|

बाँके : बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ।  पाटेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले वनदेवीको पूजाआजा गरी बाघगणनाको शुभारम्भ गर्नुभएको हो । 

जेड एसआइ नेपालको सहयोगमा बाँके निकुञ्ज कार्यालय र बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकोे संयुक्त पहलमा क्यामेरा ट्रयापिङको माध्यमबाट बाघको गणना गरिने भएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार निकुञ्ज स्थापना कालदेखि नै बाघको निकुञ्जमा बसोबास भएकाले प्रत्येक वर्ष गणना हुँदै आएको बताए। बाघको उपयुक्त स्थलका रुपमा लिइएको  निकुञ्जमा प्रत्येक वर्ष झै यस वर्ष पनि बाघको सङ्ख्या बढ्ने  उनले विश्विवास व्यक्त गरे। 

मध्यवर्ती वन र सामुदायिक वन समेटेर १२२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी १३० वटा क्यामेरा जडान गरिएको छ । गणना गर्दा ग्रिडअनुसार बाघ हिँडने सम्भावित क्षेत्रमा क्यामेरा राखिने र प्रति ०.३ सेकेन्डमा तीन पटक फोटो खिच्ने र फोटो क्यामेरामै सुरक्षित राख्ने पछि सफ्टवयरको माध्यमबाट निकालिने जेड एसआइका प्राविधिक शैलेन्द्रराज अधिकारीले जानकारी दिए।

प्रत्येक वर्ष गरिँदै आएको गणनामा हाल बाँके राष्ट्रिय निकुञ्जमा सात वटा बाघ रहेका छन् । सन् २०१३ मा गरिएको गणनामा तीन वटा, २०१४ मा चार वटा, २०१५ मा छ वटा र २०१६ मा नौ वटा देखिएको थियो तर दुई वटा बाघ भने बर्दिया र बाँकेको उस्तै देखिएकाले सात वटालाई मान्यता दिइएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.