भक्तपुर : अरनिको राजमार्गको कौशलटारदेखि बालकोट सिरूटार सडक किनारमा वृक्षारोपण सुरू गरिएको छ। कार्यक्रम प्रारम्भ गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मानिस र प्रकृतिको सन्तुलन विकास र वातावरणको सन्तुलनले सुन्दरता मात्र होइन स्वस्थ्य सुखी र समृद्धि पनि दिने बताए।
सांसद महेश बस्नेतले यो कार्यक्रमबाट सडक ढलजस्ता प्रारम्भिक मागबाट समाज टोल एक तहमाथि उठेको प्रमाणित भएको उल्लेख गर्दै हनुमन्ते सफाइ, कोरिडर र पार्क निर्माणका काम तदारुकता साथ भइरहेको जानकारी दिए।
प्रदेशसभा सांसद शशीजंग थापाले निजी तथा सामुदायिक पहलमा यो क्षेत्रलाई नमुनाका रूपमा विकास गर्ने अवधारणा अनुरूप योजना र कामहरू अगाडि बढाउने दृढता व्यक्त गरे। सूर्य विनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले नगरपालिकाभित्र गरिने यस्ता काममा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
सूर्य विनायक–२ का वडाध्यक्ष कमलनाथ आचार्यले यस अभियानमा वडाको सक्रिय सहभागिता रहने बताए। यो कार्यक्रमअन्तर्गत कौशलटारदेखि बिरूवासम्म करिब छ किलोमिटर सडकको दुवैतर्फ चरणवद्ध रूपले वृक्षारोपण गर्ने बताइएको छ। विरुवा खरिद एवं संरक्षणका लागि स्थानीय व्यक्ति र संस्थाबाट करिब नौ लाख रूपैयाँ उठिसकेको छ। रोपिएका बिरूवाको संरक्षण भने जसको घरपसल अगाडि पर्छ उसले नै गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।