|

  • वेदानन्द झा

युवावस्थामा म पत्रकार थिएँ। कलकत्ताबाट प्रकाशित हुने 'विश्वबन्धु' पत्रिकामा सन् १९३८ तिरै मैले काम गर्न सुरु गरें। बनारसको 'आज' र पटनाका केही पत्रिकामा पनि मैले काम गरें। म तराईमा जन्मेको मान्छे, भौगोलिक कारणले पनि भारतका विभिन्न क्षेत्रमा सम्पर्क हुने नै भयो। मेरा एकजना फुफूका छोरा थिए, उनी भारत तिरै बस्थे। उनकै अभिभावकत्वमा मैले अध्ययन र पत्रकारिता दुवै गरें। पत्रकार भएका नाताले म सत्यको पक्षपाती थिएँ, तार्किक थिएँ र सही कुराका लागि अडान लिने गर्थेँ।

२००८ सालमा म नेपाल आउँदा राजतन्त्रप्रति मेरो त्यति आस्था थिएन तर नेपालका शाहवंशीय राजाहरुले राष्ट्रियता र राष्ट्रिय एकताका लागि गरेका कामहरुबाट म प्रभावित हुन थालें। नेपाल र नेपालीबारेमा धेरै अध्ययन गरें। त्यस बेला देशमा शिक्षित युवाहरु थोरै भएकाले तराईका केही शिक्षित युवकहरुमा मेरो पनि गन्ती हुन्थ्यो।  श्री ५ त्रिभुवनबाट मलाई २००९ सालमा सल्लाहकार सभामा मनोनीत गरिबक्सियो। त्यसको केही वर्षमै त्रिभुवनको स्वर्गारोहण भयो। त्यसैले मौसुफसँग मेरो घनिष्ठता भएन।

 २०११ साल चैतमा राजा त्रिभुवनको स्वर्गारोहण भएपछि श्री ५ महेन्द्रबाट देशको बागडोर सम्हालिबक्सियो। सबैलाई थाहा भएकै कुरा हो, श्री ५ महेन्द्र अत्यन्त राष्ट्रवादी, संवेदनशील र विवेकशील राजा होइबक्सन्थ्यो। मौसुफसँग मेरो सम्पर्क भयो। पत्रकार भएर काम गरिसकेको व्यक्ति भएकाले मेरो तार्किक स्वभाव सँग मौसुफ प्रभावित होइबक्सियो। 'तिमी जस्तो शिक्षित युवाले मलाई मदत गर्नुपर्छ' हुकुम भयो। २०१७ साल अघिसम्म म केही वर्ष तराई काङ्ग्रेससँग सम्बद्ध थिएँ। देशको परिस्थिति, जनताको अवस्था र राजाको आग्रह सबै कुरा विचार गरेर मैले २०१७ सालको शाही कदमको समर्थन गरें। त्यस बेलाका सत्तासीन नेताहरु नेपालको राष्ट्रिय हितभन्दा विदेशीको हितमा बढी केन्द्रित भएकाले राष्ट्रिय अस्तित्व बचाउन श्री ५ महेन्द्रबाट दलहरुमाथि प्रतिबन्ध लगाइबक्सेको थियो र सो कदमलाई अधिकांश नेपालीले समर्थन गरेका थिए।

 २०१७ सालपछि श्री महेन्द्रसँग मेरो सम्पर्क झन् बढ्दै गयो। देशका विभिन्न भागमा शिक्षित युवाहरुलाई श्री ५ महेन्द्रबाट विभिन्न जिम्मेवारी बक्सन थाल्यो। तराई, पहाड, हिमाल लगायत देशका विभिन्न क्षेत्रका जनतासँग राजा महेन्द्रको सम्पर्क बढ्दै गयो। नेपाली जनतामा रहेको राजसंस्थाप्रतिको अघाध आस्थाका कारण श्री ५ महेन्द्र सम्पूर्ण जनताका भरोसाका केन्द्र होइबक्सन्थ्यो। मौसुफबाट नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमान बचाउन जे- जस्ता कदमहरु चालिबक्सियो, ती सबै कदम दूरदर्शी र राष्ट्रिय हित अनुकूल छन्। शोषित- पिडीत जनतालाई उठाउनुपर्छ र देशका तमाम गरिबहरुको उद्धार हुनुपर्छ भन्ने राजा महेन्द्रको सपना थियो। भूमिसुधार, विकेन्द्रिकरण, मुलुकी ऐन लगायत राष्ट्र हितमा श्री ५ महेन्द्रबाट चालिबक्सेको प्रत्येक कदममा मौसुफको परिकल्पना झल्कन्थ्यो। राजा महेन्द्र आफ्ना ज्येष्ठ सुपुत्र  तथा राजगद्दीका उत्तराधिकारी श्री ५ वीरेन्द्रलाई आफूजस्तै सुयोग्य बनाउन चाहिबक्सन्थ्यो। एक पल्ट श्री ५ वीरेन्द्र देशका विकट पहाडी जिल्लाहरुको भ्रमणमा केही महिनाका लागि सवारी भयो। त्यसबेला मौसुफ युवराज होइबक्सन्थ्यो। नारायणहिटी राजदरबारमा एक दिन श्री ५ महेन्द्रसँग युवराजको देशदर्शन कार्यक्रमबारे छलफल भयो। मैले राजा महेन्द्रमा बिन्ती गरें, सरकार; सैनिकको पोसाक लगाएर, आफैँले भारी बोकेर भोकभोकै युवराजलाई विकट क्षेत्रमा पठाउनु अन्याय भएन र? श्री ५ महेन्द्रबाट हुकुम  भयो, 'जुन राजाले जनता र देश चिनेको छैन, आफ्नो धर्ती चिनेको छैन र देशको परिस्थिति थाहा पाएको छैन, त्यो कसरी राजा हुन्छ? योग्य राजा त्यही हुन्छ जसले जनताको अवस्था नजिकबाट नियालेको हुन्छ। योग्य राजा त्यही हुन्छ जसले देशको कुनाकुनामा पुगेर देशको वास्तविकता बुझेको हुन्छ। मैले पनि नेपालका अधिकांश जिल्लाको पैदल भ्रमण गरेको छु। म चाहन्छु नेपाललाई बुझ्न युवराज वीरेन्द्रले देशका कुनाकुनाको भ्रमण गर्नैपर्छ। त्यसैले मैले उनलाई देश बुझ्न पठाएको हुँ।'

२०२८ साल माघ १७ गते श्री ५ महेन्द्रको असामयिक स्वर्गारोहण भएपछि श्री ५ वीरेन्द्र गद्दीनसीन होइबक्सन्थो। भारतको दार्जिलिङ, बेलायतको इटन, अमेरिकाको हार्वड र जापनको टोकियो विश्वविद्‍यालयमा अध्ययन गरिबक्सेका श्री ५ वीरेन्द्र सुशिक्षित राजा होइबक्सन्थ्यो। मौसुफमा राजा महेन्द्रका गुणहरुका साथै नेपाललाई समुन्नत बनाउने पर्याप्त दृष्टिकोण थियो। आफ्नो शुभराज्यभिषेकका अवसरमा आएका  विदेशी पाहुनाहरुका सामु मौसुफबाट नेपाललाई शान्तिक्षेत्र घोषित गर्ने प्रस्ताव राखिबक्सियो। नेपाललाई विभिन्न विकास क्षेत्रमा विभाजित गरेर क्षेत्रीय विकासको अवधारणा ल्याइ बक्सियो।राष्ट्रका निम्ति इमान्दारीपूर्वक काम गर्ने पुराना र नयाँ सम्पूर्ण राजनीतिक कार्यकर्ताहरुलाई हौसला प्रदान गरिबक्सियो। बुद्धिजीवीहरुलाई प्रेरणा बक्सियो र कर्मचारीहरुबाट इमानदारीको अपेक्षा पनि गरिबक्सियो। राजा महेन्द्रका पालामा गृहमन्त्री भएर काम गरिसकेको हुनाले मैले मौसुफको विश्वास पाउनु स्वाभाविक थियो। म श्री ५ वीरेन्द्रको विश्वासपात्र भए। श्री ५ बाट मलाई राजसभा स्थायी समितिको सभापति बनाइबक्सियो। त्यहाँबाट निवृत्त  भएपछि  म भारतका लागि राजदूत भएँ। सन् १९७७ देखि ८२ सम्म  म भारतका लागि राजदूत भएर बस्दा नेपाल भारत सम्बन्धमा अनेकौँ आरोह अवरोह पनि आए। राष्ट्रिय स्वाभिमानसगँ कुनै पनि सम्झौता नगर्ने श्री ५ वीरेन्द्रको अडानका कारण नेपालले कहिले पनि विदेशीहरुसगँ झुक्नु परेन। भारतमा राजदूत भएर जाने बेलामा मलाई सोधिएको थियो- त्यस बेला मैले श्री ५ मा बिन्ती गरेको थिएँ, 'सरकार, म कुनै पदमा नरहे पनि देशको सेवा गर्न सक्छु। राजदूत भएपछि विलासी जीवन सुरु हुन्छ र मेरो बानी बिग्रन्छ।' सरकारबाट मलाई सम्झाइबक्सियो र राजदूत हुन आग्रह गरिबक्सियो। त्यस बेला मैले  ठट्टा गर्दै दरबारका सचिवहरुसँग भनेको थिएँ, 'मेरो पान सुपारी खाने बानी छ, जहाँ पान सुपारी  र जर्दा खान पाइन्छ, त्यही देशको राजदूत भएर जान्छु।'

२०२१ साल तिरको कुरा हो, काठमाडौंमा चर्चित छात्र आन्दोलन नारायण सिंह काण्ड हुँदा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए भने म गृहमन्त्री थिएँ। तत्कालीन डिआजी नारायणसिंह शाहले राष्ट्रिय नाचघरमा त्रिचन्द्र कलेजका छात्रछात्राद्वारा प्रस्तुत एउटा सांस्कृतिक कार्यक्रम भइरहेका बेला छात्रछात्रालाई अभद्र व्यवहार गरेछन्। सोही कारणले छात्र आन्दोलन सुरु भयो। दरबारमा राम्रो पहुँच भएका ती डिआइजीलाई पदबाट हटाउनुपर्छ भनेर मैले अडान लिएँ। त्यस बेला राजा महेन्द्र विदेश सवारी होइबक्सेको थियो। फिर्ती सवारी भएपछि श्री ५ महेन्द्रबाट 'त्यसलाई राजीनामा गर्न लगाउँछु' हुकुम भयो। सत्यका पक्षमा म अडिग रहने हुँदा राजाबाट मेरो भावनाको अनादर गरिबक्सेन।

मैले प्रशासन सुधार आयोगको अध्यक्ष र राजपरिवारका सदस्यहरुको उत्तरदायित्व सम्बन्धी आयोगको  अध्यक्ष भएर पनि काम गर्ने अवसर पाएँ। सत्य बोल्ने हुँदा श्री ५ वीरेन्द्र मलाई रुचाइ बक्सन्थ्यो। पञ्चायतका अन्तिम दिनहरुमा मैले श्री ५ मा बिन्ती गरेको थिएँ, 'पञ्चहरुमा नैतिकता गिर्दै गएको छ,पञ्चभेला र जुलुसमा समेत भाडाका मान्छे ल्याउने गरेका छन्। जनता र जनप्रतिनिधिबीच दूरी बढ्दै गएको छ। मलाई त पञ्चायती व्यवस्था धेरै दिन चल्छ जस्तो लाग्दैन !' सरकार त्यस बेला गम्भीर होइबक्सेको थियो। २०४६ सालपछि पनि मैले पटक पटक श्री ५ को दर्शन भेट पाएँ, त्यस बेला मौसुफ राष्ट्रिय स्वाधीनता र देशको अवस्थाबारे निकै चिन्तित होइबक्सन्थ्यो। मैले पनि आफ्नो  चिन्ता जाहेर गरेको थिएँ।

विधिको बिडम्वना २०५८ साल जेठ १९ गतेको भयानक दुर्घटनामा हामीले त्यस्ता राजालाई गुमाउनु पर्‍यो। आज सतासी वर्षको उमेरमा पनि म सम्झिरहन्छु श्री ५ वीरेन्द्रको सपना अब कसरी साकार होला?

(२०५९ साल असार ६ गते राजा वीरेन्द्रको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित 'श्री ५ वीरेन्द्र स्मृति ग्रन्थबाट साभार। ग्रन्थमा लेखकको शीर्षक 'श्री ५ वीरेन्द्रको अधुरो सपना' छ। -सम्पादक)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.