कुवामा कुकुरले पौडी खेलेको पानी खान बाध्‍य छन् जनता

|

पोखरा : गण्डकी प्रदेशसभाका सदस्य हरिशरण आचार्यले जनप्रतिनिधि सुविधाभोगी भएको बताएका छन्। उनले जनप्रतिनिधिहरू सुविधाको मोलमोलाई गरेर बसिरहेको पनि आरोप लगाए।

‘बाढी पहिरो आएर धेरै संरचनाहरू ध्वस्त पारेको छ। जनताहरू अहिले पनि कुवामा कुकुरले पौडी खेलेको पानी खाएर प्यास मेटाइरहेका छन्’, उनले भने, ‘जनताको यो गति छ। तर, हामी जनप्रतिनिधि सुविधाको मोलमोलाइ गरेर बस्ने? हामीभित्र मानवीयता हराएर दानवीयता चढ्दै गएको हो?’ सरकार जनताको समस्या र पीडाबाट बेखरबर हुँदै गएको उनको आरोप छ।

‘हाम्रो प्रदेशका मुख्यमन्त्री एककरोड ८५ लाख पर्ने गाडी चढ्नु हुन्छ’, उनले थपे, ‘कसले कस्ता गाडी चढ्ने भन्ने प्रतिस्पर्धा छ। यही देश होइन प्रधानमन्त्रीले २२ लाखको मुस्ताङ म्याक्स गाडी चढेर हिँडेको?’  उनले पहिले राजामहाराजा सान देखाउन घोडा चढ्ने र अहिले राष्ट्रपतिले भने हेलिकोप्टर चढ्ने गरेको आरोप लगाए।

‘राष्ट्रपति ज्यूको रहर नै हो भने एउटा विमान नै उहाँका लागि सबै जनताले सहयोग गरेर किनौँला’, उनले भने। गोरखाको पालुङटार नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना केन्द्र सरकार र प्रदेश सरकार दुबैको छ। अहिले त्यही पालुंटारको बजारको मध्यभाग हुँदै दोर्दी हाइड्रो पावरको प्रशारण लाइन विस्तार गर्ने विषयले स्थानीय आन्दोलित पनि बनेका छन्।

सोही विषयलाई गोरखाका सांसद प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्यले प्रदेशसभामार्फत गण्डकी सरकारको ध्यानाकर्षण गराएका छन्। त्यस्तै सोमबारकै प्रदेश सभामा प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले र आचार्यले स्मार्ट सिटी बन्ने भनिएको गोरखाको पालुङटार नगरपालिकामा हुन लागेको विद्युत विस्तारबारे सरकारको ध्यानाकर्षण गराए।

‘गोरखाको पालुङटार बजारको मुख्यभाग हुँदै हाइटेन्सन लाइन विस्तारको तयारी हुँदैछ’, सांसद प्रकाशचन्द्र दवाडीले भने, ‘तत्कालै प्रदेश सरकारले यसको नेतृत्व लिएर बजार क्षेत्रबाट विस्तार नगरी अन्य विकल्पका ठाउँबाट लाइन विस्तार गर्न निर्देशन दियोस्। पालुंटारलाई स्मार्ट सिटी बनाउने कुरा गर्दैगर्दा  अब्यवस्थित विद्युत विस्तार निम्त्याउने अप्ठ्यारोको लागि बेलैमा सचेत हुन जरुरी छ।’

त्यस्तै अर्का सांसद हरिशरण आचार्यले पालुङटार बजारलाई बीचमा चिरेर लैजान लागेको विद्युत विस्तारलाई त्यहाँबाट लैजान नहुने बताए। ‘दोर्दी आयोजनाको विद्युत विस्तार गर्दा पालुङटार बजारको बीचलाई चिरेर लैजान लागिएको छ’, उनले भने, ‘यसरी विद्युत विस्तार हुने क्षेत्रको १४ किलो मिटरको दायाँ ५० र बायाँ ५० मिटरमा कुनै पनि संरचना बनाउन पाइँदैन। पालुङटार नगरपालिकालाई स्मार्ट सिटी घोषणा गर्दैगर्दा यस्तो कामले कस्तो सिटी बन्ला? सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद दवाडी र अर्की सांसद मनकुमारी गुरुङले गोरखा दरबारको पुननिर्माण अघि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘नेपाल एकीकरणको ऐतिहासिक धरोहर गोरखा दरबार भूकम्प गएको बेलादेखि खण्डहर छ।

गोरखा दरबारको ठेक्का लिने तर, सरकारको दम्भमा अहिलेसम्म काम अगाडि नबढाउने किन भइरहेको छ?’ दवाडीले सरकारलाई प्रश्न गर्दै भने, ‘१२ किलो-बारपाक-लाप्राक सडक खण्ड पटक पटक म्याद थप गरेर ठेकेदारलाई नै किन प्रोत्साहन गरिन्छ सरकार?’

सांसद गुरुङले गोरखा दरबार पुननिर्माण नहुँदा गोरखाको ब्यापार ब्यवसायदेखि पर्यटन क्षेत्र समेत अस्तब्यस्त भएको बताइन्। बाग्लुङका सांसद चन्द्रबहादुर बुढा र पियारी थापाले बडिगाड लगायतका खोलाको बाढीले निम्त्याएको वितण्डाप्रति सरकारको ध्यानाकर्षण गराए। उनीहरूले प्रभावितहरू प्रति प्रदेश सरकार अभिभावक बन्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.