|
१६ नम्बर जर्सीमा कृष्णा चौधरी

इटहरी : सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सतर्फ नेपाल आर्मीले सबैभन्दा धेरै पदक जित्दा पुलिस दोश्रो र एपीएफ तेश्रो भए। यी विभागीय टिमले पदक हिसाब गरेर गर्व गरिरहँदा ती टिमलाई पदक दिलाउन थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान देखिएको छ।

एथ्लेटिक्सका धेरैजसो स्पर्धामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीबाट प्रतिस्पर्धा गर्नेमा थारु समुदायकै खेलाडीको बाहुल्यता थियो। त्यसैले विभागीय टिमबाट एथ्लेटिक्समा धेरै पदक जित्नेमा थारु समुदायका खेलाडी रहेका छन्। विकास क्षेत्रबाट प्रतिनिधित्व गर्ने थारु समुदायका खेलाडीले पनि केही स्पर्धामा नियमित प्रशिक्षण र सुविधा पाएका विभागीय टिमका खेलाडीलाई पछि पार्दै पदक जित्न सफल भए। 

एथ्लेटिक्सका ३६ खेलका १ सय ८ वटा पदकमध्ये झण्डै ५० वटा पदक थारु समुदायले जितेका छन्। ३६ खेलबाट १६ वटा स्वर्ण पदक थारु समुदायकै खेलाडीले जितेका छन्। महिलाहरुको हाइजम्प, लङजम्प र ११० मिटर हर्डल्समा त स्वर्ण, रजत र कास्य पदक नै थारु समुदायका खेलाडीले मात्र जिते। एथ्लेटिक्सका १० हजार, ५ हजार र १५ सय मिटर दौड, डिस्कस थ्रो, पुरुषको ४ सय मिटर दौड र पुरुषको ज्वावलिङ थ्रो बाहेकका सबै स्पर्धामा थारु खेलाडीले कुनै न कुनै पदक जितेका छन्। 

८ सय मिटर महिलाको दौडमा सुदूरपश्चिमाञ्चलकी १५ वर्षकी खेलाडी सीमाकुमारी चौधरीले खाली खुट्टा दौडिएर स्पाइक जुत्ता लगाएर दौडिनेहरुलाई पछि पार्दै कास्य पदक जितिन्।

थारु समुदायका खेलाडीले एथ्लेटिक्सको ट्रयाक र फिल्ड दुबैतर्फ पदक जितेपनि उनीहरुले धेरै पदक छोटा दौडहरुमा जितेका छन्। १ सय मिटर, २ सय मिटर, ४ सय मिटर र रिले दौडहरुमा उनीहरुले पदक जितेका छन्। यसबाट उनीहरु तिब्र गतिमा दौडिन सक्ने खेलाडीका रुपमा देखिएका छन्।

किन रोजाइमा पर्छन् थारु समुदायका खेलाडी?

एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक तथा हाल एपीएफ क्लबका प्रशिक्षक रहेका सुशील नरसिंह राणा थारु समुदायका बालबालिका सानैदेखि संघर्षशील अवस्थामा हुर्किएकाले एथ्लेटिक्समा प्रगति गर्न सकेको बताउँछन्। एथ्लेटिक्समा शारीरिक विकाससँगै कडा संघर्ष गर्ने बालबालिका उपयुक्त हुने यस्तो गुण थारु समुदायमा रहेको उनको भनाइ छ।

'एथ्लेटिक्स शारीरिक परिश्रमको खेल हो, यस्तो परिश्रम शरीरिक विकाससँगै निरन्तर हुँदै आउनुपर्छ' उनी भन्छन् 'शहर बजारमा हुर्किएका बच्चाहरुको शारीरिक विकास राम्रोसँग भएपनि उनीहरु मिहिनेत गर्न सक्दैनन्, सामाजिक आर्थिक अवस्थाका कारण पनि थारु समुदायका बालबालिका सानैदेखि दुख गर्छन् त्यसैले एथ्लेटिक्सका लागि उनीहरुको शरीर फिट भएको हुन्छ।' थारु समुदाय इमान्दार हुने भएकाले प्रशिक्षणका क्रममा पनि अनुशासनमा बस्ने र मिहिनेत गर्ने हुनाले उनीहरुले प्रगति गरेको राणा बताउँछन्।

राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी छनोट जिल्ला स्तर, क्षेत्रीय स्तर र केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट गरिने हो। जिल्ला, क्षेत्र र राष्ट्रपति रनिङ शिल्डमा थारु समुददायका खेलाडीले गरेको प्रदर्शनका आधारमा उनीहरु राष्ट्रिय स्तरका प्रतियोगिता छनोट भएका हुन्। 'मोफसलमा राष्ट्रपति रनिङ शिल्डमा यस्तै खेलाडीहरु अगाडि देखिन्छन्' उनी भन्छन् ' प्रशिक्षकहरुले ट्यालेन्ट हन्ट गर्दा उनीहरुलाई नै राष्ट्रिय स्तरका प्रतियोगितासम्म ल्याउँछन्।'

थारु समुदायका कुन खेलाडीले कति जिते पदक?

कृष्णा चौधरी (४ स्वर्ण, २ रजत)

नेपाल आर्मीकी कृष्णा चौधरीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फको १०० मिटर, २ सय मिटर, चार गुणा ४ सय मिटर र चार गुणा सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी हुन्। चौधरीले १०० मिटर दौडमा ओलम्पियन चन्द्रकला थापालाई पराजित गरेर स्वर्ण जितिन्। उनले १०० मिटर दौड १३.१६ सेकेन्डमा पूरा गरेकी थिइन् भने २०० मिटर दौड २६.९० सेकेन्डमा पूरा गरिन्। ४ गुणा चार सय मिटर रिलेमा उनी सहभागी आर्मी टोलीले ४ मिनेट १४.७ सेकेन्डमा दूरी पूरा गर्‍यो। चार गुणा सय मिटर रिले उनी सहभागी आर्मी टोलीले ५२.२० सेकेन्डमा पूरा गरिन्। कृष्णाले महिला लङजम्प र महिलाहरुको चार सय मिटर दौडमा रजत पदक पनि जितिन्। लङजम्पमा उनी पुलिसकी केशरी चौधरीसँग पछि परिन् भने ४ सय मिटर दौडमा आर्मीकै संगीता मेचे भन्दा पछि रहिन्।

केशरी चौधरी (३ स्वर्ण, १ कास्य)

फुटबल, क्रिकेट र एथ्लेटिक्सका राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी नेपाल पुलिसकी केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण र १ कास्य पदक जितेकी छन्। उनले हाइजम्प, लङजम्प र त्रिपल जम्पको महिला इभेन्टमा स्वर्ण पदक जितिन् भने महिला १ सय १० मिटर हर्डल्समा कास्य पदक जितिन्। लङजम्पमा उनले ५.०५ मिटर जम्प गरेकी थिइन् भने हाइजम्पमा १.५४ मिटर जम्प गरेकी थिइन्।

त्रिपल जम्पमा भने उनले ११.७६ मिटर जम्प गरिन्। ११० मिटरको हर्डल्समा भने उनी एपीएफ र मध्यमाञ्चल विकास क्षेत्रका खेलाडी भन्दा पछि परिन्। उनले १७.१ सेकेन्डमा दूरी पूरा गरेर कास्य जितिन्।

जीवन चौधरी (२ स्वर्ण, १ रजत)

नेपाल आर्मीका खेलाडी जीवन चौधरीले चार गुणा चार सय मिटर र चार गुणा सय मिटर रिले दौडमा स्वर्ण जितेका छन्। चार गुणा चार सय मिटर रिले जीवन समेत सहभागी आर्मीका खेलाडीहरुले ३ मिनेट ३०.२० सेकेन्डमा पूरा गरेका थिए। त्यस्तै चार गुणा सय मिटर रिले आर्मीका खेलाडीले ४३.८६ सेकेन्डमा पूरा गरेका थिए। ८०० मिटर दौडमा उनी आर्मीकै सोमबहादुर कुमाल भन्दा पछि रहे। जीवनेले ८ सय मिटर दूरी २ मिनेट ४.७१ सेकेन्डमा पूरा गरे।  

रामप्रसाद थारु (२ स्वर्ण १ रजत)

नेपाली सेनाका उनले ४ सय मिटर हर्डल्स र चार गुणा चार सय मिटर दौडमा स्वर्ण जितेका छन्। चार सय मिटर हर्डल्स उनले ५८.७० सेकेन्डमा पूरा गरे। चार गुणा चार सय मिटर रिले रामप्रसाद समेत सहभागी आर्मीका खेलाडीले ३ मिनेट ३०.२० सेकेन्डमा पूरा गरेका थिए। ११० मिटर हर्डल्समा उनी आर्मीकै विशेष महतो भन्दा पछि रहे। रामप्रसादले यो दट्ठरी १६.५४ सेकेन्डमा पूरा गरेका थिए।   

सविता चौधरी (१ स्वर्ण, २ रजत १ कास्य)

सशस्त्र प्रहरीकी सविता चौधरीले १ सय १० मिटरको महिला हर्डल्समा स्वर्ण पदक जितिन् भने चार गुणा चार सय मिटर रिले दौडमा रजत पदक जितिन्। १ सय १० मिटरको हर्डल्स १६.९६ सेकेन्डमा पूरा गरेर स्वर्ण जितेकी हुन्। त्यस्तै चार गुणा चार सय मिटर रिले दौड उनी सहभागी सशस्त्र प्रहरी बलको टोलीले ४ मिनेट २३.५८ सेकेन्डमा पूरा गरेर रजत पदक जितेको थियो। उनले चार गुणा सय मिटर दौडमा पनि कास्य जितिन्।

आनन्ददेव चौधरी (१ स्वर्ण २ कास्य)

नेपाल आर्मीका उनले चार गुणा सय मिटर दौडमा स्वर्ण जिते भने पुरुषहरुको १०० मिटर दौड र पुरुष २०० मिटर दौडमा कास्य जिते। रिले दौड उनी सहभागी आर्मी टोलीले ४३.८६ सेकेन्डमा पूरा गरेको थियो।

रमिता चौधरी (१ स्वर्ण)

नेपाल आर्मीकी खेलाडी रमिताले चार गुणा सय मिटर दौडमा स्वर्ण जितेकी हुन्। उनी सहभागी आर्मी टोलीले चार सय मिटर रिले दौड ५२.२० सेकेन्डमा पूरा गरेको थियो।

छविलाल चौधरी (१ स्वर्ण)

नेपाल आर्मीका उनले चार गुणा सय मिटर दौडमा स्वर्ण जितेका हुन्। यस रिले दौड आर्मी टोलीले ४३.८६ सेकेन्डमा पूरा गरेको थियो।

आशिष चौधरी (३ रजत, १ कास्य)

सशस्त्र प्रहरीका उनले १०० मिटर, २०० मिटर र चार गुणा चार सय मिटर रिले दौडमा रजत पदक जितेका छन्। उनी १०० मिटर र दुई सय मिटर दौडमा मध्यपश्चिमका यमसाजन सुनाभन्दा पछि रहे भने आर्मीका आनन्ददेव चौधरीलाई पछि पारे। आशिषले चार गुणा सय मिटर दौडमा कास्य पदक जिते।

शिला चौधरी (२ रजत २ कास्य)

सशस्त्र प्रहरीकी उनले महिलाहरुको हाइजम्प र त्रिपल जम्पमा रजत जितेकी हुन्। १.५३ मिटर जम्प गरेकी उनी पुलिसकी केशरी चौधरी भन्दा पछि परेकी थिइन्। त्रिपल जम्पमा १०.५५ मिटर जम्प गरेकी उनी पुलिसकी केशरी भन्दा पछि परेकी थिइन्। त्यस्तै महिलाहरुको लङजम्प र चार गुणा सय मिटर दौडमा कास्य पदक जितेकी हुन्।

गोपाल चौधरी (१ रजत १ कास्य)

नेपाल पुलिसका गोपाल चौधरीले पुरुषहरुको लङजम्पमा रजत पदक जितेका छन्। उनले ६.५९ मिटर जम्प गरेर पुलिसकै चन्द्रदेव जोशीलाई पछि पारे भने स्वर्ण पदक जित्ने आर्मीका डिल्ली खत्रीलाई उछिन्न सकेनन्। गोपालले पुरुषहरुको हाइजम्पमा कास्य जितेका छन्।

भागीरथी कुमारी थारु (१ रजत १ कास्य)

सशस्त्र प्रहरीकी उनले महिलाहरुको चार गुणा चार सय मिटर दौडमा रजत र चार सय मिटर दौडमा कास्य पदक जितेकी हुन्।

रुपा चौधरी (१ रजत १ कास्य)

मध्यपश्चिमकी उनले चार गुणा सय मिटर दौडमा रजत र चार गुणा चार सय मिटरमा कास्य जितेकी हुन्।  

प्रमिला थारु (१ रजत १ कास्य)

मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले चार गुणा सय मिटर रिलेमा रजत पदक र २ सय मिटर दौडमा कास्य जितेकी छन्।

लक्की थारु (१ रजत)

त्रिभुवन आर्मी क्लवकी उनले ज्यावलिन थ्रोमा रजत पदक जितिन्।

सीमाकुमारी चौधरी (१ कास्य)

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रकी उनले ८ सय मिटर दौडमा कास्य जितेकी हुन्। उनी सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खाली खुट्टा दौडिएकी थिइन्।

बसन्ती चौधरी (१ कास्य)

नेपाल पुलिस क्लबकी उनले महिला सटपुटमा उनले कास्य जितेकी हुन्। उनले ९ मिटर ७४ सेन्टिमिटर थ्रो गरेकी थिइन्।  

रमिता थारु (१ कास्य)

मध्यपश्चिमकी उनले चार गुणा चार सय मिटरमा कास्य जितिन्।

जयरानी चौधरी (१ कास्य)

मध्यपश्चिमकी उनले चार गुणा सय मिटरमा कास्य जितिन्।  

सीमा थारु (१ कास्य)

एपीएफकी सीमाले ज्यावलिन थ्रोमा कास्य पदक जितिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.