|

सल्यान : प्रदेश राजधानी जोड्ने खलंगा-कुपिन्डे-बालुवासंग्रही सडक कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किएको छ। राष्ट्रिय ग्रामीण यातायात सुद्धढीकरण कार्यक्रमअन्तर्गत निमार्ण गरिएको सडकको कालोपत्रे पानीले नै बगाएको हो।

वर्षातको समयमा कालोपत्रे गरिएकाले पानीले कालोपत्रे बगाएको स्थानीयको भनाइ छ। बन्गाड कुपिन्डे नगरपालिकाको जयतपानीदेखि ज्यामिरेसम्म कालोपत्रे गरिएको सडक वर्षातको पानीले बगाउनुका साथै नालासमेत भत्किएको छ।

खलंगादेखि कुपिण्डे हुँदै बालुवासंग्रहीको ३२ किलोमिटर चार सय मिटर लम्बाई रहेको सडक आधा कालोपत्रे र आधा ग्राबेल गर्न सन्तोषी लोहनी जेभी  कम्पनीले २०७२ देखि सुरु गरेको थियो। कालोपत्रे एक ठाउँ मात्र नभई ठाउँठाउँमा बगाएको ज्यामिरेका लालबहादुर यरीले बताए।

ठेकेदारले जति अलकत्रा हाल्नु पथ्र्यो त्यत्ति नहालेको उनको आरोप छ। उनका अनुसार सरकारले धेरै रकम विनियोजन गरे पनि धुलोबाट बच्नलाई बनाएको जस्तो गरी मात्रै कालोपत्रे गरिएको उनको भनाइ छ।

स्थानीय नवराज शाहीले ठेकेदारले वर्षाको मौसममा कालोपत्रे गरेकाले राम्रोसँग अलकत्रले चिप्स नसमातेकै कारण वर्षातको पानीले बगाएको बताए। उनले उक्त पिच धेरै नटिक्ने जानकारी गराए।

ठेकदार कम्पनीका इन्जिनियर सुधन पन्तले जयतपानीदेखि ज्यामिरेसम्म जंगल भएकाले घाम कम लाग्ने हुँदा तापक्रम नपुगेकै कारण पिच वर्षातको पानीले बगाएको बताए। उनले भने 'पिच गरिसकेपछि गाडी गुडने र त्यसको भारले  अलकत्रमाथि आउने गर्दा चिप्स समात्ने भए पनि चिसोले गर्दा त्यो हुन नपाएको र पानीले बगाएको हो।' सडक ठाडो भएकाले कालोपत्रे नटिक्ने भए पनि योजनाअनुसार एक लेयर हालेको र अर्को लेयर हाल्न नपाउदै वर्षा सुरु भएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ।

पूर्वाधार विकास कार्यालय सुर्खेतका इन्जिनियर तथा खलंगा बालुवा संग्रही सडकका प्रोजेक्ट मेनेजर गोविन्द महतराले ठेकेदारले काम ढिला सुरु गर्दा समस्या भएको बताए। कालोपत्रे गरेका ठाउँमा पुनः मर्मत र डवल ओटासिल गरेर सम्पूर्ण भुक्तानी दिने उनको भनाइ छ।

आव २०७२ सालमा संचालित योजना दुई वर्षमा सम्पन्न गर्नु पर्ने भए पनि सम्झौता भएको १५ महिनापछि काम सम्पन्न भएको थियो। २४ करोड ६१ लाख बजेटअनुसार काम भइरहेको सडकको कालोपत्रे साढे चार मिटर चौडाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.