|

इलाम : झन्डै ४ वर्षसम्म हुन नसकेको शहीद स्मारक लिग कर्मा छिरिङ शेर्पा नेतृत्वको एन्फा कमिटीले आयोजना गर्‍यो।

लिगपछि बिजेताको रुपमा मनाङ मर्स्याङदीले एएफसी च्यालेन्ज कपको प्रतिस्पर्धाका खेलमा पनि सहभागिता जनाइसकेको छ। तर अझै पनि लिगका उत्कृष्ट खेलाडीले तोकिएको पुरस्कार पाएका छैन। अन्य पुरस्कार एन्फाले तत्कालै उपलब्ध गराए पनि ७ महिना वित्यो अहिलेसम्म विधागत तर्फको उत्कृष्ट खेलाडीहरू र प्रशिक्षकले पाउने भनिएको पुरस्कार पाएका छैनन्।

विधागततर्फका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकका लागि एन्फाले ५० हजारसहित बजाज पल्सरको एनएस २०० मोडलको बाइक उपहार दिने घोषणा गरेको थियो।शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक पल्सर आफैले दिने भनेको ५ वटा वाइक अहिलेसम्म दिएको छैन।

खेलाडीतर्फ व्यक्तिगत विधामा च्याम्पियन मनाङका विशाल श्रेष्ठ (गोलकिपर), हेमन गुरुङ (मिडफिल्डर), थ्रीस्टारका रन्जित धिमाल (डिफेन्डर), आर्मीका भरत खवास (फरवार्ड) उत्कृष्ट घोषित भएका थिए।

उनीहरूलाई बजाज पल्सर एनएस २०० मोटरसाइकल दिने घोषणा गरेको थियो। तर सो बेला मोटरसाइलमा चढाएर खिचाइएको फोटो फोटोमा नै सिमित बनेको छ। त्यसैगरी घरेलु भुमीमा आयोजना भएको पाँचौ साफमा नेपाली महिला टोलीलाई विराटनगर महानगरपालिका प्रदेश १ सरकार र एन्फाले प्रोत्साहन पुरस्कार दिने घोषणा गरेका थिए।

साफको फाइनलको एक दिनपछि बसेको एन्फाको बैठकले जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। प्रदेश र विराटनगरले तोकेको रकम ३ महिनापछि प्रदान गरे पनि एन्फाले तोकेको रकम खेलाडीले कहिले पाउने टुंगो छैन। सन २०१६ मा आयोजना भएको १२ औं संस्करणको दक्षिण एसियाली खेलकुद(साग) मा आयोजक राष्ट्र भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल नेपाली फुटबल खेलाडीका लागि सरकारले नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो। तर सरकारले घोषणा गरेको पुरस्कार खेलाडीले तीन वर्षपछि मात्र पाए।  

सन २०१९ फेब्रुअरी ५ मा कार्यक्रम आयोजना गरेर राष्ट्रिय खेलकुद परिषदले पुरस्कार बाड्यो। राखेपको कार्यविधिमा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने उल्लेख छ। सोही अनुसार स्वदेश फर्कने वितिकै २ लाख पाएको खेलाडीलाई बाँकी ३ लाख पाउन ३ वर्ष नै लाग्यो। गत असारको दोस्राे साता महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई हराउँदै एपिएफले उपाधि जित्यो। तर अहिलेसम्म पुरस्कारको रकम नपाएको खेलाडीको गुनासो छ।

एपिएफ टिमकी कप्तान तथा राष्ट्रिय टोलीकी उपकप्तान सीता राना मगरले सामाजिक संजालमा पोष्ट गर्दै व्यक्तिगत पुरस्कार नपाएको गुनासो गरिन। प्रतियोगिताको सीता उत्कृष्ट खेलाडी घोषित भएकी थिइन। यी त केही प्रतिनिधि घटनाहरू मात्र हुन्। नेपालमा आयोजना हुने प्रतियोगितामा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाएको पुरस्कार नेपाली टिम र खेलाडीले नपाएको दृष्टान्त साक्षत छ।

सन २०१६ को बंगवन्धु गोल्डकप बिजेताले ५० हजार पुरस्कार पाउनु पर्नेमा नेपाली टिमले तत्काल २५ हजार मात्र पाएको थियो। झन्डै २ वर्षपछि बाँकी रहेको २५ हजार आयोजक बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) ले एन्फाको खातामा हालेपछि नेपाली टिमले २०१८ को संस्करणमा सहभागीता जनाएको थियो। २८ सेप्टेम्बरसम्म पुरस्कार नपाए सहभागिता नजनाउने एन्फाको अडानपछि बिएफएफले बाध्य भएर पुरस्कार दिएको हो। 

शहीद स्मारक लिग विजेता टिमका गोलरक्षक विशाल श्रेष्ठले अहिलेसम्म तोकेको व्यक्तिगत पुरस्कार नपाएको बताए। ‘एन्फासँग सोध्दा असारसम्ममा दिने आश्वासन पाएका थियौ। साउन पनि वित्नै लाग्यो अझै पुरस्कार पाइएन’ उनले भने,‘एन्फाले प्राविधिक समस्या भन्दै आएको छ। एक दिन पाइएला भन्ने आशा छ।’ यता उत्कृष्ट खेलाडी घोषित आर्मीका भरत खवासको गुनासो पनि उस्तै छ।

तोकिएको समयमा पुरस्कार नपाउँदा खेलाडीको मनोवल घट्दै जाने उनको भनाई छ। ‘कहिले आउला खेलाडीले तोकेको समयमा पुरस्कार पाउने दिन’ उनले भने 
एन्फा प्रवक्ता किरण राईले चाँडै पुरस्कार दिने बताए। उनले स्पन्सरसँग प्रक्रियामा केही कठिनाइ भएका कारण पुरस्कार वितरणमा ढिलाई भएको बताए। ‘अहिले हामी वाइक उपलब्ध गराउने प्रक्रियामा छौं। अझै केही समय लाग्न सक्छ’ उनले भने, ‘खेलाडीलाई निरुत्साहित बनाउने योजना होइन। कानुनी प्रक्रियाका कारण केही ढिलाइ पक्कै भएको हो।’

डमी पुरस्कार दिने पुरानै प्रचलन

घोषित पुरस्कार दिन ढिलाई गर्ने पुरानै प्रचलन भएको पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ बताउँछन। तोकिएको पुरस्कार समयमा नपाउँदा मनोवैज्ञानिक असर खेलाडीमा पर्ने तामाङको भनाई छ। उनले शहीद स्मारक लिगमा मैदानबाटै खेलाडीले पुरस्कार लिएर घर जाने गरेको बताए। उनीले भने, ‘ २०६१ मा बेष्ट फरवार्ड हुँदा मैदानबाटै बाइक चढेर गएको थिए’ उनले भने।

अहिले मोफसलमा हुने अनियन्त्रित प्रतियोगिताले विकृति निम्त्याएको उनको भनाई छ। ‘लिगमा भन्दा पनि विशेष गरेर मोफसलको प्रतियोगितामा यस्तो धेरै छ। प्रतियोगिताको चार्म देखाउन क्षमता भन्दा बढी पुरस्कार तोक्ने’ उनले भने, ‘आयोजकको यस्तो हर्कतले खेलाडीलाई मनोवैज्ञानिक असर कस्तो पर्छ भन्ने विषयमा चासो नै छैन।’

गत पुषमा सम्पन्न भएको फाल्गुनन्द गोल्डकपको सर्वोत्कृष्ट भएका झापाका देवेन्द्र तामाङले भरखरै मात्र घोषित बाइक पुरस्कार पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.