|

काठमाडौं : गत जुलाई ७ मा सम्पन्न महिला विश्वकपमा अमेरिका र नेदरल्यान्डको फाइनल खेलाउने रेफ्री सबैलाई याद हुनुपर्छ। महिला रेफ्री स्टेफानी फ्रेपार्टले खेललाई विवादरहित रुपमा सम्पन्न गरिन् । तिनै फ्रेपार्ट पहिलो पटक युइएफएको फाइनल खेलाउने महिला रेफ्री बन्ने भएकी छन्। 

आगामी १४ अगष्टमा टर्कीको स्तानाबुलमा हुने युईएफए सुपरकप अन्र्तगत चेल्सी र लिभरपुलबीचको फाइनल खेलमा उनी मुख्य रेफ्रीको भूमिकामा देखिन लागेकी हुन्। 
लिभरपुल युरोपियन च्याम्पियन्स लिग र चेल्सी युरोपा लिगको विजेताको हैसियतमा यो प्रतियोगिताको उपाधिका लागि खेल्नेछन ।  

हालै मात्र युइएफएले पहिलोपटक युरोपियन प्रतियोगितामा पुरुषको ठूलो खेल खेलाउने जिम्मा फ्रेपार्टलाई सुम्पिएको हो। अब उनी कुनै पनि युरोपियन प्रतियोगितामा पुरुषका ठूला खेल खेलाउने पहिलो महिला रेफ्री पनि बन्‍नेछिन्। 

फ्रेपार्टले सन २०१७ को नेदरल्यान्ड र इङल्यान्डबिचको युइएफए महिला युरोको सेमीफाइनल समेत खेलाएकी थिइन्। चेल्सी र लिभरपुलबिचको खेलमा फ्रेपार्टलाई फ्रान्सकी मेनुएला निकोलोसी र आयरल्यान्डकी मिकेल ओ निलले असिस्टेन रेफ्रीको रुपमा साथ दिनेछन्। यी तीनजनाले महिला विश्वकपको फाइनलसमेत खेलाएका थिए। फोर्थ अफिसियलको रुपमा टर्कीका कुनेट काकिर रहनेछन्।

‘हामी सांगठनिकरुपमा महिला फुटबलको विकासमा महत्व दिइरहेका छौ । स्टेफेनीले यो स्तरसम्म पुग्न जुन कौशल देखाइन त्यसले युरोपभरीका लाखौ युवतीहरुलाई प्रेरणा दिएको छ,’ युइएफएका अध्यक्ष अलेक्जेन्डर केफरिनले भने। 

युइएफएको मुख्य रेफ्री अधिकारी रोवर्टो रोसेटीले फ्रेपार्टको क्षमताको तारिफ गर्दै उनले आफनो क्षमता र अवसरको पूर्ण सदुपयोग गर्दै उच्च खेल खेलाउनेमा आशावादी रहेको बताए । ‘स्टेफेनी युरोपभरी मात्र होइन, विश्वकै सर्वोत्कृष्ट महिला रेफ्री हुन्,’ रोसेटीले भने ।

३५ वर्षीया फ्रान्सेली फ्रेपार्ट पुरुष फुटबल खेलाउने पहिलो महिला रेफ्री भने होइनन्। यो श्रेय स्विजरल्यान्डकी निकोल पेटिग्रेटलाई जान्छ । उनले सन २००४ देखि २००९ सम्म युइएफए कप छनौट चरण खेलाउने अवसर पाएकी थिइन्। 

युइएफए सुपरकपको भिडियो असिस्टेन रेफ्रीमा फ्रान्सकै क्लिमेन्ट टुर्पिन, फ्रान्कोइस लेटेक्सियर, जर्मनका मार्क ब्रोस र इटालीका मेसीमिलियानो इराटी रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.