सल्लाघारी, बालकुमारी र धोबीघाटमा प्रशोधन केन्द्र

|

काठमाडौः उपत्यकाबासीको घरबाट निस्कने फोहर सीधै यहाँका खोलामा मिसाइन्छ। सबैभन्दा चेतनशील प्राणी मानिसले मिसाएको फोहोर र ढलले यहाँका खोला कुरुप र डुङडुङ गन्हाउने भएका छन्। 

त्यहीकारण बागमतीको नामै ढलमती भएको छ। कयौँ वर्षदेखि फोहोरको थुप्रोमा परिणत बागमतीलाई संग्लो बनाउन सफाइ अभियान चलिरहेका बेला शुद्बीकरण अभियान चलिरहेको छ। अब बागमतीमा आउने दर्शनार्थीलाई नुहाउन मिल्ने गरी ढलको पानी प्रशोधनको काम हुने भएको छ।

बागमतीसहितका उपत्यकाका खोलामा हालिने ढललाई शुद्ध बनाउन प्रशोधन केन्द्र निर्माण भइरहेका छन्। घरबाट निस्कने फोहरले बागमती, धोबीखोला, नख्खु , बल्खु , हनुमन्ते, विष्णुमती र मनोहरा खोला कुरुप भएका बेला सरकारले शुद्धीकरण अभियान चलाएको हो।

खोला पानीलाई नुहाउन र वृक्षरोपणमा प्रयोग गर्न  ढल प्रशोधन केन्द्र निर्माण गर्न लागिएको अधिकारसम्पन्‍न बागमती सभ्यता एकीकृत विकास समिति आयोजना अन्तर्गतका आयोजन प्रमुख योगेन्द्र चित्रकारले बताए। उनका अनुसार बागतीमा अब सीधै ढल मिसिन छोडेको छ। विगतको  तुलनामा ढल मिसाउने काममा शतप्रतिशत कमी आएको छ। उपत्यकाका सहायक खोलाबाट बागतीमा बढी ढल मिसिएका छन्।

बागमती काठमाडौं उपत्यकाको सभ्यता हो। यसमा सफा पानी बगाउनुपर्ने एकीकृत विकासको दायित्व रहेको उनले बताए। उपत्यकाका सबै खोला-नदीमा ढल प्रशोधन केन्द्रले नुहाउन योग्य बनाउने उनको भनाइ छ ।

गुह्येश्वरीमा एक ढल प्रशोधन केन्द्र सञ्चालनमा छ। त्यो प्रशोधन केन्द्र १५ वर्ष अगाडि निर्माण भएको हो। त्यसले प्रतिसेकेण्ड १९० लिटर ढल प्रशोधन गरिरहेको छ। हाल प्रशोधन केन्द्रमा प्रतिसेकेण्ड ४ सय देखि ५ सय लिटर आउने चित्रकारले बताए। प्रयोगशालाको क्षमता कम भएकाले हाल प्रशोधनको काम प्रभावकारी नभएको उनको भनाइ छ।

प्रशोधन केन्द्रको क्षमता बढाउने तयारी भइरहेको उनले जानकारी दिए। प्रतिसेकेण्ड ३८० लिटर प्रशोधन क्षमता बढाउने गरी प्रयोगशालाको निर्माण गरिरहेको उनले प्रष्ट पारे ।

उपत्यकामा अन्य तीन ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ। भक्तपुरको सल्लाघारी, पाटनको बालकुमारी, धोबीघाट र गुहेश्वरीमा प्रशोधन केन्द्र पहिले निर्माण भइसकेको उनले जानकारी दिए। बालकुमारीको प्रशोधन केन्द्र भदौ महिनासम्म चालु हुन सक्ने उनले प्रतिक्रिया दिए ।

काठमाडौं उपत्यकाको प्रमुख नदी बागतीमा पानी स्वच्छ राख्‍न ढल मिसिनबाट बचाउनु पर्छ। अधिकारसम्पन्‍न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती, धोवीखोला र विष्णुमती नदी किनारमा ढल बगाउन छुट्टै पाइपलाइन विस्तार गरेको चित्रकारले बताए। यस्तै मेलम्चीले मनोहरा र हुमन्ते खोलामा पाइपलाइन विछ्याउने काम गरिरहेको उनले जानकारी दिए ।

विकास समितिले बनाएको छुट्टै पाइपलानबाट ढल ल्याएर प्रशोधन केन्द्रमा जम्मा गरिने उनले प्रष्ट पारे। केन्द्रले ढल प्रशोधन गरी बागमतीमा पानी मिसाउने योजना अनुसार काम भइरहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.