|

सर्लाही : सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवन नगरकी ४३ वर्षीया उषा देवी शुक्रबार बिहानदेखि बेहोस छिन्। होस खुल्दा उनी छोरा, छोरी, जेठानी र जेठाजुको नाम लिएर बर्बराउँछिन्।

आफन्त र छरछिमेकका महिला उनलाई सम्हाल्न खोजे पनि उनी परिवारका व्यक्तिहरू कहिले फर्केर आउने भन्दै फेरि बेहोस हुन्छिन्। बेहोसी अवस्थामा पनि उनको आँखाबाट आँशु थाम्मिन सकेको छैन। उनका पती चन्देश्वरप्रसाद रौनियारको अवस्था पनि उस्तै छ। आफूलाई केही सम्हालिएको जस्तो देखाए पनि एकै छिनमा उनको आँखाबाट आँशु झरिरहेको छ।

गाडी दुर्घटनामा परेसँगै रौनियार परिवार शोकमा विक्षिप्त बनेको छ। सदरमुकाम मलंगवाबाट काठमाडौंको लागि छुटेको ना६ख ७४६९ नम्बरको सृष्टि डिलक्स बस शुक्रबार बिहान त्रिशूलीमा खसेपछि चन्देश्वरका दाई राजनारायण, भाउजू शोभा, छोरा शौरभ बेपत्ता छन्। छोरी श्वेताको भने काठमाडौंमा उपचार भइरहेको छ। गाडी दुर्घटनाको खबर सुनेपछि रौनियार परिवारमा भुइचालो गएको छ। परिवारको अन्य सदस्य विछिप्त छन्। उनीहरूले दुर्घटनामा बेपत्ता परिवारको आस गुमाइसकेका छन्। तर, मनले मानेको छैन। 

४० वर्षदेखि राजनारायण काठमाडौंमा व्यापार गरेर बस्दै आएका थिए। उनले भतिज शौरभ र भतिजी श्वेतालाई सँगै बसाएर पढाइरहेका थिए। शौरभ काकाको घरमा बसेर मेडिकलको तयारी गरिरहेका थिए भने श्वेता भर्खरै कक्षा १२ पास गरेकी थिइन्। उनीहरू मंगलबार मात्र काठमाडौंबाट साउनी घडी पर्व मान्न घर आएका थिए। बुधबारको पर्व सकाएर उनीहरू बिहीबार रात्रि बस चढेका थिए ।

शौरभ र स्वेता एक दुई दिन घरमा बस्ने मनस्थितिमा थिए। तर काका र काकी काठमाडौं फर्किन थालेपछि उनीहरू पनि सँगै फर्केका थिए। बाल्यकालदेखि नै काठमाडौंमा पढेका शौरभ जेहेन्दार विद्यार्थी थिए। उनले मेडिकल पढेर समाजलाई सेवा गर्ने सोच बनाएका थिए। तर, उनको त्यो सपना पूरा हुन नसकेको बुवा चन्देश्वरले बताए।

‘मेरो बच्चाहरू सुरुदेखि नै जेहेन्दार थिए, छोराले त मेडिकल पढेर समाज सेवा गर्छु भनेको थियो,’ गहभरी आँसु झार्दै उनले भने, ‘छोराको सपना पूरा हुन सकेन, छोराछोरीलाई पढाउने दाइ-भाउजू पनि बेपत्तै छन्।’ घटनापछि उनको घरमा अहिले आफन्त र गाउँलेको भीड छ। शुक्रबार बिहान गाडी दुर्घटनामा परेको खबर आएपछि उनको परिवारसहित गाउँ नै शोकमा डुबेको छ।

उनी मात्र हैन बसमा सवार ४२ यात्रुसहित ३ बसका कर्मचारी समेतको घर परिवारमा रुवावासी नै चलेको छ। बसमा सवार यात्रु जिल्लाका विभिन्न ठाउँका रहेका छन्। दुर्घटनाको खबर सुनेलगत्तै बसमा गएका यात्रुका आफन्तको सदरमुकाम मलंगवामा रहेको बस काउण्टरमा दिनभरी नै भीड लागेको थियो। दुर्घटनामा ५ को मृत्यु भएकोमा अजय दास र विजय कुर्मीको सनाखत भए पनि ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते १६ जना र बेपत्ता २४ परिवारसँग सम्पर्कको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.