२० लाख पर्यटक भित्र्याउने यस्तो छ योजना

|

 बुटवलः विहीबार रुपन्देहीमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण र बौद्धकालीन सम्पदा घुमेर बिताएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई साँझ परेपछि प्रदेश ५ को राजधानी बुटवल नगरीमा झुल्किए। 

बुटवलमा नेपाल प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटका लागि आएका नेकपा स्थायी कमिटिका सदस्यसमेत रहेका भट्टराई समाचार उत्पादन गरिदिने ‘मुड’मा थिएनन्। सुरु मै भनिहाले,‘अर्को दुई महिनापछि बुटवल आएँ भने तपाईंहरुले धेरै राम्रो समाचार पाउनुहुने छ। आज दिनुपर्ने ठूलो समाचार केही छैन।’ 

त्यसपछि मन्त्री भएर ८-१० दिन बधाई ‘खान’मै व्यस्त भएको भन्दै गुनासो पोखे। ‘पहिले नै मन्त्री हुने अपेक्षा भएकाले होला यत्रो दिन भइसक्दा पनि बधाईहरु आइरहेका छन्। तर, अब बधाईको समय छैन। काम गर्ने बेला हो,’ उनले भने। 

मन्त्री भट्टराईले आफू नेपाल कम्युनिष्ट पार्टीमा स्थायी कमिटिको सदस्य रहेको कुरा नबिर्सन भन्दै आयोजकलाई कटाक्षसमेत गरे। कार्यक्रम सञ्चालकले मन्त्री मात्रै भनेर सम्बोधन गरेकोप्रति उनले रमाइलो शैलीमा कटाक्ष गरेका हुन्। 

सुनाए सरकारका काम

माइक समातेर बोल्न थालेपछि भने मन्त्रीले केपी ओली नेतृत्वको सरकारले हालसम्म गरेका प्रगतिको संक्षिप्त फेहरिस्त सुनाए। 

चुनावी घोषणापत्रका योजना पुरा गर्नेदेखि आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेसम्मका कुरा सुनाए। ‘अघिल्लो वर्ष बलियो आधार तय भएको छ। अब अर्थतन्त्र र पूर्वाधारमा सरकारको ध्यान छ,’ उनले भने। 

त्यसपछि मन्त्रीले लामो समय भर्खरै निरीक्षण गरेर आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारेमा बोले। उनले आगामी डिसेम्बर ३० भित्रै जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्ने दाबी गरे। भट्टराईले पोखरा र निजगढ विमानस्थलबारे पनि चर्चा गर्न भ्याए। 

निजगढमा १० लाख उतार्ने

निजगढ विमानस्थलको निर्माणकार्य २०१९ को अन्तिममा आफैंले १० लाख उपस्थितिकाबीच शिलान्यास गर्ने बताए। ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन म गर्छु। बुटवलका साथीहरुलाई पनि म आमन्त्रण गर्छु। बसका बस ल्याएर त्यहाँ आउनुस्’, ठट्यौली पारामा उनले भने, ‘त्यहाँ १०/२० हजार मान्छे उपस्थित भएर शिलान्यास गर्ने होइन। कम्तीमा १० लाख मान्छेको उपस्थितिमा शिलान्यास गर्ने हो।’ 

तर, पछि शान्त मुद्रामा उनले फेरि भने,‘विकास भनेको उत्सव हो। यो न तपाईंको ठेक्का हो, न मेरो।’  

रमाइलो मुद्रामा रहेका मन्त्रीले पत्रकारले गरेका केही प्रश्नको रमाइलो शैलीमै उत्तर दिए। एकजना पत्रकारले सोधे,‘तपाईं त गुट फेरेर मन्त्री बन्नुभएको भन्ने कुरा छ नि?’ भनेर सोधे। मन्त्री भट्टराईले उत्तर दिए,‘मैले गुट फेर्दा तपाईंलाई केही नोक्सानी त भएको छैन नि?’ कार्यक्रमस्थलमा हाँसोको फोहोरा छुट्यो। 

पर्यटक भित्र्याउने योजना 

बुटवलमा पत्रकारहरुसँग बोल्दै पर्यटन मन्त्रीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनु सबैको दायित्व भएको बताए। उनले पूर्वाधार निर्माण र प्रचारप्रसारको काम समानान्तर लैजाने बताए। 

नकारात्मक कुरा नगर्नू

पर्यटक भित्र्याउने योजना सुनाउँदै उनले भने,‘५० लाख नेपाली देश बाहिर छन्। उनीहरु सबैलाई एकजना पर्यटक भित्र्याउने जिम्मा दियौं भने ५० लाख पर्यटक त आइहाल्छन्।’ 

नेपालमा पर्यटक भित्र्याउने जिम्वेवारी सबैको भएको भन्दै उनले देशबाहिरका नेपालीलाई सामाजिक सञ्जालमा देशको नकारात्मक कुरा गर्नुभन्दा भ्रमण वर्षको प्रचार प्रसार गर्न आग्रह गरे। ‘अब विदेशमा बसेर नेपालका नेता खत्तम भए, भ्रष्ट भए, यता खाल्डो धेरै भयो, उता धुँवा छ भनेर फेसबुकमा लेखेर मात्रै हुँदैन,’ उनले थपे, ‘यदि नेपालको माया लाग्छ भने सबै यो कार्यक्रममा सहभागी हुनुहोस्।’ 

उनले त्यसरी पर्यटक ल्याउने ट्राभल एजेन्सी वा व्यक्तिहरुलाई पनि ‘इन्सेन्टिभ’ दिने हिसाबले योजना बनाउन लागिएको बताए। उनले भ्रमण वर्षको सातै प्रदेश र विदेशस्थित नेपालका नियोगहरुबाट एकसाथ सुरु गरिने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.