बनिनसक्दै भत्किन थाल्यो, धमाधम टाल्दै ठेकेदार

|

इटहरी : आर्थिक वर्ष २०६९/७० मा विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्मको सडक ३० मिटर चौडा पार्ने गरि काम सुरु गरियो। ३० मिटर अर्थात् ६ लेन बनाउने भनिएको सडक परियोजना ७ वर्ष (आर्थिक वर्ष २०७५/७६) मै तयार हुने अनुमान थियो। 

अहिले ३४ किलोमिटर सडकका लागि १४ चरणमा ठेक्का लगाएर काम भइरहेको छ। त्यसमध्ये १२ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ।  आयोजना समयमै सम्पन्‍न नहुनुमा प्रमुख समस्या सडक चौडाईमा देखिएको फरक मापदण्ड हो। सडकखण्डको विभिन्‍न ठाउँमा सडकको चौडाईमा एकरुपता छैन। त्यहीकारण सडकको कामले गति लिन नसकेको हो।

१० अर्ब ९८ करोडको लागत अनुमान गरिएको राष्ट्रिय राजमार्गको चौडाई एकरुपता नहुँदा निर्माणमा समस्या भएको हो। वि.सं. २०१६ सालमा बेलायती सरकारको सहयोगमा ३० मिटरको चौडाईको रानी–धरान सडक बनेको थियो। २०२१ सालमा जारी भएको राजमार्ग (निर्माण व्यवस्था) ऐनले २५÷२५ गजसहितको सडक सीमालाई अद्यावधिक गरेको थियो।

२०२१ साल फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडकको बीच भागबाट दायाँबायाँ २५ र २५ गज १५ दिन भित्र सडक अधिकार क्षेत्र भित्र पर्ने भनी जारी भयो। तर राजपत्रमा सीमा जारी भए पनि व्यक्तिगत जग्गा भने सरकारको नाममा ल्याइएको थिएन।

सडकको क्षेत्र अधिकार भित्र दायाँबायाँ २५/२५ मिटर नछोडेपछि पुन २०३४ सालमा पनि राजपत्रमा सूचना जारी गरेको देखिन्छ। तर पहिलो पटककै जस्तो पुन सरकारले सडक भित्र पर्ने निजी जग्गाको कित्ताकाट भने गरेन।

बहुदल आएपछि मनपरी

बहुदलीय व्यवस्था आएपछि राजनीतिक स्वार्थमा सडकको क्षेत्र कम बनाएको देखिन्छ। तत्कालीन सरकारले मुआब्जा दिएर वा सार्वजनिक अपिल गरेर सडकको क्षेत्र बढाउनु पर्नेमा ‘पपुलिस्ट’ हुने बहानामा सडकको क्षेत्र झन् झन् साँघुरो बनाएका थिए।

बहुदल आएपछि तत्कालीन कोइराला परिवारको गृहनगर विराटनगरबाट सडकको क्षेत्र कानुनी रूपमै मिच्न सुरु गरिएको देखिन्छ। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले २०४८ साल वैशाख ११ गते राजपत्रमा सूचना जारी गर्दै विराटनगरमा सडकको दुवै तपÞर्m १५÷१५ मिटर मात्रै तय गर्‍यो।

दुहबीमा साँघुरो

शक्ति केन्द्रको चलखेल भएपछि यो सडकले ३० मिटर चौडाईको एक रुपता नपाउने भएको छ। सबैभन्दा साँघुरो दुहबी बजारको करिब ६ सय ४० मिटर क्षेत्रमा बजारमा १६ दशमलव ३ मिटरको मात्रै चौडाई हुनेछ।

विराटनगरपछि बाटोको क्षेत्राधिकार घटाउने काम २०५४ सालमा यो क्रम दुहबीमा भयो। जुन विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र हो। सूर्यबहादुर थापा प्रधानमन्त्री भएको मन्त्रिपरिसदमा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए। त्यहीबेला मन्त्रिपरिषद् निर्णयले २०५४ चैत ३ गते राजपत्रमा सूचना जारी गर्दै दुहबी क्षेत्रमा ८.१५ दाया र ८.१५ मिटर बायाँ मात्र कायम गरियो।

राजनीतिक पावरमा ‘बाइपास’ को प्रपञ्च

धरानको तीनकुनेसम्म ६ लेन सडक तीनकुनेबाट धरान बजार हुँदै लाने कि सेउति किनार हुँदै बाइपास गर्ने भन्ने विवाद भएको छ। धरान बजारमा ७ मिटर चौडाइमै टाँसिएर थुप्रै घरहरू बनेका छन्।

६ लेनको बाटो बनाउँदा मापदण्ड अनुसार बजारक्षेत्रका अधिकांश घरहरू भत्किन्छन्। सडकको क्षेत्राधिकार भित्र घर पर्ने घरधनीले बाइपास सडकको पक्षमा लबिङ गर्दै आएका छन्। 

यता सेउती किनारबाट बाइपास सडक बनाउँदा स्थानीय सुकुम्वासी विस्थापित हुने भएपछि त्यसमा पनि विवाद छ। २०७३ वैशाख १७ गते चुनावी भाषणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा बाइपास सडकको प्रसङ्ग निकालेका थिए। बाइपासबारे प्रधानमन्त्रीले नै बोलेकाले यसका समर्थकहरू अहिले चलखेलमा लागेका छन्।

इटहरी सबैभन्दा फराकिलो

२०४८ वैशाख १३ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार विराटनगरको सडक सेन्टर लाइनबाट १५ मिटर दुवैतर्फ फैलिने छ। राजपत्रको सूचना अनुसार विराटनगरको सडक भने ३० मिटरको मात्र हुनेछ। 

इटहरीमा भने राजमार्गको आवश्यक सडकको मध्यलाइनबाट दुवै तिर २५/२५ मिटर कायम हुने गरि सडक बन्ने रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी गौतम देवले बताए।

देवका अनुसार रानी–धरान ६ लेनको ४९ किलोमिटर क्षेत्रमा हाल ३२.६४ किलोमिटरमा काम भइरहेको छ। दुहबीको बुढी खोला पुल बाहेक विभिन्न चौध खण्ड बनाएर निर्माण भइरहेको छ। इटहरीदेखि तरहरासम्म दुईखण्डमा काम भइरहेको देवले बताए। 

इटहरीदेखि आपगाँछी यातायात कार्यालयसम्म र यातायात कार्यालयदेखि तरहरासम्म दुईखण्डमा काम भइरहेको हो। 

बनिनसक्दै भत्किँदै

आयोजना अन्तर्गत इटहरी–धरान ६ लेन सडकण्ड निमार्णको काम सकिनै नपाइ भत्किन थालेको छ। केही समय अगाडि कालोपत्रे गरिएको सडकमा खाल्डा देखिन थालेका छन्। हाल सडक विस्तारको काम मौसमको कारण स्थगित गरिएको आयोजनाको कार्यालयले जानकारी दिएको छ। 

आशीष–सन्तोषी लुम्बिनी जेभीलेले बनाइरहेको तरहरादेखि इटहरीसम्मको ३ किलोमिटर सडक धेरै ठाउँमा भत्किएको देखिन्छ। सडकमा खाल्डा देखिन थालेपछि सिमेन्ट र बालुवाले टाल्न थालिएको छ। 

२०७४ कार्तिकदेखि काम सुरु भएको यो सडकखण्ड कमसल देखिएको हो। निर्माण कम्पनीका सञ्चालक राजेश बोहराले सडक नभत्केको दाबी गर्दै परीक्षणका लागि केही स्थानमा प्वाल पारिएको बताए।

तर बोहराले भने जस्तो परीक्षणका लागि प्वाल परिएको भन्दा ठूला खाल्डा परेको देखिन्छ। आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा पनि निर्माण भएपछि टेस्ट गर्न सानो प्वाल पारिएको हुन सक्ने बताउँछन्। ‘यत्तिकैमा बोल्न सकिँदैन,’ उनले भने ‘केही दिनमा अनुगमनमा जान्छौँ। अनि मात्रै आधिकारिक जानकारी दिन सक्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.