|

दमक : मायाको शक्ति कति हुन्छ भनेर भारत पश्चिम बंगालस्थित जलपाइगुडीका अमल राय र धनकुटा कुरेलीकी मेनुका ढुंगानाको जीवन हेरे पुग्छ। भाषा, संस्कृति, परिवार र देशलाई नै उछिनेर उनीहरूको प्रेमको जीत भएको छ।

अमलले नेपाललाई कर्मथलो बनाएको तीन दशक हुन लाग्यो। किशोरावस्थामा नै नेपाल आएका उनलाई अब त यस्तो भइसक्यो कि, चाहेर पनि नेपाल छोड्न सक्दैनन्। पुर्ख्यौली पेशा खेती किसानी नै थियो। तर, उनले सिके वेतबाट विभिन्न समान बनाउने कला।

त्यही कलाले दिएको हिम्मतले नेपाल छिरेका उनले विभिन्न सहरलाई कार्यक्षेत्र बनाए। आफ्नो कलालाई व्यावसायिक बनाए। जिउने आधार बनाए। एक दशक धरानमा बिताएका उनी व्यवसायकै दौरानमा विराटनगर, वुटवल, भैरहवालगायतका सहरमा पनि बिताएका छन्। तर, धरानले यस्तो उपहार दियो कि उनलाई, जीवनलेनै नयाँ मोड लियो।

परिवारसँगै जोडियो संस्कृति

धरानमा उनी व्यवसाय गर्थे। धनकुटा कुरुलेकी मेनुका ढुंगाना पनि त्यहीँ थिइन्। अध्ययनको शिलशिलामा धरान आएकी मेनुका र अमलको भाषा, भूगोल, र जीवनशैली मात्र फरक थिएन। राष्ट्रियता नै अलग थियो। तर, कुनै पनि विभेदले छेक्न सकेन उनीहरूको प्रेमलाई। मायाले जोड्यो दुई मन र दुई मनले जोड्यो दुई भूगोल। अनि बन्यो एक परिवार।

फरक राष्ट्रियता, भाषा, परिभेष गाह्रो भएन?

दमक–६ मा ८ वर्षदेखि बेतबाँसको समान बनाउने व्यवसाय गर्दै आएका अमल भन्छन् - ‘किन भएन, भयो नि। तर समयले सबं कुरा सहज बनाइ सकेको छ।’

२०६८ सालमा विवाह गरेको केही वर्षपछि छोरी अन्नेताको जन्म भयो। अनि त झनै जोडियो दुई भिन्न भूगोल, राष्ट्रियता र भाषाले टाढा बनाएको परिवार।

‘मलाई पहाड खुब रमाइलो लाग्छ, बेलाबेला ससुराली पनि जाने गरेको छु’ आफैँले बनाएको बेतको कुर्सीमा रङ धस्दै गर्दा उनको अनुहार उज्यालो भयो। थपे–‘उता मेरो घरमा पनि नातिनीले गर्दा नेपाली बुझ्ने हुनु भएको छ, अब भाषाको पनि कुनै समस्या छैन।’

कामको बाँडफाँड

मेनुका परिवार व्यवस्थापन गर्छिन। २ कक्षामा वोर्डिङ स्कुल पढ्दै गरेकी छोरीलाई पुर्‍याएर पसलमा आई पुगेकी उनले भनिन् - ‘व्यवसाय उहाँले नै हेर्नु हुन्छ, म चाँही परिवार हेर्छु।’

कुनै योजनाबिनै सिकेको सीपले अहिले अमललाई मध्यम स्तरको जीवन जिउने आधार दिएको छ भने दुई भिन्न परिभेष जोड्ने आधार पनि बनाएको छ। उनको व्यवसायको लागि चाहिने बेत सबै भारतबाट आउँछ।

नेपालको जंगलतिर देखे पनि व्यवसायीक रूपमा आफूसम्म आई नपुगेकाले भारतबाट ल्याउनु परेको उनी सुनाउँछन्। भारतको मेघालय, आसाम हुँदै सिलगुडी आइपुगेको रायडन, फेक्रे, पुतली, कुखुरे, पानी, गौरी लगायतका नामका बेतबाट उनी कोक्रो, कुर्सी, फूलदानी, र्‍याक, विभिन्न सजावटका समान बनाउँछन्।

कोक्रो ३ देखि १८ हजार रुपैयाँसम्ममा बेचेका छन्। कुर्सी त २ हजारदेखि १ लाख रुपैयाँसम्मको पनि हुन्छ। यहि व्यवसायबाट अहिले खुसीसाथ परिवार चलिरहेको अमलले अनुभव सुनाए।

'एके फोर्टी सेभेन'को त्रास

कामकै दौरानमा उनले बेतबाटै एके फोर्टी सेभेन बन्दुकको ‘डमी’ पनि बनाएका छन्। शुरुमा त खेलौनाको रुपमा मानिसले किन्छन् र बिक्री गरौँला भन्ने उनलाई आशा थियो। नभन्दै बनाई सकेर पसलमा राख्न साथ धेरैले त्यसलाई रुचाए पनि। पछि उनको मन आफैँ घुर्‍यो, जति मूल्य आए पनि नबेच्ने वाचा गरे।

‘पहिले त बनाई हालियो, किन्ने मान्छेहरू पनि आइरहन्छन्’ उनले नबेच्नुको कारण खुलाए- ‘सबको मन कहाँ एकनासको हुन्छ छ, कसैले यसलाई दुरुपयोग गरि अपराध गर्‍यो भने त त्यो मान्छे पक्राउ खान्छ, पक्राउ खाए पछि बन्दुक किनेको ठाउँ पनि बताउँछ अनि त्यस पछि त म फसिन?’

यही त्रासका कारण उनले अब त्यस प्रकारको बन्दुक नबनाउने र बनाएको पनि नबेच्ने प्रण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.