|

मुगु : देशका विभिन्न धाममध्ये छायानाथ धामको तीर्थयात्रा शुरु भएको छ। बिहीबार छायानाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा शुरु भएको हो। 

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायानाथ मन्दिरमा रहेको छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ। बिहिबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, डोटीलगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा आउने गर्दछन्।

जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायानाथ मन्दिरका पूजारी भीमप्रसाद चौलागाईंले बताए।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ। छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्।

बिहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछ। यसैबीच, शुक्रबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनि छायानाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालु जाने भएका छन्। त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी  आउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.