पहिलाभन्दा विकास भएको छ : मन्त्री रावल

|

कञ्चनपुर  : कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ रैकवार विचवामा दशक अघि निर्माण गरिएको सडकको अबस्था जस्तो पहिला थियो अहिले पनि उस्तै छ। खोलामा काठको बनेको पुलका फल्याक कुहिएर झर्न थालेका छन्।

तीन वर्षअघि गाउँमा विद्युतका लागि पोल तार गाडिएका छन्। विद्युत् प्रवाह गरिएको छ। बत्ती जल्छ। पंखा घुम्दैन। स्थानीय जयबहादुर विष्टले भने, ‘जनप्रतिनिधि आएपछि विकासको मूल फुट्ने परिकल्पना गरेका थियौं। विकासमा बेवास्ता गर्दा निराश भएर बस्नुपरेको छ।’

हिँडने सडकमा ग्राभेलको व्यवस्था नगरिँदा वर्षातको समयमा स्थानीय बासिन्दाले हिलोमा हिँडनुपरेको छ। बिरामी पर्दा पिँठयुमा बोकेर मूल सडकसम्म पुर्‍याउनुपर्ने अवस्था रहेको छ। भरपर्दो ट्रन्सफर्मरको व्यवस्था नहुँदा स्थानीय बासिन्दाले गर्मिका बेला पंखा चलाउन पाएका छैनन्। सिचाईका लागि विद्युतीय मोटर नचल्दा हैरानी खेप्नुपरेको छ।

अश्वासनबाहेक केही पाएका छैनौँ

'डिम लाईट मात्रै आउने भएकाले सहज रुपमा विद्युतको उपभोग गर्न पाएका छैनौं स्थानीय वीरबहादुर महराले भने, ‘विद्युत नामका लागि छ भन्ने मात्रै हो। उपयोगका लागि छैन।’ भरपर्दो ट्रान्सफर्मरको व्यवस्था र फोर फेजको लाइन विस्तार गरिए विद्युतको व्यहोर्दै आएको झन्झटबाट मुक्ति मिल्ने उनको भनाइ छ।

विद्युत, सडक र खोलामा पुल निर्माणका लागि पटकपटक वडादेखि नगरपालिका कार्यालयसम्म स्थानीय बासिन्दा पुगे पनि अश्वासनबाहेक केही काम नभएको स्थानीयको भनाइ छ।

गौडी खोलामा वर्षौं पहिले बनेको काठको पुलका फल्याक कुहिएर झर्न थालेपछि प्रतिवर्ष मानवीय क्षतिसमेत हुँदै आएको छ। पुल बाट खसेर विद्यालय जाने बालबालीकाले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन्। ‘खोलामा पक्की पुल निर्माणको माग हो त्यो पूरा हुनु पर्दछ। जनप्रतिनिधि आएपछि पनि सौतेलो व्यवहार गरिनुहुँदैन’ स्थानीय धनवीर भट्टले भने।

जंगली हात्तीको आतंक

गाउँमा आधारभूत विद्यालय भए पनि त्यस माथिको कक्षा पढनका लागि एक घण्टा हिँडेर टाढाको विद्यायमा जानुपर्ने अवस्था रहेको छ। सडकको बिग्रँदो अवस्थाका कारण बालबालिकाले निकै समस्या झेल्नुपरेको छ।

नजिकैको लालझाडी मोहना संरक्षण क्षेत्र भएर बस्ती छिर्ने जंगली हात्तीको बथानले समेत वर्षेनी यस क्षेत्रका बासिन्दाको बालीनाली खाएर र घर भत्काई क्षति पुर्‍याउँदै आएको छ। गत वर्ष मात्रै हात्तीको बथानले १५ वटा घर भत्काई क्षति पुर्‍याएको थियो स्थानीय कालु सिंह धामीले भने, ‘एक दशकदेखि हात्तीले बस्तीमा छिरेर उपद्रो मच्चाउन थाले पनि क्षतिपूर्ति पाउन सकेका छैनौं।’

बस्तीमा हात्ती छिर्ने वन क्षेत्रमा तारजालीको व्यवस्था भए सहज रुपामा बस्न पाउने थियौ उनले भने, ‘मानव र हात्ती बीचको द्धन्द कम हुन्थ्यो।’ यो क्षेत्र नगरपालिकाकै सबै  भन्दा पिछडीएको क्षेत्रका रुपमा रहेको छ।

हातमा चप्पल बोकेर हिँडयौँ : प्रदेश सांसद जोशी

 विसं २०५४ सालमा निर्माण गरिएको कृषि सडक समेत अधुरो छ। सात किलो मिटर सडकमा अझै पनि ग्राभेलको कार्य हुन सकेको छैन। सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशीसमेत यस गाउँका पूरा दिनहरु स्मरण गर्दै भन्छन्,  ‘जिल्ला विकास समितिमा सदस्या हुदा यस क्षेत्रमा पुग्दा भरपर्दो सडक नै थिएन। वर्षातका बेला हिलाम्मे सडकमा चप्पल हातमा बोकेर हिँडनुपरेको थियो। त्यसपछि कृषि सडक निर्माण गर्ने योजना ल्याएका हौं।’

अझै पनि सडकको अबस्थामा सुधार आउन नसक्नु कदापि पनि राम्रो कुरा हैन उनले भने, ‘सबै बजेट नगरपालिका र वडामै आएको छ। वडामा मार्फत समस्या राखि सडक, विद्युत र पुल निर्माणका कार्य अगाडी बढाउनुपर्छ। जनताले अब सबै आधारभूत सुविधा पाउनुपर्छ।’

विकास भएको: मन्त्री रावल

 विसं २०५६ सालमा युवा संघको संगठन विस्तारका लागि रैकवार विचवा क्षेत्रमा पुग्दा साइकल काँधमा बोकेर हिँडनुपरेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकास रावलले भने, ‘पहिलाभन्दा केही विकास त भएको छ तर जुन गतिमा हुनुपर्दथ्यो त्यो हुन सकेको रहेनछ।

स्थानीय तहको निर्वाचनपछि केही कार्य भएका छन्। अझै विकासको पहुँच नपुगेका ठाउमा जनतालाई अनुभूति हुने गरी कार्य अगाडि बढाउन जरुरी छ।’

 ‘स्थानीय तहले गर्न सक्ने कार्य स्थानीय तहले गर्नुपर्‍यो, स्थानीय तहले गर्न नसकेको कार्य प्रदेशले गर्छ र प्रदेशले गर्न नसकेको कार्य केन्द्र सरकारले गर्छ। विकास र सेवा सुविधाबाट अब कोही वञ्चित हुँदैनन्’ उनले भने। रैकवार गाउँमा दुई सय परिवारको बसोवास रहेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.