|

डडेल्धुरा : ‘कि त जोत हलो, कि त छोड थलो, यदी होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गरेका विद्रोही किसान नेता भीमदत्त पन्तलाई तत्कालीन शासकले फाँसीमा चढाएको ६७ वर्ष पुगेको छ। पन्तको ६७ औँ स्मृति दिवस शुक्रबार मनाइँदैछ। सोही सम्झनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउँदै आएको छ। 

खासगरी किसान क्षेत्रका कार्यरत संघरसंस्था र राजनीतिक संगठनहरूले शहीद पन्तलाई सम्झिन्छन्, यो पनि मात्र औपचारिकताका लागि। भीमदत्त नेतृत्वको क्रान्तिको असामयिक अवसान भएको ६७ वर्ष लाग्दासम्म पनि पन्तका आधारभूत सिद्धान्तलाई कसैले अर्थपूर्ण रुपमा अगाल्न सकेको देखिँदैन।

नेपाली किसान आन्दोलनका शहीद हुन् भीमदत्त। अहिले उनको योगदानलाई उपेक्षा गरिएको छ। देशमा तीन तहका सरकार छन्। तर, भीमदत्तलाई कुनै पनि सरकारले हेरेको पाइँदैन। भूमिको स्वामित्व र उपयोगका लागि किसान नेता पन्तले थालेका कदमले हालसम्म पनि पूर्णता पाउन सकेका छैनन्।

प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि वि.स.२०७२ फागुन १९ गते बुधबारका दिन मात्रै तल्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।

को थिए भीमदत्त?

डडेल्धुरा सदरमुकाम अमरगढीबाट १ किलोमिटर दक्षिणमा पर्ने तत्कालीन घटाल गाविस २ (हाल अमरगढी नगरपालिका २) कारीगाउँमा विक्रम सम्वत् १९८३ मंसिर १० गते जन्मेका थिए भीमदत्त। पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन्। क्रान्तिकारी योद्दा भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा विक्रम सम्वत् २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो।

उत्तर प्रदेश भारतको सिन्हाइबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो। सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त पन्त नै थिए।

‘ठालु खान्ना आलु गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो। ‘जसको जोत उसको पोत, किसान जिन्दावाद-जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो– यदी होइन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे।

कसरी आन्दोलनको शुरुवात गरे?

अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे। त्यस बेला उनलाइ भीम दत्त कांग्रेस भन्ने गरिन्थ्यो। अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरू डराउँथे। कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा कांग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो। 

कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा कांग्रेस पसोस् भन्ने पनि चलन थियो। गरीब दलित जनजाती किसानलाई संगठीत गरी राणाबिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रह्यो। तर, २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन। उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनाएको सरकारको बिरोध गरेको अमरगढी २ कारीगाउँका उनका भाइ यदुनाथ पन्त बताए।

पन्त अन्याय अत्याचारको विरोधी रहेको उनने सुनाए। ‘उहाँले गरिबको साथ लिएर आन्दोलनमा होमिन्थे। आन्दोलन के का लागि गर्थे भने अन्याय अत्याचारको नहोस्, बलात्कार नगरौँ, कुकृतिहरू नगरौँ भने उहाँले आन्दोलन गर्थे’ उनले भने, ‘शोषण नीति नगरौँ, गरिबलाई नसताउन्, खास गरेर उनले दलितको साथ लिएर अगाडि बढेका थिए।

सबैभन्दा पहिला दलिद समुदायको हातको पानी भीमदत्तले नै खाएको उनले थाहाखबरसँगको कुराकानीमा सुनाए। दलित समुदायको हातको पानी खायो भनेर त्यतिबेलाका ठूलाठालुले उनलाई मार्ने कोसिस गरेको उनको भनाइ छ। परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरू संगठित गरी मुक्ति सेना गठन गरे।

नेपालगाजका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए। दक्षिण भारत पाजावका एकजना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए। गर्बु थारु र लवरा थारु मन्त्री थिए। भान्सामा दलितलाई सहभागी गराउन थाले। 

किसानलाई बेदखल गर्ने उनीहरूको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुलाई कारवाही गर्न थाले। उनीहरूलाई दलितको भान्सामा खाना खान लगाउँथे। यस ब्यवहारबाट कुडिएका ठालुहरू उनलाई पागल भन्थे। पछि भीमदत्त आफैं पनि ठालुहरूलाई परिचय दिँदा पागल पन्त भन्ने गर्थे।

कांग्रेससित बैचारिक भिन्नता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले। केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए। उनले भन्ने गर्थे म अहिले जे गर्दैछु भोलि यस्तै हुन्छ। त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ। उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन। गरीब संगठित हुनुपर्छ। अन्न खेर फाल्नु हुँदैन। उत्पादन बढाउनुपर्छ।अनावश्यक खर्च घटाउनु पर्छ। प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए।

कस्तो दुःख भोगे भीमदत्तले?

क्रान्तिमा लागेकाले भीमदत्त घरको काममा समय दिन सक्दैनथे। गाउँका ठालुहरू सबै बिरोधी थिए। घरको जिम्मेवारी धर्मपत्नी पार्वती पन्तकै हुन्थ्यो। नावालक दुई छोरा थिए।

बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो। त्यस पश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागि रहे। दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षत्रीको छोरीसित अर्को विवाह गरे। कान्छी श्रीमतीबाट छोरी जन्मिइन। उनको पनि ७/८ वर्षकै हुँदा मृत्यु भयो। छोरीको मृत्युपछि कान्छि श्रीमतीले अर्को बिवाह गरिन। भीमदत्तका बिरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट बिचलित भएनन। 

उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन। त्यहीबेला अन्यायबिरुद्ध संगठित भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए। गाउँका ठूला ठालुलाई अनिवार्य उपस्थित हुन उर्दी जारी गरे। सबैलाई जय दासको हातको पानी खान लगाए।

भीमदत्तले गरेको आन्दोलन 

गरीबलाई संगठित गर्न भीमदत्त गाउँ भ्रमण गर्न जान्थे। तल्कालीन सुदुरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लाहरूमा भ्रमण गर्दा गरीबले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे। काचनपुरको ब्रहमदेवमा भएको गोदामबाट गरीबलाई नुन कपडा वितरण गरे। यस घटनाका दिन गरीबको ठूलो जनमासले भीमदत्त पन्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे।

त्यही बेला महेन्द्रनगरकाे गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगाज पुर्‍याइयो। भागेर ज्यान बचाइ कञ्चनपुर आए। धेरै जनालाई महाकालीमा फाले। त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाई तपाई पनि सामन्त हो भनी घरमा भएका तमसुकहरू च्याते।

बिष्टहरूको घरमा भएका तमसुकहरू संकलन गरी बोरीमा हालेर जलाइदिए। मालअड्डामा भएका मूठाहरू जलाइ दिए। त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भइ बसे। क्रान्तिमा सहयोग गर्नेहरूलाई कर्मचारी बनाए। चार महिनासम्म उनले शासन चलाए।

’कि त जोत हलो, कि त छोड थलो, यदी होइन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे। बेलौरीमा बैक कब्जा गरी त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियालाई सहयोग गरे।

’उठ जाग रे नेपाली नवजवान जाग रे। नेपालमा तम म नेपाल देशलाई स्वतन्त्र बनाउँ रे’ भन्ने उनको देशभक्ति गीत प्रार्थना थियो। 'बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरीबका दिन अया ठालुको काल आयो।’ उहाँको चर्चित गीत थियो। यसबाट बुझ्न सकिन्छ कि भीमदत्त पन्त देशलाई स्वतन्त्र बनाउने। यी गरीबलाई ठालुहर"को कब्जाबाट मुक्त गराउने अभियान थिए।

कसरी भयो भीमदत्तमाथि दमन?

भीमदत्त पन्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरूलाई मन परेको थिएन। त्यसमाथि दलितहरूको घरमा खाना खाने तमसुक जलाउने बेदखली गर्नेलाई कारवाही गर्ने ब्यवहारले उनका बिरोधी बढ्दै गएका थिए। सरकारी अड्डाले उनको विषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरू गाउँमै षडयन्त्र गरिरहेका हुन्थे। उनीहरूले भीमदत्तलाई मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाई पैसा समेत दिए।

सरकारले भीमदत्त पन्तलाई पटक पटक जेल हाल्यो। त्यसबाट पनि भीमदत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो। भीमदत्त पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्‍याे। 

चारैतिर भारतीय सेनाले घेराको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो। त्यस अवस्थामा पनि भीमदत्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निगाली सहजपुर हुँदै बुडर पुगे। सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए। २०१० साल साउन १७ गते आलिताल गाउँपालिका ४ गल्लेक भन्ने ठाउँमा उनकै मित लालबहादुर थापाले उनलाई धोकाले मारे। मलाई पक्राउ गर। गोली नहान भन्दा मानेनन्। 

भीमदत्तलाई आलिताल गाउँपालिकाको गल्लेक भन्ने ठाउँमा मारेको हो भन्ने सुनेको आलिताल गाउँपालिका ४ गल्लेकका वद्ध पदमसिंह बोहरा बताउँछन्। ‘यहीँ गल्लेक भन्ने ठाउँमा मारेको हो भन्ने मैले पनि सुनेको हो बुढापाखाबाट। टाउको काटेर डडेल्धुरा सदरमुकाम लगे भन्थे’ उनले भने,‘ढाड काटेर कहाँ यतै फालेको भन्ने सुनेको हुँ।’ 

गोली लागि छटपटाइरहेका बेला भीम दियालले उनको टाउको काटिदिए। टाउको लगेर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाइयो। काटेको टाउको ७२ घण्टासम्म बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो। काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिएन। उनलाई ३१ बुँदे सर्तमा औँठाछाप लगाएर मात्रै टाउको दिइयो। गाउँमा काजक्रिया गर्न बाहुन पाइएन।

क्रिया पनि गर्न दिइएन। पानीको नाउलो छुट्याइयो। गौरा अलग गरियो। उनको परिवारलाई मेलापर्व मन्दिर पानीपँधेरोबाट वन्चित गरियो। उनको टाउको धर्मदेव, सिद्धराज उप्रेती सोबे सार्की, फकिरे दमाइलागायतले घटालबाबाको मन्दिर छेउमा लगेर अन्त्येष्टि गरेका थिए।

गाउँमा क्रिया गर्न समेत नपाइने भए पछि ४० तोलाको कल्ली २२ रुपैयाँ तोला सुन घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त भीम दत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरेका थिए। काठमाडौंदेखि दिल्लीसम्मका समान्तीहरूले उनको मृत्युको भोज मनाए। र उनको हत्या गर्ने लालबहादुर थापालाई तत्कालीन बडा हाकिमबाट ५ हजार पुरस्कार दिइयो।

उनले उठाएका विषयको सम्बोधन कहिले?

शहीद भीमदत्त पन्तको नाम प्रयोग गरेर जनताको भोट तानियो। तर उनले उठाएका मुद्दालाई कसैले पूरा गर्नतिर नलागेको यहाँका स्थानीय बताउँछन्। उनको मृत्यु भएपश्चात पनि उनकै नाम जोडेर उनका परिवारका सदस्यलाई पार्टीमा भित्र्याएर जनताको भोट तान्न सफल भए विभिन्न पार्टीहरू। तर उनको सपना भने वर्तमानसम्म पनि पूरा हुन सकेको छैन।

कांग्रेसदेखि कम्युनिस्टसम्मले भीमदत्तको नाममा राजनीति गरेको तर उनले पठाएका विषयको सम्बोधन कुनै पनि पार्टीले नगरेको शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तले बताए। ‘भीमदत्तको नामलाई सबै पार्टीले उपयोग मात्रै गरे' उनले भने,‘तर उहाँले पठाएका विषयको सम्बोधन कसैले पनि गरेनन्।’

विशेष गरी नेपालका कम्युनिष्ट पार्टीहले भीमदत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन्। कम्युनिष्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने। अत्यमा कम्युनिष्ट पार्टी एमाले नेतृत्वको सरकारले उनलाई औपचारिक रुपमा शहीद घोषणा गरेको छ।

स्थानीय सरकारको ‘भीमदत्त आदर्श वस्ती’ घोषणामै सीमित

अमरगढी सरकारले शहीद भीमदत्त पन्त जन्मेको गाउँलाई ‘भीमदत्त आदर्श बस्ती’ का रुपमा विकास गर्ने घोषणा गरेको थियो। तर त्यसको काम अगाडि बढेको छैनन। घोषणा घोषणामै सीमित छ। बस्ती निर्माणको काम अघि नबढ्दा स्थानीय चिन्तित छन्।

पन्त जन्मेको गाउँलाई ‘भीमदत्त आदर्श बस्ती’ रुपमा विकास गर्नका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा बताउँछन्।

शहीद पन्तको जन्मथलोमा निर्माणाधीन प्रवेशद्वार अलपत्र 

डडेल्धुराको अमरगढी नगरपालिका २ कारीगाउँ जाने मुख्य प्रवेशद्वार निर्माण सुरु भएको ५ वर्ष पूरा हुँदासमेत अलपत्र परेको छ। शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा आर्थिक वर्ष २०६९/०७० देखि शहीद भीमदत्त स्मृति प्रतिष्ठानले उक्त प्रवेशद्वार निर्माणको काम सुरु गरेको हो। तर अहिले प्रवेशद्वार निर्माणको काम अलपत्र परेको छ। 

नेपाल पर्यटन बोर्डको दुई लाख, अमरगढी नगरपालिकाको १ लाख सहयोग र शहीद भीमदत्त स्मृति प्रतिष्ठानको ५० हजार गरी जम्मा तीन लाख ५० हजारको लागतमा प्रवेशद्वार निर्माण कार्य सुरु भएको थियो। उक्त प्रवेशद्बार शहीद भीमदत्त स्मृति प्रतिष्ठानले निर्माण गरिएको हो। आर्थिक स्रोत कहिँकतैबाट नजुटेपछि निर्माण कार्य रोकिएको शहीद भीमदत्त स्मृति प्रतिष्ठानका कार्यवहाक अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

आर्थिक अभावका कारणले गर्दा बाँकी निर्माण रोकिएको हो। प्रवेशद्बारको माथि भीमदत्तको सालिकसहित बनाउने योजना रहेको भए पनि आर्थिक अभावले गर्दा पूर्ण काम हुन सकेको छैन। अमरगढी नगरपालिकाले शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाँउलाई आदर्श बस्तीका रुपमा विकास गर्दै जाँदा ५ वर्ष अगाडि सुरु भएको प्रवेशद्बारको निर्माण सक्दो चाँडो हुनुपर्ने स्थानीय प्रदीपकुमार पन्तको माग छ।

बजेट अभावका कारण निर्माण सुरु गरिएको प्रवेशद्बार बीचमै अलपत्र परेको यहाँका स्थानीय बासिन्दा बताउँछन्। स्थानीय तहमा स्थानीय सरकार आइसके पनि प्रवेशद्बार निर्माणमा कसैले चासो नदिएको स्थानीय डम्मरुदेवी पन्तको गुनासो छ। निर्माण सुरु भएको पाँच बितिसक्दा पनि प्रवेशद्बार निर्माण हुन नसक्नु दुःखद भएको उनको भनाइ छ।

यस विषयमा अमरगढी नगरपालिकाले भने प्रवेशद्बार निर्माण सम्पन्न गर्नका लागि पहल गर्ने जनाएको छ। यस वर्ष नै शहीद भीमदत्त पन्तको जन्मस्थानलाई आदर्श बस्तीका रुपमा घोषणा गरेकाले प्रवेशद्बार निर्माणसँगै अन्य गतिविधि समेत संञ्चालन गरिने अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले बताए।

चलचित्र ‘भीमदत्त’

किसान नेता पन्तको जीवनमा आधारित चलचित्र ‘भीमदत्त’ बनाइएको छ। ‘भीमदत्त’ लाई नवल खड्काले निर्माण गरेका हुन्। चलचित्रलाई हिमग्याप लामा (टासी) ले निर्देशन गरेका हुन्। २०७१ सालमा उक्त चलचित्र रिलिज भएको थियो। भीमदत्त पन्तले सुदूरपश्चिममा किसान आन्दोलन चलाएका थिए। 

२००७ सालको प्रजातन्त्रको लागि पनि लडेका योद्धालाई तत्कालीन शासकले हत्या गरेका थिए। सोही विषयमा केन्द्रीत भएर ‘भीमदत्त’ निर्माण गरिएको हो। नवल खड्का, सुमिना घिमिरे, निशा अधिकारी, श्रीराम पुडासैनीलगायतको अभिनय रहेको छ। भीमदत्तको गाउँमा फिल्म छायांकन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.