|

अछाम : साँफेबगर नगरपालिका २ जाल्पादेबीका ४० वर्षीया दुर्गा बुढाका ५ छोराछोरी छन्। उनको श्रीमान् नरबहादुर बितेको ७ वर्ष भयो। श्रीमानको मत्युपश्चात् उनलाई छोराछोरीलाई पढाउन निकै मुस्किल परेको छ।

उनका जेठा र माइलो छोरा कमाउन भारत गएका छन्। कान्छो छोरो कक्षा ४ र कान्छी छोरी कक्षा ३ मा पढ्छन्। उनका श्रीमानको एचआइभी संक्रमणका कारण ज्यान गयो। उनलाई पनि एचआइभी संक्रमण भएको छ।

ज्याला मजदुरी गरेर छाक टार्ने गरेको बताउने उनले आफूहरू भाडाको झुप्रोमा बस्दै आएको बताइन्।

‘जसो तसो ज्याला मजदुरी गरेर छाक टारेकै छौ' उनले भनिन्, 'आफ्नो घर छैन, भाडामा एउटा झुप्रोमा बस्छु। घरमालिकले निस्के भनेको दिन कता जाने हो पत्तो छैन। खाने र बस्ने ठेगान छैन, छोराछोरीलाई कसरी पढाउनु? आम्दानी हुने कुनै बाटो छैन। कापी कलम किन्न सक्ने अवस्था छैन। कहिले काहीँ कसैको घरमा काम गर्न गएपछि त्यहिबाट कापी कलम मागेर ल्याउने गरेकी छु।’

त्यस्तै, भागेश्वरकी कोकिला विष्टका ३ छोरा छन्। उनको कान्छो छोरा ९ महिनाको हुदा उनका श्रीमान् प्रेमको एचआइभीको कारण ज्यान गयो। आफू पनि संक्रमित भएकाले उनले निकै अपहेलित जीवन बिताउन पर्‍यो। खान त जेनतेन भइहाल्छ। पढाइ खर्च जुटाउन नसकेकाले कोकिलाका जेठो र माइला छोराले बीचमै पढाइ छोडे। बिहे गरेर उनीहरू कमाउन भारत गएका छन्। श्रीमान् बितिसकेपछि छोराहरूको पढ्ने रहर हुँदाहुँदै पनि पढाउन् नसकेको उनले बताइन्।

‘कान्छो छोरालाई दुःख गरेर १० कक्षासम पढाएँ, त्यसपछि पढाउन सकिनँ', उनले भनिन् 'छोराको पढ्ने इच्छा थियो। आफ्नो स्थितिले नभ्याउने भएपछि कान्छो छोरा पनि बम्बै गयो।’

सिद्धेश्वरकी एचआइभी संक्रमित झुप्री कोलीका ५ सन्तान छन्। त्यस मध्ये २ छोरीले बिहे गरेर गइसकेकी छन्। १ छोरा र २ छोरीको पालनपोषण र पढाइको जिम्मा झुप्रीको काधमा छ। आयस्रोतका नाममा केही पनी छैन। उनलाई छोराछोरी पढाउन निकै सकस हुने गरेको छ।

एचआइभीका कारण श्रीमानको मृत्यु भएपछि उनको परिवारको बिचल्ली अवस्थामा छ। एकल दलित त्यसमाथि पनि एचआइभी संक्रमित झुप्रीलाई समाजमा बाँच्नै गाह्रो त्यसमाथि छोराछोरीलाई पढाउने पिरलो थपिएको छ।

'छोराछोरीलाई पढाउन गाह्रो छ, सरकारी स्कुलमा विभिन्न बाहनामा पैसा लग्छन्, दश कक्षा पढ्दै गरेको १६ वर्षको छोराले बीचमै पढाइ छोडेर कमाउन भारतको पुना गएको छ' उनले भनिन्, 'दुई छोरी अहिले सरकारी स्कुलमा पढ्छन्। अब पढाउन सक्ने अवस्था अब छैन।' 

यता साँफेबगर नगरपालिकाले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममै एचआइभी संक्रमित एकल महिला र पुरुषहरूका लागि जीविकोपार्जन कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गरेको बताएको छ।

नगरपालिकाकी उपप्रमुख विमला बुडथापाले नाजुक अवस्थामा रहेका एचआइभी संक्रमित एकल महिला तथा पुरुषका लागि नीति तथा कार्यक्रमै समेटर बजेट विनियोजन गरिएको बताइन्। उनले उनीहरूलाई आत्म निर्भर बन्ने कार्यक्रम सञ्चान गर्नुका साथै उनीहरूका छोराछोरीहरूलाई विद्यालयको पहुँचसम्म पुर्‍याउने योजना रहेको सुनाइन्।

'एकल महिलाहरू त्यसमाथि पनि एचआइभी संक्रमितको अवस्था निकै दयनीय छ, यस पटक यो विषय विषेश जोड दिएका छौँ, उनले भनिन् 'आयआर्जनका लागि उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.