|

कञ्चनपुर : एसिया कै ठूलो मानिने कञ्चनपुरको महाकाली नदी माथिको ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगे पुल पर्यटकको रोजाईमा पर्ने गरेको छ। 

आन्तरिक र बाह्य पर्यटक पुल नियाल्नका लागि यहाँसम्म आइपुग्ने गरेका छन। सूर्यास्त र सूर्योदयको समयको मनोरम दृश्य हेर्नका लागि पर्यटक पुल क्षेत्रमा पुग्ने गर्दछन। पुलसँग महाकाली नदीमा सेल्फी लिने र सामुहिक तस्वीर लिनेको भीड नै लागेको हुन्छ।

दैनिक पुल हेर्नकै लागि झण्डै दुई सयदेखि चार सयको संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेको स्थानीय शिवचरण रानाले बताए। कञ्चनपुरका पर्यटकीय क्षेत्र हेर्नका लागि पुग्ने पर्यटकले आकर्षक ढंगले महाकाली नदीमाथि बनाइएको झोलुंगे पुल हेर्न भने छुटाउँदैनन्। 

विसं २०६१ सालमा पुल निर्माणको कार्य गरिएको थियो। पुल ९ करोड ४२ लाख ४१ हजार ९५६ को लागतमा बनेको हो।

पुलको लम्बाई एक हजार ४४२.९६ मिटर रहेको छ। पुलको चौडाई १.६ मिटर रहेको छ। पुल ३२.७ मिटर उचाइका सात वटा अग्ला टावरमा ठड्याइएको छ। 

पुलको सौन्दर्य बढाउन सौर्यबत्ती जडान 

महाकाली नदीमाथि बनाइएको ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगेमा पर्यटक आकर्षण बढाउनका लागि सौर्य बत्ती जडान गरिएको छ। नेपाल पर्यटन बोर्ड र नगरपालिकाको साझेदारीमा झोलुंगे पुल सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गरिएको हो। पर्यटन बोर्ड र नगरपालिकाको गरी ११ लाखको लागतमा सौर्य बत्ती जडान गरिएको नगर प्रमुखसुरेन्द्र बिष्टले बताए।

पुलमा नौ वटा सौर्यपाता जडान गरिएका छन। ‘पुलमा साँझ र रातिका बेला स्थानीय बासिन्दालाई हिडडुल गर्न सहजता प्रदान गर्न र पुलको साँझ पख्को दृश्य नियाल्न आउने पर्यटकलाई आकर्षित गर्न सौर्य बत्तीले मद्दत पुरयाउने छ’ उनले भने।

सौचालय, पिकनिक स्पट र उद्यान निर्माण गरिँदै 

आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा रहेको झोलुंगे पुलनजिकै पर्यटकलाई लक्षित गरी नगरपालिकाले सुविधा सम्पन्न सौचालय निर्माणको कार्य समेत शुरु गरेको छ। स्थानीय पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाखको लागतमा सौचालय निर्माण हुन लागेको हो।  पर्यटक बढाउनका लागिझोलुंगे पुल नजिक नदी किनारमा रु ५० लाखको लागतमा पिकनिक स्पट र उद्यान बनाउन थालिएको छ।

नगरपालिकाले पिकनिक स्पट र उद्यान निर्माणका लागि  गुरुयोजना बनाई कार्य अगाडि बढाएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रझोलुंगे पुल आउने पर्यटकलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको छ। चार बिगाहा भन्दा बढी जमिनमा पिकनिक स्पट र उद्यानका लागि तारबार गरि भौतिक संरचना निर्माणको कार्य अगाडि बढाइएको छ।

झोलुङ्गे पुल आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पुगाएर हात्ती र नजिकको जमुनाभाडी पुगाएर चित्तल देखाउने तथा त्यसपछि राना थारु होमस्टेमा पुगाएर आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्यसहित पिकनिक स्पट र उद्यान निर्माणको योजना अघि सारिएको छ।

जीर्ण बन्दैझोलुंगे पुल 

झोलुङ्गे पुल मर्मतको कार्य बर्षेनी हुदै आए पनि प्रभाकारी बन्न सकेको छैन। क्षमता भन्दा बढी भारका मोटरसाइकलमा भारी बोक्दा पुलका विभिन्न स्थानमा फलामका एङ्गल्स बांगिएका र टुटेका छन। पुलमा लगाईएका नट, बोल्ट झर्ने, खुकुलो हुने र चोरी हुने क्रम बढ्न थालेपछि पुल कमजोर बन्दै जान थालेको छ।

आन्तरिक र वाह्य पर्यटकको आर्कषक गन्तव्यका रुपमा रहेकोझोलुंगे पुल हेर्न आउने पर्यटकलाई समेत पुल भएर हिड्न सास्ती खेप्नु पर्ने भएको छ। पुल मर्मतको कार्य सन्तोषजनक नहुने हो भने पुलमा कुनै दिन दुर्घटना निम्तीन सक्ने स्थानीय बासिन्दा बताउछन। 

पुल हेर्नका लागि कसरी पुग्ने 

महेन्द्रनगर बजार क्षेत्रबाट झण्डै १० किलोमिटरको दुरीमा रहेको महाकाली नदी माथिकोझोलुंगे पुलसम्म पुग्नका लागि महेन्द्रनगर बस पार्कबाट सोझै अटो वा म्याजिक भ्यान चढेर पुग्न सकिन्छ। बजार क्षेत्र बाट सवारी साधान चढने हो भने मदन चोकनजिकै स्याण्डवाई रहेका अटोलाई  ५० भाडा तिरेर २० मिनेटमै पुल क्षेत्रमा पुग्न सकिन्छ।

पुल छेउ रहेका निजी होटेलमा नास्ता, खाना र पेय पदार्थ सहजै पाइने भएकाले पर्यटकले खानकै लागि भने चिन्ता लिनु पर्दैन। पुलले महाकाली नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रलाई जोडेको छ। दुवै क्षेत्रका बासिन्दाका लागि नदी वारपार गर्ने मार्गका रुपमा एक मात्रै योझोलुंगे पुल मात्रै रहेको छ। पुल निर्माण नहुँदा महाकाली नगरपालिकाका बासिन्दाले भारतीय क्षेत्र भएर जानु पर्दा निकै सास्ती खेप्नु पर्दथ्यो।

हाल पुल निर्माण सँगै स्थानीय बासिन्दा सहज रुपमा जिल्ला सदरमुकाम महेन्द्रनगर सम्म पुग्न सक्ने भएका छन। पैदल, साईकल र मोटरसाइकल चढेर स्थानीय बासिन्दाले पुल भएर गन्तव्यमा जाने गरेका छन। यो पुल पर्यटकीय दृष्टीकोणले महत्वपूर्ण भए पनि स्थानीय बासिन्दाको ओहोरदोहर गर्ने मार्गका रुपमा समेत रहेको छ। गत वर्षदेखि महाकाली नदीमा पक्की पुल निर्माणको कार्य समेत प्रारम्भ भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.