|

पोखरामा ज्याला मजदुरी गर्दै आएका दीपक नेपाली साथीहरुसँग भारत घुमेर फर्किए। पोखरा आएपछि नियमित काममा लागे। तर उनले बिस्तारै शिथिल भएको महसुस गर्न थाले। ज्यानमा आलस्य हुँदै गएपछि स्वास्थ्य जाँचका लागि अस्पताल गए। स्वास्थ्य परीक्षणको रिपोर्ट हात पार्दा उनले मिर्गौला गुमाएको थाहा पाए। पत्तै नपाइ पेट चिरेर आफ्नो दाहिने मिर्गौला कसले निकाल्यो त? उनी छक्क परेका छन्।  

००००००००००

छोटो समयमा झाँगिएको दोस्तीका कारण दीपक नेपालीले मिर्गौला गुमाएका हुन्। पोखरामा मजदुरी गर्दै आएका नेपालीसँग प्रकाश बस्‍नेत र भीमप्रसाद न्यौपानेको राम्रो दोस्ती थियो। उनीहरुले दीपकलाई राम्रो काम लगाइदिने भन्दै काठमाडौं बस्‍ने विकास नाम गरेका साथीलाई भेटाए।

विकाससँग छोटो समयमै दीपक नजिक भए। उनीहरु नियमितजसो सँगै बसेर मदिरा सेवन गर्थे। घनिष्टता बढेपछि एकदिन विकासले दीपकलाई भारत घुम्‍न जाने प्रस्ताव राखे।

दीपक तयार भए।भारतको गजियावादमा उनीहरुले मदिरा सेवन र मोजमस्ती गरेर एक साता बिताए। त्यसै क्रममा एकदिन दीपक बेहोस् भए। 'होशमा आउँदा अस्पतालको शैय्यामा थिएँ,' प्रहरी छानविनका क्रममा दीपकले भनेका छन्। 

अस्पतालमा होश खुलेपछि उनले विकासलाई अस्पताल ल्याउनुको कारण सोधेका थिए। 'हिजो रक्सी खाएपछि झगडा भयो तँलाई छुरा हाने अनि अस्पतालमा ल्याएको,' विकासको जवाफ थियो।

त्यसपछि घाउ सन्चो नभएसम्म दीपक भारतमै बसे। विकास र उनका अन्य साथीहरु नेपाल फर्किए। दुई महिनापछि दीपकको घाउ सन्चो भयो। उनी नेपाल फर्किए। नियमित काम गर्न थाले। तर पहिलेजस्तो जोश-जाँगरका साथ काम गर्न सकेनन्। अस्पतालमा चेकजाँचका लागि गएपछि उनले मिर्गौला गुमेको पत्तो पाए। एकैपटक छाँगाबाट खसेका दीपकले प्रहरीलाई घटनाको बेलीबिस्तार सुनाए। प्रहरीले अनुसन्धान गर्दै जाँदै विकासको गिरोहले दीपकलाई जस्तै प्रलोभनमा पारेर  अन्य ५ जनाको मिर्गौला निकालेको रहस्योद्घाटन भएको छ।

०००००००००

यस्तो छ पीडित दीपकको बयान
म पोखरामा लेवर काम गरिराखेको थिए। भाई यस्तो लेवर काम के गर्छस्, प्लाई फ्याक्ट्रीमा काम आइरहेको छ हिड् भनेर भने। मैले पनि राम्रो काम पाउँने आशमा पछि- पछि लागे। 
उनीहरुले घुमाए पछि भोक लागेको छ भने खाजा खा भनेर खाजा खुवाए। पछि सँगै बसेर रक्सी खाम् भन्यो, रक्सीमा ट्याब्लेट हालेको रहेछ। मलाई थाहा भएन। खाएको केही बेरपछि मलाई रिंगटा लाग्यो। म त सुत्छु भनेर सुत्‍न गए।
भोलीपल्ट उड्दा अस्पतालमा रहेछु। के भो भनेर सोध्दा,' गुण्डा केटाहरुले चक्कु हान्देछ। तलाई उपचारको लागि ल्याएको उपचार सकिएपछि नेपाल फर्की भनेर २८ हजार दिएका थिए।'
मलाई भारतको फरिदावादको अस्पतालमा बसेर दुई महिना उपचार गरेर नेपाल फर्किए। चितवनमा नै लेवर काम गरिरहेको थिए। बिरामी परे जँचाउन जाँदाको मिर्गौला झिकेको थाहा पाए। अनि पुलिसकोमा आए।

००००००००००

यी हुन् अभियुक्त 

दीपक नेपालीलाई भारत घुमाउन लैजाने विकासको वास्तविक नाम विनबहादुर तिमल्सिना हो। उनको घर काभ्रे महादेवस्थान हो। ४४ वर्षका तिमल्सिनाले दोलखा भिमेश्वरका ४७ वर्षीय प्रकाश बस्‍नेत र कास्की दाङसिङका ३६ वर्षीय भीमप्रसाद न्यौपानेसँग मिलेर अवैध रुपमा मिर्गौला झिक्ने काममा भारतीय गिरोहलाई सहयोग गर्दै आएका थिए। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालका अनुसार यो गिरोह दुई वर्षदेखि नेपालमा सक्रिय थियो।  काठमाडौंमा विकास तिमल्सिना र प्रकाश बस्‍नेतले मान्छे खोज्‍ने र भीमप्रसाद न्यौपानेसँग मिलेर भारत पुर्‍याई मृगौला झिक्ने गरेको पाइएको एसएसपी खनालले जानकारी दिए।'भारतीय गिरोहसँग मिलेर यो धन्दा चलाएको देखिन्छ। थप अनुसन्धान भइरहेको छ,' खनालले भने। 

त्यस गिरोहले कामको खोजीमा रहेका सोझा गाउँलेलाई प्रलोभनमा पार्दै झुक्काएर मृगौला निकालेर दुई लाख रुपैयाँमा बिक्री गर्थे। दीपक नेपालीजस्तै अरु पनि पीडित हुनसक्ने भन्दै प्रहरीले सम्पर्कमा आउन पीडितलाई आग्रह गरेको छ।

००००००००००

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.