ठूला नेता छिमेकी जिल्लाको शरणमा, त्रासमा जनप्रतिनिधि

|

अछाम : अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरीले सर्च अप्रेसन नै चलाएको छ।

प्रहरीको सर्च अपरेसन

दुर्गम क्षेत्रका जंगलहरूमा अहिले बाक्लो मात्रामा प्रहरी देखिन थालेका छन्। नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ता लुकेर बसेको हुनसक्ने आशंकामा प्रहरीले जंगलमा गस्ती खटाएको बुझिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका, रामारोशन गाउँपालिका र ढकारी गाउँपालिकाको जंगल क्षेत्रमा प्रहरीले निगारानी बढाएको हो।

स्थानीय नागरिकसँग समन्वय

गाउँगाउँमा सादा पोसाकका प्रहरी देखिन थालेका छन्। २४सै घण्टा प्रहरीले गस्ती गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार विप्लव कार्यकर्ता भएको जानकारी भएका क्षेत्रमा प्रहरीले गस्ती बढाएको छ।

विप्लव कार्यकर्ता पक्राउ गर्न प्रहरीले स्थानीय नागरिकसँग समन्वय गरिरहेको छ। डिएसपी शाहीले भने, ‘हामीले आम सर्वसाधारणदेखि समाजका प्रभुत्व व्यक्तिहरूसँग सहयोग मागिरहेका छौँ, उनीहरू कहाँ बस्छन् सूचना दिन अनुरोध गरिरहेका छौ। जिल्लामा कुनै अवाञ्छित घटना हुन नदिनका लागि पनि सबैले सहयोग गर्नुपर्ने देखिन्छ।’

वडा कार्यालय र एनसेल टावरमा आगजनी

विप्लव कार्यकर्ताले पुर्वि अछाममा गतिविधि बढाएलगत्तै प्रहरीले यस्तो अभियान चलाएको हो। साउन १५ गते जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी गरेका थिए भने केही समयपहिले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय जलाएका हुन्।

त्यसको केही दिनपछि जिल्लाका १२ वटा वडा कार्यालयमा तालासमेत लगाएका थिए। उनीहरूले माथिल्लो कर्णाली आयोजनाको अछामस्थित सम्पर्क कार्यालयमा शक्तिशाली बम विस्फोट गराएर जिम्मेवारी लिएका थिए।

जिल्लाको सदरमुकाममा रहेको मंगलसैन नगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले उक्त समूहका २ जना कार्यकर्ता पक्राउ गरेको थियो। जिल्लाको रामारोशनमा विप्लव कार्यकर्तालाई प्रहरीले घेराबन्दीमा पारेपछि दोहोरो फाइरिङ भएको थियो।

प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उक्त समूहका तत्कालीन जिल्ला ईन्चार्ज शेरबहादुर विक (दर्शन)को खुट्टा भाँचिएको थियो भने उक्त स्थानबाट ४ जना कार्यकर्ता समातिएका थिए।

सुरक्षा समितिको बैठक

गाउँगाउँमा विप्लव कार्यकर्ताले आफ्ना गतिविधि बढाएपछि जिल्लास्थित सुरक्षा समितिको बैठकसमेत बसेको छ। बैठकले सुरक्षा योजना तयार परेको जानकारी प्राप्त भएको छ। आवश्यक जनशक्ति माथिल्लो तहबाट माग गर्ने, सबै स्थानीय तहमा चौकिदार राख्न अनुरोध गर्ने लगायतका निर्णय भएका छन्।

सुरक्षा संयन्त्रले विप्लव कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउन सक्ने निष्‍कर्ष निकालेको छ। जनप्रतिनिधिलाई आफ्नो सुरक्षामा ध्यान दिन प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले आग्रह गरेका छन्। ‘जिल्लाका जनप्रतिनिधिले प्रथमिक सुरक्षाका उपाय अपनाउन अनुरोध गर्दछु’ उनले भनेका छन्।

एकजना पक्राउ

प्रहरी गस्ती टोलीले जिल्लाको तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ६ रानिबनका विप्लव कार्यकर्ता जनक न्यौपानेलाई शनिबार बिहान ५ बजे आफ्नै घरमा सुतेको अवस्थामा पक्राउ गरेको स्थानीय भरत न्यौपानेले जानकारी दिए।

पक्राउ परेका न्यौपाने विप्लव समूहका तुर्माखाँद गाउँ कमिटी ईन्चार्ज भएको डिएसपी शाहीले बताए। उनलाई तुर्माखाँदमा रहेको एनसेन टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो।

जनप्रतिनिधि त्रासमा

चन्द समूहका कार्यकर्ताले आफ्ना गतिविधि बढाएपछि जिल्लाको दुर्गम क्षेत्रका जनप्रतिनिधि त्रासमा छन्। उनीहरूले आफूलाई फोन गरेर धम्की आइरहेको बताउँदै आएका छन्। रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी तारिणीप्रसाद लम्सालसँग गाउँगाउँमा विप्लव समूहका गतिविधि बढेकाले प्रहरी पर्याप्त मात्रामा परिचालन गर्न माग गरेकी छन्।

अघिल्लो साता अछाम पुगेका डिआईजी लम्साललाई प्रयाप्त मात्रामा प्रहरी जनशक्ति थपिदिन सरोकारवालाले माग गरेका थिए। डिआईजी लम्सालले सुदूरपश्चिमका ९ वटै जिल्लामा प्रहरी जनशक्ति थप गर्ने बताए।

प्रहरी गतिविधि

प्रहरीले चन्द समूहका गतिविधि निस्तेज पार्नका लागि विभिन्न गतिविधिहरू सक्रिय पारेको छ। गाउँगाउँमा सुराकीदेखि हतियारधारी फौजसमेत खटाइएको उच्च प्रहरी स्रोतको भनाइ छ। डिएसपी शाहीका अनुसार अछाम–दैलेख, अछाम–कालिकोट, अछाम–सुर्खेत, अछाम–बाजुरा,अछाम–डोटी गरी अन्तरजिल्ला गस्ती सञ्चालन गरेको छ। ठूलो मात्रामा हतियारसहित सादा पोसाकमा जनपथ प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको छ।

पार्टी छाड्नेलाई पनि उच्च निगरानी

अछाम प्रहरीको रेकर्डअनुसार प्रतिबन्धित पार्टी परित्याग गरी १ सय १५ जनाले अन्य पार्टीमा प्रवेश गरेका छन्। प्रहरीले पार्टी परित्याग गरेकाहरूलाई उच्च निगारानीमा राखेको छ। डिएसपी शाहीले भने ‘तिनिहरू पनि भित्र भित्रै सुराकी गरीराखेका हुन सक्छन, आफ्नो सुरक्षाको लागी मात्र उनिहरू पार्टि छोडेको पनि हुनसक्छन्, उनीहरू हाम्रो निगारानीमै छन्।’ अछाममा प्रहरी गतिविधि बढेसँगै अछाममा रहेका उक्त पार्टिका ठूला नेता छिमेकी जिल्लामा गएको प्रहरीको बुझाइ छ।

यो हो विप्लव नेकपाको अछाम जिल्लाको संरचना

प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टीले अछाम जिल्लामा जिल्ला ईन्चार्ज,जिल्ला सेक्रेटरी, सचिवालय, जिल्ला कमिटी, २ वटा कमाण्ड, १० वटा एरीया कमिटी, गाउँ जनसरकार लगायतका संरचना निर्माण गरेको स्रोतले जानकारी दिएको छ। जिल्ला ईन्चार्ज (नविन), जिल्ला सेक्रेटरी (जयसिँह), जिल्ला जनसरकार प्रमुख (सौगात)लाई जिम्मेवारी दिइएको छ। स्रोतले वास्तविक नाम भने खुलाउन मानेन।

यस्तै, जिल्लाको साँफेबगर क्षेत्रलाई कमाण्ड १ भनिएको छ उक्त कमाण्डको ईन्चार्ज (लक्ष्मण) र विनायक क्षेत्रलाई कमाण्ड २ भनिएको छ उक्त कमाण्डको ईन्चार्ज (प्रकाश)लाई जिम्मेवारी दिइएको छ। कमाण्ड २ मा १देखी ५ सम्म एरिया बनाइएको छ भने कमाण्ड १ मा ५ देखि १० सम्म एरिया बनाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.