिटरको दूरीमा रहेको भालुफाँटा र मैतुहवा गाउँमा थारु खाजा घर तथा माघी गाउँमा होम स्टे सञ्चालन गरिएको छ।

घोडा घोडी तालनजिकैको अजुवा तालमा डुंगा सयर गर्न का लागि सिंगारिएको छ। तालको दृश्यावलोकनका लागि वाच टावर र पदमार्ग समेत निर्माण गरिएको छ।  
घोडाघोडी नगरपालिकाले तालको गुरुयोजना बनाई विकास गर्नका लागि हालसम्म दुई करोड बढी रकम खर्चेका छन।

तालका लागि खर्चिएको रकम प्रभावकारी हुन नसेकेको मञ्चका अध्यक्ष दिपेन्द्र शाहीले बताए। ताल क्षेत्रमा प्लाष्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्सहित कार्य अगाडि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.