|

काठमाडौं : राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले ७५ हजार रुपैयाँ राशीको यो पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने २५ हजार रुपैयाँ राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक–इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी (अन्नपूर्ण पोस्ट–बारा) र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्तरूपमा प्रदान गरिएको छ भने उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गर्ने निर्णय भएको छ।

बैठकले उपत्यकासहित ६ क्षेत्रका २/२ जना पत्रकारलाई प्रदान गरिने १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगञ्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोष्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं) लाई प्रदान गरिएको छ।

त्यस्तै पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची), लक्ष्मण पोखरेल (दैनिकपत्र दैनिक– रुपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमाण्डर पोष्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (विन्तीपत्र साप्ताहिक–कैलाली) गरी संयुक्तरुपमा प्रदान गरिने भएको छ।

उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तर्फ पुर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्तरुपमा प्रदान गरिने भएको छ। त्यस्तै उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्तरुपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डडेलधुरा) लाई प्रदान गरिएको छ।

२० हजार रुपैयाँ राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो। यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने ४० हजार रुपैयाँ राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा) लाई प्रदान गरिएको छ।

पुरस्कारहरू पुस १९ गते महासंघ केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा वितरण गरिने महासंघका महासचिव उजिर मगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.