|

विराटनगर : प्रदेश १ को राजधानी विराटनगर अस्तव्यस्त छ। हिलैहिलो रहेको विराटनगरमा जथाभावी टाँगिएका तारले झनै अस्तव्यस्त बनाएको छ। जथाभावी छाडिएका चौपायाले सडक बेहाल बनेको छ।

टेलिकमका तार जथाभावी काटिएको छन्। तार सडकभरी छरिका छन्। ताजतै निर्माणका लागि खनिएका सडक र नाली निर्माण भए पनि अस्तव्यस्त छाडिएका निर्माण सामाग्रीले विराटनगरको मुख्य बजार क्षेत्रकै सडकहरुमा यति बेला हिँड्ने अवस्था छैन।

हस्पिटल चोकदेखि राष्ट्र बैंकसम्मको लगभग ४०० मिटर सडक अस्तव्यस्त छ। यसै सडकको बीचमा हस्पिटल, प्रदेशसभा भवन, सामाजिक विकास मन्त्रालयलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने अन्य निकायका कार्यालयहरु पनि रहेका छन्। 

त्यस्तै, तीनपैनी चोकदेखि बञ्जारा चोकसम्मको ५०० मिटर सडक, ट्राफिक चोकदेखि जनआन्दोलन चौकसम्मको २५० मिटर, देवकोटा चोक परिवारनियोजन हुँदै टेलिकम कार्यालयसम्म र जलजला मोडदेखि ग्रीनक्रस अस्पतालसम्मका सडक खनेर छाडिएका छन्।

नाली तथा सडक निर्माणको काम सुरु गरेको लामो समय भए पनि काम सम्पन्न नहुँदा आवतजावतमा सकस हुने गरेको नगर टोल विकास संस्थाका अध्यक्ष राजेश मास्केले बताए। नालीमा ढक्कन नहुँदा ठोस फोहोर त्यहाँ फालिएका छन्। जसका कारण नालीमा पानीको निकास बन्द भएको छ। ‘जनप्रतिनिधिहरु गर्दैछौं भन्छन् तर बोलेको जस्तो काम गर्दैनन्,’ उनले भने, ‘वर्षात सुरु हुनुअघि नै निर्माण भइसकेका नालीहरु फोहोरले जाम भएका छन् सफा गर्नुपर्छ, ढक्कन लाउनुपर्छ भन्दा गर्दैछौं भने तर अहिलेसम्म यस्तै छ।’

सडक, नाली निर्माणको काम समयमै सम्पन्न नहुँदा अस्तव्यस्त बनेको महानगरमा ट्राफिक व्यवस्थापन, पार्किङको समस्या, फोहोरमैला राम्रो व्यवस्थापन नहुँदा र विजुलीका पोल र जथाभावी झुन्डिएका बिजुलीका तारहरुले नगर थप कुरुप बनेको नागरिक अगुवा उत्तम ढुङ्गेल बताउँछन्। 

‘समयमै काम सम्पन्न नहुँदा र बैकल्पिक मार्गको व्यवस्थापन नगरी निर्माण भइरहेका सडकले जनाताको विजोग त छँदैछ,’ उनले भने, ‘योसँगै छाडा चौपाया, भुस्याहा कुकुर, सुँगुर बजार बजार कुद्छन् ।’ सुँगुर र भुस्याहा कुकुरले विहान विहान मर्निङ वाक गर्ने नागरिकलाई समेत हैरान बनाएको उनले गुनासो गरे। 

क्षेत्रीय शहरी विकास परियोजना अन्तरगत निर्माण सुरु गरिएको सडक, नाला र ढल निर्माणको काम ७० प्रतिशत सकिएको परियोजनाका इन्जिनियर घनश्याम काफ्लेले बताए। वर्षातका कारण अहिले काम केही सुस्त भएको भए पनि वर्षात रोकिएसँगै धमाधम काम सुरु गरिने उनको भनाइ छ। 

परियोजनाअन्तर्गत विराटनगरमा २० किलोमिटर ढल निर्माण, ७३ किलोमिटर सडक कालोपत्रे र रोडसाइडको नाली २६ किलो मिटर निर्माण गरिने छ। जसमध्ये हालसम्म १७ दशमलव ८ किलो मिटर ढल निर्माण भइसकेको र अब २ दशमलव २ किलोमिटर निर्माण गर्न बाँकी रहेको परियोजनाले जनाएको छ।

त्यस्तै, ३४ किलोमिटर सडक कालोपत्रे भइसकेको र अब ३९ किलोमिटर सडकको काम बाँकी छ भने २६ किलो मिटर रोडसाइडको नाली निर्माण गर्ने भनिएकोमा २७ किलो मिटर निर्माण भइसकेको इन्जिनियर काफ्लेले बताए । थप ३० किलोमिटर नाली निर्माण गर्नुपर्ने देखिएको उनले जानकारी दिए। 

निर्माणाधीन अवस्थामा रहेका ढल, नाला र सडक काम सम्पन्न भएपछि विराटनगरको मुहारमा केही परिवर्तन आउँला तर छाडा चौपाया, अव्यवस्थित पार्किङ, ट्राफिक जाम, फोहोरमैलाको उचित व्यवस्थापन नहुँदासम्म  सुन्दर सहर बन्न नसक्ने नागरिक अगुवा उत्तम ढुङ्गेल बताउँछन्। महानगरपालिकाका प्रमुख भीम पराजुलीले विभिन्न सार्वजनिक फोरमहरुमा निर्माणाधीन अवस्थामा रहेका कारण समस्या हुनु स्वभाविक भएको बताउँदै आएका छन्। निर्माण भइरहेका सडक, नाली र ढल निर्माणको काम छिटो सम्पन्न गर्न आफुहरुले पहल गरिरहेको उनको भनाइ छ। 

टेलिकमका लाइन जथाभावी काटिए 

विराटनगर महानगरपालिकाभित्रै अहिले झण्डै १ हजार ६०० टेलिफोन लाइन अवरुद्ध छन्। सडक निर्माणका क्रममा अवरुद्ध बनेको नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोनको लाइन ६ महिना बितिसक्दा पनि नबनेको विराटनगर-९ स्थित सहकारीमार्गका पञ्चकन्या प्रिन्टर्सका सञ्चालक लव घिमिरेले बताए। लाइन अवरुद्ध भए पनि टेलिकमलाई बुझाउनुपर्ने न्युनतम शुल्क २५५ रुपैयाँ भने मासिकरुपमा तिर्नु परिरहेको घिमिरेले गुनासो गरे। प्रायजसो सबैको हातमा मोबाइल फोन भए पनि कार्यालयको काममा ल्याण्डलाइन फोन नै प्रयोग गर्ने गरेको घिमिरेले बताए। 

टेलिकमका तारहरु जमिनमुनि हुने हुँदा तार काटिएमा मर्मत गर्न झन्झटिलो हुने भएकाले लामो समयसम्म सेवाग्राहीहरु सेवाबाट बञ्चित छन्। विकास निर्माणका कारण सेवा अवरुद्ध हुँदा टेलिकमको विराटनगर शाखा पनि हैरान बनेको छ। एउटै सडकमा पटक पटक डोजर चलाउँदा थप समस्या हुने गरेको नेपाल टेलिकम विराटनगर शाखा कार्यालयका सूचना अधिकारी पशुपति सुवेदीले बताए। एउटै सडकमा कहिले नाली बनाउन त कहिले सडकभन्दा नाला होचो भयो भन्दै फेरि बढाउन खनिने हुँदा थप हैरानी व्यहोर्नु परेको उनको भनाइ छ। 

विराटनगर शाखाबाट विराटनगरमा ८ हजार ८५७, रानी शाखाबाट ६१५, रोडशेषबाट १ हजार ८८२, टंकीसिनुवारीबाट १ हजार ५८ र तीनपैनीबाट २ हजार ८७९ वटा टेलिफोन लाइन सञ्चालनमा छन्। त्यसमध्ये हाल विराटनगरको ट्राफिक चोकमा रहेको ४ नम्बर क्याबिनेटका १५०, महेन्द्र चोकका ७० र ७१ नम्बर क्याबिनेटका साढे ३००, महेन्द्र चोककै २२ र ३४ क्याबिनेटका २०० भन्दा बढी लाइन र हाटखोलाको २५, २६, ८३, ८५ र ५५ क्याबिनेटको झण्डै साढे ९०० लाइन विकास निर्माणकै कारण अवरुद्ध बनेको सूचना अधिकारी सुवेदीले जानकारी दिए।

निर्माण कम्पनीहरुलेले टेलिकमसँग समन्वय नगरी खनिदिँदा धेरै क्षति भइरहेको सुवेदीको भनाइ छ। विकास निर्माणका क्रममा डोजरले तार काटेर हैरान बनेको नेपाल टेलिकमले सम्बन्धित ठेकेदार र महानगरपालिकासँग न त क्षतिपूर्ति लिन्छ न त मर्मत नै गर्न लगाउँछ । सँगैका विद्युत प्राधिकरण र खानेपानी संस्थानहरुले निर्माणका क्रममा सेवा अवरुद्ध बनेमा त्यसको मर्मतको काम सम्बन्धित पक्षलाई गराउँछ। 

विराटनगरमा सडक, ढल र नाली निर्माणको काम भइरहेको धेरै वर्ष भइसकेको बताउँदै खानेपानी संस्थान विराटनगर वितरण कार्यालयका प्रमुख शैलेन्द्र साहले भत्केका जति सबै पाइप बनाउन नसक्ने भएकाले ठेकेदार कम्पनीले नै बनाउनुपर्छ भनेर सरोकारवाला सबैसँग छलफल गरेर निर्णय नै भएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.