|
फाइल फोटो

पाँचथर : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको चन्दा संकलनले जिल्लाका ठेकेदारदेखि जनप्रतिनिधिसम्म त्रासदीमा छन्।

चन्दा मागेको भन्‍न चाँही चाहने तर असुरक्षित हुन सक्ने भन्दै नाम र ठेगाना खुलाउन नचाहने एकजना ठेकेदार भन्छन् ‘पहिले जनयुद्ध लडेको माओवादीलाई पनि चन्दा दिएकै हो। त्रासका बीच अहिले पनि दिने नै सोच बनाएको छु।’

जिल्लामा उक्त पार्टीले चन्दा संकलनलाई अभियान नै बनाएको देखिन्छ। भिन्‍नभिन्‍न मोबाइल नम्बरको प्रयोग गरेर ज्यान असुरक्षित हुने धम्की पनि दिँदै चन्दा असुल्ने रणनीति अख्तियार गरेको पाइएको छ। एकीकृत जनक्रान्तिको लागि लड्न चन्दा आवश्यक रहेको बताउने गरेको कतिपय पीडितहरू बताउँछन्। थाहाखबर सम्वाददातासँग सम्पर्कमा आएका जिल्लाकै एक जना शिक्षक पनि चन्दा दिने मनस्थितिमा पुगेका छन्।

तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्ध गर्दा ‘कि जन कि धन’ को विकल्पसहित सहयोग गर्न भनिएकोमा अहिले विप्लव नेतृत्वको पार्टीले ‘धन’ लाई प्राथमिकता दिएको प्रष्टै खुट्याउन सकिन्छ। एकजना जिल्लास्थित सुरक्षा अधिकारी भन्छन् ‘थाहा पाएअनुसार फिदिम नगरपालिकाको प्रमुख र तुम्बेवा गाउँपालिका अध्यक्षसँग चन्दा पटकपटक मागेको देखिन्छ। अरूसँग पनि त्यस्तै अवस्था छ।’

जिल्लाको उत्तरपूर्वी क्षेत्र र दक्षिण पश्चिम क्षेत्रका केही स्थानीय तहमा चन्दा संकलनको गतिविधि बढिरहेको बताइन्छ। सरकारले आतंककारी समूह भन्दै प्रतिबन्द लगाएपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू भूमिगत अवस्थामा छन्। पूर्ण रूपमा उसका गतिविधि नियन्त्रण गर्ने सरकारको लक्ष्य छ। तर सरकारले वार्ताका लागि ढोका पनि खुला गर्दै आएको भनिए पनि विप्लव नेतृत्वको नेकपा विश्वस्त हुन सकेको देखिन्‍न। यसले गर्दा उक्त पार्टीले मुलुकको पूर्वी क्षेत्रको एउटा जिल्ला पाँचथरमा पनि प्रभाव बिस्तार गरेको सुरक्षा निकायको विश्लेषण छ।

जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती जिल्लामा विप्लवको गतिविधि चन्दा संकलन गर्ने कार्य र बीचबीचमा नेतृत्व हेरफेर गर्ने र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष र शिक्षकलाई लक्षित गरेर चन्दा माग्ने गरेको पाइएको बताउँछन्। सुरक्षा निकायले उसका गतिविधिमाथि पनि निगरानी बढाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.