भ्रष्टाचारको अन्त्य नभइ देशमा समृद्धि नआउने नेता नेपालको धारणा

|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपालले भ्रष्टाचारको अन्त्य नभइ देशमा समृद्धि नआउने बताएका छन्। हेम सरिता पाठक फाउन्डेसनको आयोजनामा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेता नेपालले सो धारणा व्यक्त गरेका हुन्।

देशमा भ्रष्टाचारले जरो गाडेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले सम्पूर्ण जनताले एकताबद्ध भएर भ्रष्टाचारविरुद्ध लड्न आव्हानसमेत गरेका छन्। 'नेपालको सबैभन्दा ठूलो समस्या रहेकोले यसको समाधानतर्फ बेलैमा सोच्नुपर्ने बेला आएको छ', उनले भने, 'सम्पूर्ण पत्रकार कलाकारहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउनु भएको छ। तर पनि भ्रष्टाचार रोक्न सकिएको छैन्।'

सम्मान कार्यक्रममा टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरियो। यो पुरस्कारको राशी दुई हजार अमेरिकी डलर रहेको छ। पाँच सय अमेरिकी डलरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरियो।

यस्तै पाँचसय अमेरिकी डलरको टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारबाट थाहाखबर डटकममा कार्यरत दाङकी देविका घर्तीमगरलाई पुरस्कृत भइन्। हेम सरिता संगीत पुरस्कारबाट वरिष्ठ कलाकार जेवी टुहूरेलाई सम्मान गरिएको थियो। संगीत पुरस्कारको रासी एक हजार अमेरिकी डलर रहेको छ ।

फाउण्डेसनका संरक्षक हेम पाठकले समाजमा भ्रष्टाचारले जरा गाडेको सरकारी संयन्त्र निष्प्रभावि भएको यो अबस्थामा भ्रष्टाचारीलाई सामाजिक बहिस्कारको अभियान थाल्न आग्रह गरे । अमेरिका बस्दै आएका पाठकले मातृभूमि प्रतिको दायित्व पूरा गर्न समाजसेवा अन्तर्गत विद्यालयलाई र असहायहरुलाई सकेको  सहायता गर्दै आएको जानकारी दिए ।

पुरस्कार छनोट समितिका संयोजक तथा थाहाखबर डटकमका प्रधानसम्पादक तीर्थ कोइरालाले पुरस्कृत सबैलाई  बधाइ दिँदै उनले छनोटका लागि २ सयभन्दा धेरै नाम आए पनि समाचार र त्यसले समाजमा पारेको दीर्घकालीन प्रभावका आधारमा पत्रकारलाई पुरस्कारको लागि छनोट गरिएको बताए। उनले भने 'समाचार लेख्नु मात्र ठूलो कुरा होइन्। त्यसले समाजमा कस्तो प्रभाव पर्छ भन्ने कुरा महत्वपूर्ण छ। कुनै जात वा व्यक्ति केन्द्रित नभई पुरस्कारको गरिमाको ख्याल गर्दै आफ्नो क्षेत्रबाट पत्रकारितामा दिएको योगदानलाई मूल्यांकन गरिएको हो।'

समारोहमा पुरस्कृत शिव गाउँलले भ्रष्टाचारविरुद्ध आफ्नो कलम सधैँ सक्रिय रहने बताउँदै सम्पूर्ण पत्रकारिता जगतलाई यस अभियानमा लाग्न आग्रह गरे। अर्का पुरस्कृत कलाकार जेवी टुहुरेले आफू ७६ वर्षको उमेरमा पनि जनचेतना जगाउन र भ्रष्टाचारविरुद्धको अभियानमा लाग्न तयार रहेको बताउँदै जोसिलो गीत सुनाए।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले पाँच दशकअघि भ्रष्टाचारविरुद्ध लाग्न सक्ने प्रशासक पाइएको उदाहरण प्रस्तुत गर्दै भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने सुझाब दिए।  सा‌ंसद रामेश्वर फूयाललगायतका वक्ताले मन्तव्य राखेका थिए भने जीवन शर्मा, नारायण रायमाझी, कृष्ण कडेलजस्ता  चर्चित कलाकारले गीत प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.