चित्रबहादुर भन्छन्- 'मार्क्सवाद भाङ खाएर प्रतिपादन गरेका विचार हैन'
चित्रबहादुर भन्छन्- 'मार्क्सवाद भाङ खाएर प्रतिपादन गरेका विचार हैन'
काठमाडौं : कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एकै मञ्चमा देखा परे। कार्ल मार्क्स द्वीसतवार्षिकी आयोजक समिति नै बनाएर विगत दुई दिन विभिन्न कार्यक्रम भए।
पछिल्लो समय राजनीतिका दुई किनारामा देखिएका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एउटै मञ्चमा उभिएर कम्युनिस्ट आन्दोलनको समीक्षा गरे, बहस गरे। नेपाली कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्यबारेमा उनीहरुको बहस हेर्न लायक थियो।
गत सोमबार जमलस्थित राष्ट्रिय नाचघरमा कार्ल मार्क्सका सिद्धान्तबारेको बहसमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, सञ्चारमन्त्री सुरेन्द्र कार्की, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, विष्णुबहादुर मानन्धर, घनश्याम भूसाल लगायत नेता वक्ता थिए। प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले उपाध्यक्ष गौतमको वादविवाद सबैभन्दा रोचक थियो।
मार्क्स लेनिनका सिद्धान्तमा वामदेवको संशोधन
एमाले उपाध्यक्ष गौतमले मार्क्स र लेनिनले प्रतिपादन गरेका सिद्धान्तमा फरकमत जाहेर गरे। उनले मार्क्स र लेनिन लगायतले प्रतिपादन गरेको र विश्वका कम्युनिस्टले मान्दै आएको कम्युनिस्ट सिद्धान्त 'पुनर्विचार गर्नुपर्ने' बताए।
'पूजीँवाद मरणाशन्न अवस्थामा छ भन्ने लेनिनको निष्कर्ष गलत सावित भएको छ', उनले भने, 'आज पनि पुँजीवाद ज्यूँदो छ र सशक्त छ। आज पनि हामीले पुँजीवादसँग जुध्नुपरिरहेको छ।'
गौतमले सर्वहारा अधिनायक्तवमा पनि असहमति राखे। 'सर्वहारा अधिनायकत्व मार्फत समाजवाद निर्माण गर्ने कुरा हुन सक्दैन, यसमा पुनर्विचार गरौं', उनले भने। सोभियत संघको असफलताले सर्वहरा वर्गले शासन गर्न सक्दैनन् भन्ने पुष्टि गरेको उनको भनाइ थियो। 'सर्वहरा अधिनायकवाद सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने अनेकौं अनेकौं प्रयासबाट ७० वर्षसम्म सोभियत संघ खडा भएको थियो', उनले भने, 'त्यसको असफलता सर्वहरा अधिनायकत्वको असफलता हो। अब सर्वहारा अधिनायकत्व मार्फत समाजवाद निर्माण गर्नेकुरा हुन सक्दैन यसमा पुनर्विचार गरौं।'
सर्वहारा अधिनायकत्वको विकल्प 'जनताको जनवादी अधिनायकत्व' हुने गौतमले बताए। यसमार्फत कम्युनिस्टहरुलाई समाजवाद ल्याउन सफल पार्ने गौतमको विश्वास थियो।
मार्क्स र लेनिनका विचरमाथि गौतमको एकपछि अर्को संशोधन सुनिरहेका थिए प्रधानमन्त्री प्रचण्ड र एमाले वरिष्ठ नेता नेपाल।
दुबैतर्फ हेर्दै गौतमले तेस्रो असहमति सुनाए। 'सशस्त्र क्रान्तिद्वारा सत्ता कब्जा गर्ने यो संसारभरी खास खास देशमा बाहेक असफल भयो', 'हामीले केही नेपालमा पनि अनुभव गरेका छौं। सत्ता कब्जा अब सशस्त्र क्रान्तिद्वारा, बन्दुकबाट हुन सक्दैन।'
विचार, संगठन र जनताको मतद्वारा सत्ता कब्जा गर्नुपर्ने गौतमको सुझाव थियो। एंगेल्सले पनि जनमतद्वारा सत्ताकब्जा मानेकाले 'विश्वका कम्युनिस्टहरुले भगिरथ प्रयास गर्नुपर्ने' उनको भनाइ थियो।
'आफू सत्तामा रहँदा सम्म राम्रो मात्रै काम गर्ने, जनताको पक्षमा मात्रै काम गर्ने, श्रमजीवी जनताको पक्षमा मात्रै काम गर्ने, बेठीक र राष्ट्रको विरुद्धमा काम नगर्ने गरी हामी जानुपर्छ' गौतमले भने।
गौतमले वर्गशत्रुको परम्परागत मान्यतामा पनि आक्रमण गरे। 'वर्गसत्रु समाप्त पार्ने विचार गलत सावित भएको छ। यो हुन पनि हुन सक्दैन', गौतमले भने, 'हामी आन्दोलनकारीहरु मार्क्सवादको झन्डा जनताको बहुदलीय जनवादबाट निर्देशित भएर नै सारा संसारभर फहराउन सक्छौं र दिग्विजय पनि गर्न सक्छौं र समाजवाद पनि प्राप्त गर्न सक्छौं।'
बामदेव गौतमको भाषणलाई प्रधानमन्त्री प्रचण्ड र नेता नेपाल अनि कार्यक्रम संयोजक एमाले उपमहासचिव घनश्याम भूसालले चासो दिएर सुनिरहेका थिए।
प्रचण्डको डिफेन्स
बामदेव गौतम पछि भाषण गर्ने पालो माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थियो। उनले क्रान्तिकारी विचार निर्माण, समाजका तल्लो वर्गसँगको साइनो र वर्गसंघर्षमा बहुमत शोषितको पक्षमा लागेका भनेर मार्क्सलाई सम्झिए।
'पेरिस कम्युनपछि मार्क्सले भन्नुभएको थियो- सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त नयाँ गरेको हो। कामरेड वामदेव गौतमले जे भन्नुभयो त्यसले मेरो विचारमा मार्क्सवादको फन्डामेन्टल कुरा छोड्नेतिर हाम्रो उद्धतिकरण छ। हामीले कम्युनिस्ट पार्टी र हामीले आफूलाई मार्क्सवादी भन्न रुचाएकै छौं, भनिराखेकै छौं तर मार्क्सवादसम्बन्धी हाम्रो बुझाइ मार्क्सवादका फन्डामेन्टल सिद्धान्तभन्दा उनी आफैले भनेको सर्वहारा अधिनायकत्वको सिद्धान्तबाट हामीले पर लगेका त छैनौं?'
प्रचण्डले यति भनिनसक्दै गौतम भने कार्यक्रमबाट बाहिरिइसकेका थिए। जुन गौतमलाई जवाफ फर्काइरहेका प्रधानमन्त्री प्रचण्डलाई थाहा थिएन। उनले फेरि भने, 'कामरेड वामदेव गौतमले राखेको विचारमा म विमर्श गर्न चाहान्छु। उहाँलाई आलोचना गर्न भनेको हैन। हामी मार्क्सवादको नाम लिएर त्यसबाट विचलित भइरहेका त छैनौं?'
गौतमको 'बन्दुकको नालबाट सत्ताकब्जा हुन सक्दैन', भन्ने कुरामा प्रचण्डको जवाफ थियो, 'सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्न सम्भव छैन भन्ने कुरा गरियो। म यसमा पनि विमर्श होस् भन्ने चाहान्छुं। अहिले नेकपा एमाले या नेपाली कांग्रेस या माओवादी केन्द्र यी तीनवटै पार्टी सशस्त्र आन्दोलनबाट आएका पार्टी हुन्।' मञ्चमा बसेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र एमाले नेता नेपालतर्फ हेर्दै भने, 'सशस्त्र संघर्ष नगरेका पार्टी त्यति धेरै ठूला पनि भएका छैनन्, जनताले विश्वास पनि गरेका छैनन्। विचार गर्नुहोला। त्यति सजिलो छैन विश्लेषण र संश्लेषण गर्ने यो विषयमा।'
प्रचण्डले नेपाली कांग्रेस २००७ सालमा राणाविरुद्ध बन्दुक उठाएरै ठूलो पार्टी भएको र एमालेले पनि २०२८ सालमा झापा विद्रोह मार्फत पञ्चायत र राजतन्त्र विरुद्ध हतियार उठाएरै जन्मिएको भन्दै प्रश्न गरे- 'नेपाली कांग्रेसले ००७ सालमा राणाशाषनका विरुद्ध हतियार नउठाएको भए के हुन्थ्यो होला? या ०२८ सालमा झापामा एमालेले हतियार उठाएर पञ्चायतका विरुद्ध, निरंकुश राजतन्त्र विरुद्ध नलडि एमालेको अहिलेको भीमकाय स्वरुप कहाँबाट आयो?'
प्रचण्डले मञ्चतिर हेरे। उनले जसलाई जवाफी प्रश्न सोधिरहेका थिए उनी त्यहाँ थिएनन्। उनले भने 'बामदेवजी कहाँ जानुभयो? म उहाँबारे भन्दै छु। उहाँ नै हुनुहुन्न।'
माओवादीले जनयुद्ध गरेकै कारण देशबाट निरंकुश राजतन्त्र हटेको र माओवादी ठूलो पार्टी भएको प्रचण्डको भनाइ थियो। 'हतियार नउठाइकनै प्रतिस्पर्धा नगरेको भए त हाम्रो हालत के हुने थियो? हतियार उठाएर राजतन्त्र ढलाएर प्रतिस्पर्धा गर्दा त पहिलो पार्टी भइयो नि हामी।'
उनले प्रश्न गरे 'त्यसकारण सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्ने राजनीति भनेर मार्क्सवादीहरुले विगतदेखि जे भने अब सही छैन भनेर निष्कर्ष निकाल्ने बेला आयो त?'
प्रचण्डले हतियारका बलमा सत्ता कब्जा असम्भव भन्ने गौतमको कुराबारे विमर्श गर्न तयार रहेको बताए। उनले अगाडि भने 'त्यसो हो भने लेनिनले राज्य र क्रान्तिमा या हरेक ठाउँमा सशस्त्र प्रतिकृयावादलाई परास्त गर्नको लागि सशस्त्र जनता अपरिहार्य छ। सशस्त्र विद्रोह बिना जनताको सत्ता हुनै सक्दैनन्। लेनिनका सबै विश्लेषण अब गलत सावित भए भनेर हामीले पुष्टी गर्ने बेला भयो त? माओत्सेतुङले त सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनि हुँदैन भन्ने निष्कर्ष निकाल्नुभयो त्यो गलत भयो भन्ने बेला आइपुग्यो त अब?' उनले आफूलाई गौतमले भनेको जस्तो नलागेकोभन्दै नेता नेपालतिर हेर्दै भने, 'मार्क्सको बारेमा बहस गरिरहँदा त्यो गलत भएको निष्कर्ष निकाल्ने र विश्वव्यापी रुपमा स्थापित गर्ने हैसियत छ त अब? हाम्रो हैसियत त्यहाँ पुगेको हो? मेरो वामदेवजीलाई प्रश्न हो अझैपनि।'
जनमतबाट सत्ता प्राप्त गर्ने र त्यसैमार्फत समाजवाद हुँदै साम्यवादमा जानुपर्ने गौतमको भनाइमा प्रचण्डको जवाफ थियो, 'हामीले त्यतिसजिलै भनिदिएर हुने कुरा हैन यो।'
समाज तल्लो वर्गमाथि व्यापक शोषण लाद्नु अधिकार हो भन्ने मान्यता स्थापना भएको बेला मार्क्सले विद्रोह अधिकार हो भन्ने स्थापित गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। उनले भने, 'मार्क्सवाद त्यसकारण विद्रोहको दर्शन पनि हो।'
प्रचण्डले बामदेव गौतमको 'जनताको बहुदलीय जनवादबाट मार्क्सवादको झन्डा विश्वभर फैलाउनुपर्न', जवाफमा 'के हामी यसका लागि सक्षम छौं त?' भन्दै आफ्नो भनाइ सके। उनी पनि गौतमले झैं आफ्ना धारणा राखेर कार्यक्रमस्थलबाट बाहिरिए।
माधवको टुंग्यौनी
बामदेवको मार्क्स र लेनिनका सिद्धान्तलाई पुनर्विचार गर्नुपर्ने धारणा जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र एमाले वरिष्ठ नेता माधव नेपाललाई पनि मन परेको रहेनछ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झैं जवाफ त दिएनन् तर मार्क्स र लेनिनका विचारमा पुनर्विचार गर्नुपर्ने अवस्था नै आइसकेकोमा भने विमति जनाए।
चित्रबहादुर केसीले मार्क्सको सर्वहारा वर्गको लागि कम्युनिस्टहरुले सधैं काम गर्नुपर्नेमा जोड दिए। उनले सर्वहारा वर्गको विद्रोहको अधिकारलाई समर्थन गर्दै भने, 'मार्क्स र लेनिनले यो विचार भाङ खाएर प्रतिपादन गरेका होइनन्।'
कार्यक्रममा सबै वक्ताका धारणा धैर्यताका साथ सुनेका माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र वामदेव गौतमलाई सम्झाउने प्रयास गरे। 'प्रचण्डजी, मार्क्सवादबारे बामदेवजीले भनेको धारणा नै पार्टीको धारणा हो भन्ने नबुझ्नुहोला।' उनले एमाले अझै पनि मार्क्स र लेनिनले समाजबारे र विश्व समाजवाद र विश्व कम्युनिस्टबारे भनेका धारणा नै नेकपा एमालेको धारणा रहेको बताए।
कार्यक्रमको दोस्रो दिन, मंगलबार पनि कम्युनिस्ट नेताहरुले नेपाली कम्युनिस्ट आन्दोलनबारे विमर्श गरे। जसमा सहभागी थिए एमाले नेता झलनाथ खनाल, बेदुराम भूसाल, माले महासचिव सिपी मैनाली, माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल आहुती, राम कार्की। सरकार नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु एकअर्काविरुद्ध सडक र सदनमा चर्को विरोधमा उत्रिरहेका बेला मार्क्सबारेको बहसले भने एक ठाउँमा ल्याएर विमर्श गराएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।