|

डोटी : डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउपढी प्रथा अन्त्य गर्नका लागि सचेतनामूलक कार्यक्रम बनाएर कार्यान्वयनमा लागेको छ।

यसका लागि पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकामा छाउ अर्थात् महिनावारी नबार्ने महिलालाई पुरस्कार दिने पाचौँ गाउँसभाबाट निर्णय गरेको पूवीचौकी गाउँपलिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। ‘हामीले गाउँपालिकामा छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहनस्वरूप तीन हजारदेखि पाँच हजार पुरस्कार दिने नीति पारित गरेका छौँ’ उनले भने।

छाउपढी उन्मुलनका लागि गाउँपालिका तयारी गरिरहेको रहेको उपाध्यक्ष निर्मला साउँदले बताइन्। ‘हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौँ, छाउपडी नबार्ने महिलालाई पुरस्कारस्वरूप पैसा दिनेछौँ’ उनले भनिन्।

समाजमा रहेको छाउपढीसँग सम्बन्धित धार्मिक विश्वास अन्त्य गर्नका लागि महिला शसक्त हुन पर्ने साउँदको भनाइ छ। उनले भनिन् ‘मेरो घरमा आजकाल छोरीहरूले पनि छाउपढी मान्दैनन्, मलाई देउता लागेका छैनन्। झन खुसी भएर गाउँपालिकाको नेतृत्व तहमा छु।’

छाउपढी नमान्नेलाई पुरस्कार मात्र होइन मान्नेलाई गाउँपालिकाले दण्डको पनि व्यवस्था गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने, ‘महीनावारी बार्नेलाई गाउँपालिकाबाट प्रदान हुने मृत्यु दर्ता, जन्मदर्ता, सामाजिक सुरक्षाभत्ता, विवाह दर्तालगायतका सेवासुविधा पनि नदिने घोषणा गरेको छ।’ 

छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरूले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत खड्काले बताए।

रातो र हरियो झण्डा

गाउँपालिकाले छाउगोठमा बस्नेको घरमा रातो र नबस्नेको घरमा हरियो झण्डा लगाउने नीतिसमेत अघि सारेको छ। गाउँपालिकाका अध्यक्ष बोगटीले भने ‘अब हामी प्रत्येक घरमा झण्डा गाड्छौँ, जस्ले समाजिक रूपमा तिरस्कार जस्तो हुन्छ। नैतिक दबाब पर्छ भन्ने हाम्रो विश्वास छ।’

कार्यविधि तयार गरेर तरुन्तै कार्यान्वयन गर्ने तयारी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए। खड्काले भने ‘हामी गाउँपालिका छाउपढी मुक्त बनाउनका लागि लाग्छौँ।’

गाउँपालिकामा करिब ३ सय छाउगोठ

पूर्वीचौकी गाउँपालिकामा मात्र करिब ३ सय छाउगोठ रहेको पूर्वीचौकी गाउँपालिकाले जानकारी दिएको छ। ‘गाउँपालिकाका ७ वडामा ३ सयको हाराहारीमा छाउगोठ छन् भन्ने अनुमान गरेका छौँ’ गाउँपालिकाका अध्यक्ष बोगटीले भने। 

गाउँपालिकाले अब तथ्यांक संकलन गर्ने अध्यक्ष बोगटीले बताए। ‘अहिले कति गोठ प्रयोगमा छन्, के कस्तो अवस्थामा छन्, भनेर झण्डा गाड्ने बेलामा यकिन तथ्यांक संकलन गछौँ’ उनले भने।

डोटी जिल्लाको सबैभन्दा बढी छाउगोठ रहेको उक्त गाउँपालिकाले अब अभियानको रूपमा छाउपढीविरुद्ध लाग्ने संकल्प गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.